काठमाडौँ, ८ पुस — राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालस्थित चिनियाँ राजदूत छन् सोङले शिष्टाचार बिदाइ भेट गर्नुभएको छ। राष्ट्रपति कार्यालयमा भएको भेटमा नेपाल–चीन द्विपक्षीय सम्बन्ध, आपसी हित तथा चासोका विविध विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ।
राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार भेटका क्रममा दुवै देशबीच रहिआएको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा कुराकानी भएको थियो।
बिदाइ भेटका अवसरमा राष्ट्रपति पौडेलले राजदूत छन् सोङले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गर्नुभएकोमा धन्यवाद व्यक्त गर्दै नेपाल–चीन सम्बन्ध सुदृढीकरणमा उहाँले पुर्याउनुभएको योगदानको प्रशंसा गर्नुभयो। साथै उहाँले राजदूत सोङको भावी जीवन र कार्यकालका लागि शुभकामना व्यक्त गर्नुभयो।
उत्सव खबर
काठमाडौं, ८ पुस- राष्ट्रपति रामचन्द्र पौडेलले विघटित प्रतिनिधिसभाका प्रमुख तीन दलका शीर्ष नेताहरूसँग छलफल गर्ने भएका छन् । राष्ट्रपति पौडेलले मंगलबार नेपाली कांग्रेस, नेकपा एमाले र नवगठित नेपाली कम्युनिस्ट पार्टीका शीर्ष नेताहरूसँग छलफल गर्न लागेका हुन् ।
राष्ट्रपतिको कार्यालयका अनुसार आज दिउँसो ३ बजे कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल हुने कार्यक्रम तय भएको छ ।
तर, राष्ट्रपति कार्यालयले पूर्वप्रधानमन्त्रीसंग हुन लागेको छलफलको एजेन्डाबारे भने कुनै जानकारी सार्वजनिक गरेको छैन । छलफलको विषयवस्तु गोप्य राखिए पनि समसामयिक राजनीतिक अवस्थाबारे विचार–विमर्श हुने अनुमान गरिएको छ ।
काठमाडौं, ७ पुस- राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएका घटनाका सम्बन्धमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग सोधपुछ गरेको छ।
आयोगले तोकेको अनुसन्धान अधिकृतको टोलीले जेनजी आन्दोलनका क्रममा मेयर शाहले सामाजिक सञ्जालमार्फत व्यक्त गरेका अभिव्यक्ति तथा त्यससँग सम्बन्धित अन्य घटनाक्रमबारे जानकारी लिएको हो।
राष्ट्रिय मानव अधिकार आयोगका प्रवक्ता टिकाराम पोखरेलले आयोगले उक्त घटनाबारे अनुसन्धान गरिरहेको जानकारी दिँदै त्यसैक्रममा विभिन्न व्यक्तिहरूलाई बोलाएर सोधपुछ गरिएको बताए। सोमबार भएको सोधपुछका विषयमा भने उनले कुनै व्यक्तिको नाम उल्लेख नगरी आफूलाई यकिन नभएको प्रतिक्रिया दिए।
आयोगका अनुसार भदौ २३ र २४ गतेको घटनामा मानव अधिकार उल्लङ्घन भए–नभएको विषयमा तथ्य संकलन तथा अध्ययन भइरहेको छ। अनुसन्धान सम्पन्न भएपछि आवश्यक निष्कर्षसहित आयोगले थप कदम चाल्ने बताएको छ |
काठमाडौँ ७ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लगाएको ‘गुन’ अदालत धाएर तिर्दै आएको टिप्पणी गरेका छन्।
सोमबार काठमाडौं जिल्ला अदालतमा तारिख बुझाएर फर्कने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै लामिछानेले ओलीको अभिव्यक्तिप्रति व्यंग्य गरेका हुन्। अदालत परिसरबाट बाहिरिँदै उनले भने, “केपी ओलीजीले मलाई ठूलो गुन लगाएको छु भन्नुभएको रहेछ। उहाँले कहाँ–कहाँ गुन लगाउनुभएको छ, अब यो जिन्दगीभर गुन तिर्दै जानुपर्ने छ।”
आफूमाथि लागेका विभिन्न मुद्दाहरूको सन्दर्भ जोड्दै लामिछानेले अदालत धाउनु नै ‘गुन तिर्ने प्रक्रिया’ जस्तो भएको बताए। उनले भने, “अरूलाई त मलाई जस्तो मुद्दा लाग्दैन। म सायद सबैभन्दा धेरै मुद्दा लागेको मान्छे हुन सक्छु। गुन तिर्ने क्रममा आज काठमाडौं जिल्ला अदालत हाजिर हुन आएँ। अब ओलीको गुन तिर्न सबै जिल्लामा जानुपर्ने छ।”
