काठमाडौं, ८ बैशाख — नेपाली कांग्रेसका सभापति गगन थापाले आफूहरू प्रतिपक्षमा रहे पनि लोकतन्त्रको मूल मान्यता ‘रुल अफ ल’ लाई केन्द्रमा राखेर आवाज उठाइरहेको बताएका छन्।
बागमती प्रदेशस्तरीय चुनावी समीक्षा कार्यक्रममा बोल्दै उनले कुनै पनि व्यक्ति कानुनभन्दा माथि नहुने स्पष्ट पारे। प्रधानमन्त्री, पार्टी सभापति वा आफू स्वयं किन नहोस्, राज्यका निकायले पर्याप्त आधारका साथ अनुसन्धान गर्न चाहे त्यसमा सहयोग गर्नु प्रत्येक नागरिकको दायित्व भएको उनले बताए।
थापाले भविष्यमा आफू वा कांग्रेस नेतृत्वमाथि छानबिन आवश्यक ठहरिए पार्टीले अवरोध नगर्ने उल्लेख गरे। ‘आधारसहित अनुसन्धान गर्नुपर्छ भन्ने निष्कर्ष आयो भने त्यसलाई रोकिँदैन,’ उनले भने।
सभापति गगन थापाले राज्यका निकायले गर्ने अनुसन्धान प्रक्रिया निष्पक्ष र गैर-चयनात्मक हुनुपर्नेमा पनि जोड दिए। साथै राज्य स्वयं पनि कानुनभन्दा माथि हुन नहुने उनको भनाइ थियो।