जनकपुरधाम, ५ बैशाख — गृहमन्त्री सुधन गुरुङले सीमापार तस्करी नियन्त्रण तथा भन्सार प्रणाली सुधारका विषयमा मधेश र लुम्बिनी प्रदेशका सांसदहरूसँग विस्तृत छलफल गरेका छन्।
आयोजित छलफल कार्यक्रममा गृहमन्त्री गुरुङले सीमा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने र भन्सार प्रणालीमा सुधार ल्याउने उपायहरूबारे जनप्रतिनिधिहरूबाट सुझाव संकलन गरेका हुन्। छलफलमा सहभागी सांसदहरूले विद्यमान भन्सार प्रणालीमा सुधारको आवश्यकता औंल्याउँदै भन्सार दर पुनरावलोकन गर्नुपर्ने, सीमामा निगरानी तथा अनुगमन संयन्त्रलाई सुदृढ बनाउनुपर्ने धारणा राखेका थिए।
सांसदहरूले कृषि सामग्री र मलखादको भन्सार प्रक्रिया सहज बनाउनुपर्नेमा जोड दिँदै सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकलाई दैनिक उपभोग्य वस्तु आयातमा निश्चित सीमा तोकी भन्सार छुट प्रदान गर्ने व्यवस्था गर्नुपर्ने प्रस्ताव समेत अघि सारे।
विशेषगरी मधेश प्रदेशका जनप्रतिनिधिहरूले सीमा क्षेत्रमा बढ्दो तस्करी नियन्त्रणका लागि प्रभावकारी संयन्त्र विकास गर्न सरकारको ध्यानाकर्षण गराएका थिए।
छलफलमा उठेका विषयहरूप्रति प्रतिक्रिया दिँदै गृहमन्त्री गुरुङले गृह मन्त्रालयसँग सम्बन्धित विषयहरू कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरे। साथै, अर्थ मन्त्रालयसँग सम्बन्धित मुद्दाहरूमा आवश्यक समन्वयमार्फत समाधान खोजिने उनले बताए।