काठमाडौं, २ बैशाख २०८३— सरकारले २०६२-६३ सालदेखि २०७२-७३ सम्म सार्वजनिक पद धारण गरेका प्रमुख राजनीतिक पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीहरूको सम्पत्ति विवरण सङ्कलन तथा छानबिन गर्न विशेष आयोग गठन गरेको छ।
बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले राजेन्द्रकुमार भण्डारी को संयोजकत्वमा चार सदस्यीय “सम्पत्ति, आँचबुझ छानबिन आयोग” गठन गर्ने निर्णय गरेको हो।
आयोगमा सदस्यका रूपमा चण्डीराज ढकाल, पुरुषोत्तम पराजुली, गणेश केसी तथा प्रकाश लम्साल रहेका छन्।
सरकारले गत चैत १३ गते १५ दिनभित्र यस्तो समिति गठन गर्ने निर्णय गरेको थियो। साथै, सार्वजनिक गरिएको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूचीको ४३औं बुँदामा पनि यस विषय समेटिएको छ।
यस आयोगले तोकिएको अवधिभित्र सार्वजनिक पदमा रहेका व्यक्तिहरूको सम्पत्ति विवरणको सत्यता जाँच्ने, आवश्यक परे थप अनुसन्धान गर्ने तथा प्रतिवेदन सरकारसमक्ष पेश गर्ने अपेक्षा गरिएको छ।