वीरगञ्ज, १० बैशाख – नेपाल पत्रकार महासंघ जिल्ला समिति वीरगञ्ज पर्साले सरकारी विज्ञापनलाई सरकारी सञ्चारमाध्यममा मात्र सीमित गर्ने निर्णयको विरोध गर्दै परिपत्र खारेजीको माग गरेको छ। महासंघले पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल मार्फत प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाएको हो।
महासंघले चैत १८ गते जारी परिपत्रले निजी तथा सामुदायिक सञ्चारमाध्यमको आर्थिक आधार कमजोर पार्नुका साथै स्वतन्त्र पत्रकारितामाथि दबाब सिर्जना गर्ने जनाएको छ। विज्ञापन आम्दानीमा निर्भर सञ्चारमाध्यमहरू बन्द हुने जोखिम बढ्ने र हजारौं सञ्चारकर्मी प्रभावित हुने चेतावनीसमेत दिएको छ।
सरकारी सञ्चारमाध्यममा मात्र सूचना सीमित गर्दा नागरिकको सूचनामा पहुँच घट्ने र असमानता बढ्ने महासंघको ठहर छ। उसले उक्त निर्णय खुला बजार र प्रतिस्पर्धात्मक प्रणालीविपरीत रहेको जनाएको छ।
महासंघले परिपत्र तत्काल खारेज गर्न, विज्ञापन वितरण पारदर्शी र समानुपातिक बनाउन, सञ्चार क्षेत्रका लागि दीर्घकालीन नीति ल्याउन तथा सरोकारवालासँग परामर्श अनिवार्य गर्न माग गरेको छ।
ज्ञापनपत्र बुझाउने क्रममा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल, मधेस प्रदेश का अध्यक्ष श्याम बन्जारा लगायत पत्रकारहरूको पनि ऊलेख्य उपस्थिति रहेको थियो |
