आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News देशभर ‘व्यक्तिगत घटना दर्ता सप्ताह’ आजदेखि सुरु

देशभर ‘व्यक्तिगत घटना दर्ता सप्ताह’ आजदेखि सुरु

56

काठमाडौं,२ वैशाख २०८३ — आजदेखि देशका ७५३ वटै स्थानीय तहमा विभिन्न जनचेतनामूलक कार्यक्रमसहित ‘व्यक्तिगत घटना दर्ता सप्ताह’ सुरु गरिएको छ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको आदेश अनुसार नागरिकस्तरमा व्यक्तिगत घटना दर्तासम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले देशव्यापी रूपमा सप्ताह मनाउन लागिएको हो।

विभागका अनुसार जन्म, मृत्यु, विवाह, बसाइँसराइ लगायतका व्यक्तिगत घटनाहरूको दर्ता नागरिकको कानुनी पहिचान सुनिश्चित गर्ने आधारभूत प्रक्रिया हो। यस्ता विवरणहरू नीति निर्माण, सेवा वितरण तथा राज्यबाट प्राप्त हुने विभिन्न सुविधाका लागि अत्यन्त महत्त्वपूर्ण हुने जनाइएको छ।

यस अभियानअन्तर्गत सबै स्थानीय तहहरूले विद्यालय, स्थानीय संघ–संस्था तथा समुदायसँग सहकार्य गर्दै सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नेछन्। कार्यक्रममा व्यक्तिगत घटना दर्ताको महत्त्वबारे जानकारी दिने, जनचेतना फैलाउने तथा दर्ता प्रक्रियालाई सहज बनाउने पहल गरिनेछ।

विभागले गत चैत महिनाको अन्तिम साता नै सबै स्थानीय तहहरूलाई परिपत्र जारी गर्दै सप्ताहव्यापी कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न निर्देशन दिइसकेको जनाएको छ।
सरकारले नागरिकलाई समयमै व्यक्तिगत घटना दर्ता गर्न प्रेरित गर्दै सेवा पहुँच विस्तार गर्ने लक्ष्यसहित यो अभियान सञ्चालन गरेको हो।