काठमाडौं, १० बैशाख — प्रधानमन्त्री बालेन्द्र शाहले काठमाडौं उपत्यका लगायत देशका विभिन्न प्रमुख सहरहरूमा सार्वजनिक जग्गा मिचेर बनाइएका सुकुम्बासी बस्तीहरूलाई अविलम्ब हटाउन सम्बन्धित सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन्।
शनिबार बालुवाटारमा बसेको उच्चस्तरीय बैठकमा उनले विकास निर्माणमा अवरोध र सहरी सौन्दर्यमा असर परेको भन्दै आइतबारदेखि अतिक्रमण हटाउने अभियान तीव्र पार्न आग्रह गरेका हुन्।
प्रधानमन्त्रीले कुनै पनि दबाब नमानि कानुन कार्यान्वयन गर्न र स्थानीय प्रशासनसँग समन्वय गरी संरचना भत्काउन निर्देशन दिएका छन्। सम्भावित अवरोध र झडपलाई ध्यानमा राख्दै सुरक्षा सतर्कता बढाइने र आवश्यक परे बल प्रयोग गर्न सकिने जनाइएको छ।
यसअघि प्रयासहरू असफल भए पनि यसपटक सरकारले सार्वजनिक जग्गा फिर्ता ल्याउने दृढता देखाएको छ। साथै, वास्तविक सुकुम्बासीहरूको पहिचान र दीर्घकालीन व्यवस्थापनका लागि पनि तयारी भइरहेको बताइएको छ।