वीरगंज पर्सा, ३ बैशाख २०८३, राजु साह
जिल्ला प्रहरी कार्यालय पर्सा ले चालु आर्थिक वर्षअन्तर्गत चैत्र महिनामा अपराध नियन्त्रण, राजश्व चुहावट रोकथाम तथा फैसला कार्यान्वयनका क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेको जनाएको छ। प्रहरी कार्यालयले सार्वजनिक गरेको प्रगति विवरणअनुसार विभिन्न कारवाहीमार्फत प्रभावकारी नतिजा हासिल गरिएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सुदिपराज पाठक का अनुसार चैत्र महिनामा जिल्लाभर १५२ वटा अपराधका मुद्दा दर्ता भएका छन्। तीमध्ये संगठित तथा आर्थिक अपराधका मुद्दा सबैभन्दा बढी, ५८ वटा रहेका छन्। विभिन्न घटनामा संलग्न १०२ जना प्रतिवादी पक्राउ गरिएको छ।
अदालतको फैसला कार्यान्वयनअन्तर्गत प्रहरीले ६८ जना फरार प्रतिवादीलाई पक्राउ गरी १३ वर्ष ३ महिना २५ दिन कैद भुक्तान गराएको छ भने रु. १,२३,२०,७४८ जरिवाना असुल गरेको जनाएको छ।
त्यस्तै, राजश्व चुहावट नियन्त्रणतर्फ प्रहरीले रु। ५,४०,४२,४०५ बराबरका अवैध सामग्री बरामद गरेको छ। भन्सार छलीका सामानमध्ये रु. १,६४,५३० बराबरको सामग्रीसहित एक जना पक्राउ गरिएको छ। अवैध वन पैदावारतर्फ २५ क्यूविक फिट सालको काठ र दुई वटा साइकल बरामद गरी रु। १,२५,००० जरिवाना गरिएको छ।
लागू औषध नियन्त्रणअन्तर्गत ७ वटा मुद्दा दर्ता भई १३ जना पक्राउ परेका छन्। प्रहरीका अनुसार १६४ केजी ९६ ग्राम गाँजा, १.८५ ग्राम ब्राउन सुगर र ५१,८०० वटा औषधीजन्य लागू औषध बरामद गरिएको छ। यसैगरी, ३ वटा अवैध हातहतियार तथा ३०० ग्राम बारुद समेत फेला पारिएको छ।
सवारी दुर्घटनातर्फ चैत्र महिनामा ७८ वटा दुर्घटना हुँदा २ जनाको मृत्यु र १२१ जना घाइते भएका छन्। ट्राफिक नियम उल्लंघन गर्ने ९०९ सवारी साधन कारवाहीमा पर्दा रु. ११,५६,००० जरिवाना संकलन गरिएको छ।
घरेलु हिंसासम्बन्धी ६७ वटा उजुरी परेकोमा ६४ वटामा मिलापत्र गराइएको प्रहरीले जनाएको छ। साथै, लागू औषध, आत्महत्या र ट्राफिक सचेतनासम्बन्धी १४२ वटा कार्यक्रम सञ्चालन गरी ३,३५५ जनालाई लाभान्वित गरिएको छ। विद्यालय लक्षित कार्यक्रममार्फत ७७५ विद्यार्थीलाई सचेतना प्रदान गरिएको छ।
कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेत का अनुसार CCTV निगरानी, सामाजिक सञ्जाल अनुगमन तथा नियमित गस्ती परिचालनमार्फत जिल्लाको शान्ति सुरक्षा अवस्था थप सुदृढ बनाइएको छ।