काठमाडौं, ९ वैशाख — सरकारले गठन गरेको सम्पत्ति जाँचबुझ आयोगका अध्यक्षसहित सदस्यहरूले बुधबार शपथ ग्रहण गरेका छन्। कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले आयोगका अध्यक्ष राजेन्द्रकुमार भण्डारीलाई शपथ गराएकी हुन्। त्यसपछि अध्यक्ष भण्डारीले आयोगका अन्य सदस्यहरूलाई शपथ गराएका छन्।
मन्त्रिपरिषद्को गत साताको बैठकले गठन गरेको उक्त आयोगलाई सरकारले एक वर्षको कार्यकाल दिएको छ। आयोगले २०६२ सालदेखि हालसम्म सार्वजनिक पद धारण गरेका उच्च पदस्थ व्यक्तिहरूको सम्पत्ति विवरण संकलन तथा छानबिन गर्ने जिम्मेवारी पाएको छ।
आयोगका सदस्यहरूमा पुनरावेदन अदालतका पूर्वमुख्य न्यायाधीश पुरुषोत्तम पराजुली, उच्च अदालतका पूर्वन्यायाधीश चण्डीराज ढकाल, नेपाल प्रहरीका पूर्व नायब महानिरीक्षक (डीआईजी) गणेश केसी तथा नेपाल चार्टर्ड अकाउन्टेन्ट्स संस्था (आईक्यान) का पूर्वअध्यक्ष प्रकाश लम्साल रहेका छन्।
सरकारले २०६२-६३ देखि २०८२-०८३ सम्म सार्वजनिक पदमा रहेका प्रमुख राजनीतिक पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीहरूको सम्पत्ति विवरणको पारदर्शिता कायम गर्न आयोग गठन गरेको जनाएको छ। आयोगले तोकिएको समयभित्र आफ्नो प्रतिवेदन सरकारसमक्ष पेश गर्ने अपेक्षा गरिएको छ।