पर्सा, ४ बैशाख २०८३—सर्वसाधारण नेपाली जनताले भारतबाट घरायसी प्रयोजनको लागि सामान खरीद गरी ल्याउदा प्रशासनले रोक लगाएको छ | भारतको रक्सौल बजारबाट सय रुपैयाँभन्दा बढी मूल्यका घरायसी सामान ल्याउँदा अनिवार्य भन्सार तिर्नुपर्ने सरकारको नयाँ नियमको विरोधमा ‘जेनजी पर्सा’ बिरोधमा उत्रिएको छ।
जेन जी युवाहरुले प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई ध्यानाकर्षण पत्र बुझाउँदै दैनिक उपभोग्य वस्तुमा गरिएको कडाइ तत्काल रोक्न माग गर्दै उक्त नीतिले नेपाल–भारतबीचको ‘रोटी–बेटी’ सम्बन्धलाई बेवास्ता गरी सीमावासीलाई दोस्रो दर्जाको नागरिकसरह व्यवहार गरिएको आरोप लगाएको छ।
वीरगन्जको मुख्य नाका विकास र पूर्वाधारमा सधैँ उपेक्षित रहेको तथा प्रदूषण र अव्यवस्थाको सास्ती खेपिरहेका स्थानीयलाई नयाँ नियमले थप प्रताडित गरेको उल्लेख गर्दै संस्थाले भन्सार छली नियन्त्रणको नाममा सर्वसाधारणलाई दुःख दिने तर ठूला तस्करलाई बेवास्ता गर्ने प्रवृत्ति अस्वीकार्य भएको जनाएको छ।
आम नागरिक अर्थतन्त्र सुदृढीकरणमा साथ दिन तयार भए पनि सर्वसाधारणमाथि हुने असुली बन्द गर्नुपर्ने माग राख्दै वीरगंज भन्सार नाका क्षेत्रमा आवतजावत र घरायसी सामान ल्याउने प्रक्रिया सहज नबनाइए चरणबद्ध आन्दोलनसहित नाका बन्द गर्नेसम्मको चेतावनी दिएको पत्र मा उल्लेख छ।