काठमाडौँ, ३ बैशाख २०८३ । सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ परेका नेपाली कांग्रेसका नेता तथा पूर्वऊर्जामन्त्री दीपक खड्कालाई थुनामुक्त गर्न आदेश दिएको छ।
कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश श्रीकान्त पौडेलको इजलासले खड्कालाई थुनामा राख्ने निर्णय कानुनविपरीत भएको ठहर गर्दै बिहीबार रिट जारी गरेको अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिए।
खड्कालाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै उनकी पत्नी विनीता थापाले अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दायर गरेकी थिइन्।
अदालतका अनुसार खड्का थुनामुक्त भए पनि विदेश यात्रा गर्न भने अदालतको अनुमति लिनुपर्नेछ।
खड्का गत चैत १५ गते पक्राउ परेका थिए।



