आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News पटेर्वा सुगौली गाउँपालिकामा कानुनविपरीत करार कर्मचारी नियुक्ति गरी करोडौ खर्च भएको खुलासा

पटेर्वा सुगौली गाउँपालिकामा कानुनविपरीत करार कर्मचारी नियुक्ति गरी करोडौ खर्च भएको खुलासा

663

पर्सा, १२ चैत २०८२ – पटेर्वा सुगौली गाउँपालिका पर्साको आर्थिक वर्ष २०८०-८१ को लेखापरीक्षण प्रतिवेदनले कानुनविपरीत करार कर्मचारी नियुक्ति गरी ठूलो रकम खर्च गरिएको तथ्य सार्वजनिक गरेको छ।

प्रतिवेदनअनुसार स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८३ (८) ले नगर प्रहरी, सवारी चालक, सयस, बगैँचे र प्लम्बरजस्ता पदहरूमा मात्र करारमा कर्मचारी नियुक्त गर्न पाइने व्यवस्था गरेको छ। तर गाउँपालिका अध्यक्ष दिनेश कुमार चौधरी को निर्णयमा गाउँपालिकाले उक्त व्यवस्था विपरीत अ.न.मी. चौथो तह ९ जना, अ.हे.ब. चौथो तह ४ जना, हे.अ. पाचौ तह ४ जना, इन्जिनियर १ जना, उर्जा प्राबिधिक १ जना, सब इन्जिनियर पाचौ तह १ जना, सहायक पाचौ तह ३ जना, सहायक चौथो तह २ जना र  १ जना अमिन चौथो तह पदहरूमा करार कर्मचारी नियुक्त गरी तलब भत्ता भुक्तानी गरेको पाइएको छ।

लेखापरीक्षणले करारमा कार्यरत कर्मचारीलाई दरबन्दी बमोजिम पदपूर्ति नगरी तलब खर्च गरिएको देखाएको छ। यसरी कानुनी प्रावधान उल्लंघन गर्दै गाउँपालिका अध्यक्ष चौधरीको संलगतामा गरिएको भुक्तानी रकम करिब रु. २ करोड १९ लाख ५८ हजार ८ सय १५  रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ।

प्रतिवेदनले यस्ता अनियमितता नियन्त्रण गर्न र कानुनअनुसार मात्र कर्मचारी नियुक्ति गर्न गाउँपालिकालाई सुझाव दिदै रोक्न आदेश दिएको छ। साथै, करार नियुक्ति तथा तलब खर्चमा पारदर्शिता र मापदण्ड पालना गर्नुपर्नेमा पनि जोड दिइएको छ।