काठमाडौँ, २ बैशाख २०८३— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन सचिव बैकुण्ठ अधिकारीसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले बिहीबार विशेष अदालत मा मुद्दा दायर गर्दै रूपन्देहीको सम्मरीमाई गाउँपालिकामा शीतभण्डार निर्माणका क्रममा अनियमितता भएको आरोप लगाएको हो।
आरोपपत्र अनुसार आर्थिक वर्ष २०७६-७७ मा वडा नं. ४ सिद्धनाथस्थित शीतभण्डार निर्माण योजनामा सम्झौता विपरीत कार्य नै पूरा नगरी भुक्तानी लिएको पाइएको छ। आयोगका अनुसार उनीहरूमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा कुल ७१ लाख ९७ हजार ९ सय ८० रुपैयाँ बिगो कायम गरिएको छ।
मुद्दा दायर गरिएकामध्ये तत्कालीन सचिव अधिकारीसहित वरिष्ठ कृषि विकास अधिकृत श्रीधर ज्ञवाली, कृषि प्रसार अधिकृत मुकेश रामजाली नेपाली, लेखा अधिकृत लक्ष्मण पौडेल, सह–लेखापाल अजय मिश्र तथा विभिन्न सहकारी संस्थाका पदाधिकारी र व्यवस्थापकहरू रहेका छन्।
आयोगले कैद र जरिवानासहित बिगो असुलउपरको मागदाबी गर्दै मुद्दा दायर गरेको जनाएको छ।