पर्सा वीरगंज, १ माघ — आज माघे सङ्क्रान्ति देशभर श्रद्धा र उल्लासका साथ मनाइँदैछ। नेपाली समाजको सांस्कृतिक विविधताअनुसार यस पर्वलाई कतै माघी, कतै मकर सङ्क्रान्ति र कतै माघ्या पर्वका रूपमा मनाउने गरिन्छ। नाम फरक भए पनि यसको मर्म धर्म, प्रकृति र संस्कृतिसँग जोडिएको छ।
माघ महिनाको पहिलो दिन सूर्य मकर राशिमा प्रवेश गर्ने भएकाले यस दिनलाई हिन्दू धर्ममा विशेष पुण्यदायी मानिन्छ। सूर्य उत्तरायण लागेसँगै दिन लामो हुँदै जाने विश्वास छ। यस अवसरमा नदी तथा तीर्थस्थलमा स्नान, पूजा र दान गर्ने परम्परा रहँदै आएको छ।
थारू समुदायले माघीलाई नयाँ वर्षका रूपमा मनाउँछन् भने नेवार समुदायमा माघ्या पर्वका रूपमा विशेष परिकार बनाएर परिवारसँग मनाइन्छ। पहाडी तथा मधेसी समुदायमा मकर सङ्क्रान्तिका रूपमा धार्मिक कर्मलाई प्राथमिकता दिइन्छ।
पर्वमा तिल, चाकु, घ्यू, तरुल लगायतका परम्परागत तथा पोषणयुक्त खानेकुरा खाने चलन छ। माघे सङ्क्रान्तिले पारिवारिक एकता, सामाजिक सद्भाव र सांस्कृतिक पहिचानलाई बलियो बनाउँदै विविधतामा एकताको सन्देश प्रवाह गर्दै आएको छ।