आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News सुकुमवासी बस्ती भत्काउने कदमप्रति श्रम संस्कृति पार्टीको आपत्ति

सुकुमवासी बस्ती भत्काउने कदमप्रति श्रम संस्कृति पार्टीको आपत्ति

35

काठमाडौँ, वैशाख ११ — श्रम संस्कृति पार्टीले विभिन्न स्थानमा रहेका सुकुमवासी बस्तीहरू भत्काउने सरकारको कदमप्रति खेद प्रकट गरेको छ। पार्टीले उक्त कार्य संविधानविपरीत भएको भन्दै तत्काल रोक्न माग गरेको छ।

पार्टीका अध्यक्ष हर्क साम्पाङले शुक्रबार विज्ञप्ति जारी गर्दै सुकुमवासीहरूको उचित व्यवस्थापन नगरी बस्ती हटाउने कार्य अस्वीकार्य भएको बताएका छन्। उनले सरकारलाई उचित क्षतिपूर्ति, पुनर्बास तथा व्यवस्थापनको सुनिश्चितता गरेर मात्र यस्ता अभियान अघि बढाउन सुझाव दिएका छन्।

विज्ञप्तिमा उल्लेख गर्दै साम्पाङले हाल देशका विभिन्न स्थानमा गरीब नागरिकका बासस्थान भत्काइरहेको घटनाले संविधानको धारा ३७ (१) को उल्लङ्घन गरेको बताएका छन्। “यस्ता गतिविधि अविलम्ब रोकियोस् र उचित क्षतिपूर्तिसहित पुनर्बासको व्यवस्था गरेर मात्रै सरकार अघि बढोस्,” उनले भनेका छन्।

त्यस्तै, उनले सरकारमाथि निरंकुश चरित्र देखाएको आरोप समेत लगाएका छन्। जनताको घर भत्काउने, बेघर बनाउने, दुर्व्यवहार गर्ने तथा सुरक्षाकर्मीमार्फत डर त्रास देखाउने जस्ता गतिविधिले संविधानको धारा १६ (१) को समेत उल्लङ्घन भएको उनको दाबी छ।
अध्यक्ष साम्पाङले यस्ता घटनाले लोकतन्त्रको मूल्य र मान्यतालाई समेत कमजोर बनाएको टिप्पणी गरेका छन्।