केही दिनअघि दिएको एक अन्तर्वार्तामा एमाले अध्यक्ष ओलीले रवि लामिछानेलाई आफूले विगतमा गुन लगाएको तर लामिछानेले अनावश्यक दुश्मनी गरेको आरोप लगाएका थिए। ओलीले भनेका थिए, “मैले रवि लामिछानेलाई गुन लगाएको थिएँ। उनले मसँग अनावश्यक दुश्मनी गरे। किन गरे थाहा छैन, भेट हुँदा सोध्छु।”
उही अन्तर्वार्तामा ओलीले आगामी निर्वाचनमा नयाँ राजनीतिक दलहरूको खासै प्रभाव नहुने दाबी पनि गरेका थिए। हर्क साम्पाङ, बालेन शाह, रवि लामिछाने र कुलमान घिसिङहरू मिले पनि चौथो वा पाँचौँ शक्ति पनि बन्न नसक्ने उनको टिप्पणी थियो। उनले नयाँ शक्तिहरूलाई ‘सूर्य टिपेर खान खोज्ने बच्चा’सँग तुलना गर्दै उनीहरूको हैसियत दशौँ–बाह्रौँ स्थानसम्म सीमित हुने दाबी गरेका थिए।
लामिछाने सोमबार काठमाडौं जिल्ला अदालतमा तारिख बुझाउन पुगेका थिए। हिरासतबाट रिहा भएपछि उनीविरुद्ध विभिन्न जिल्लामा विचाराधीन मुद्दाहरू रहेकाले ती मुद्दासम्बन्धी तारिख र अदालती प्रक्रियाका लागि विभिन्न अदालतमा उपस्थित हुनुपर्ने अवस्था छ।
वीरगंज, ६ पुस – पर्सा प्रहरीले ठूलो मात्रामा लागू औषध चरेससहित दुईजना युवकलाई पक्राउ गर्न सफल भएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाका आधारमा गरिएको चेकजाँचका क्रममा जगरनाथपुर पर्सा ढाट अगाडिबाट २४० किलो चरेस बरामद गरिएको हो।
पक्राउ पर्नेमा ना.३ ख ५०९३ नम्बरको ट्रक चालक मकवानपुरको थाहा नगरपालिका–११ निवासी २९ वर्षीय सरोज मोक्तान र सोही स्थानका २१ वर्षीय नवराज लो रहेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदिपराज पाठकले दिएको जानकारी अनुसार शनिबार साँझ साढे ७ बजेको समयमा वीरगन्ज महानगरपालिका–२२ अन्तर्गत जगरनाथपुर ढाट अगाडि ट्रकलाई रोकेर चेकजाँच गरिएको थियो। चेकजाँचका क्रममा ट्रकमा फल्स बनाई लुकाइराखिएको अवस्थामा ठूलो परिमाणमा चरेस फेला परेको हो।
बरामद गरिएको लागू औषधसहित दुवै जनालाई नियन्त्रणमा लिई हिरासतमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यस सफलतासँगै सीमावर्ती क्षेत्रमा लागू औषध ओसारपसार नियन्त्रणमा प्रहरीको सक्रियता थप प्रभावकारी बन्दै गएको जनाइएको छ।

पर्सा, ६ पुस – पर्साको जिराभवानी गाउँपालिकाका अध्यक्ष अनोज चौधरीले सरकारले गरेका प्रमुख प्रशासकीय अधिकृत सरुवा निर्णय मान्न अस्वीकार गर्दै ठाडै चुनौती दिएका छन्। संघ सरकारको सामान्य प्रशासन मन्त्रालयले गत मंगलबार कालिकामाई गाउँपालिकामा कार्यरत अमित गिरिलाई जिराभवानी पठाएर वर्तमान अधिकृत राज कुशवाहालाई कालिकामाई सरुवा गरेको थियो। अध्यक्ष चौधरीले आफ्नो सहमति बिना गरिएको सरुवालाई अस्वीकृत गर्दै फेसबुकमार्फत सरकारलाई चेतावनी दिएका छन्।
चौधरीले चाहेको कर्मचारीको सट्टा गिरिलाई सरकारले सरुवा गरेर पठाएको झोँकमा अध्यक्षले अमित गिरिलाई आफ्नो पालिकामा सरकारले सरुवा गर्ने निर्णय नमान्ने समेत बताएका छन् ।
तर गाउँपालिकाका उपाध्यक्ष र पाँच वटै वडाका अध्यक्षसहित अन्य जनप्रतिनिधिहरूले गिरिको सरुवालाई समर्थन गरेका छन्। कार्यपालिकाका एक सदस्यका अनुसार, गिरि पहिले पनि डेढ वर्षअघि जिराभवानीमा प्रमुख प्रशासकीय अधिकृत थिए र कार्यालयको कामकाजमा प्रभावकारी योगदान दिएका थिए। हालको सरुवासँग अध्यक्ष चौधरी असन्तुष्ट भए पनि अन्य जनप्रतिनिधिहरूले कार्यालयको कामकाज सहज बनाउन गिरिको पुन: नियुक्ति आवश्यक रहेको बताएका छन्।

वीरगञ्ज, ५ पुस- बङ्गलादेशको म्यामनसिंह जिल्लामा हिन्दु युवकको कुटपिट गरी हत्या गरी रुखमा झुण्ड्याई जलाइएको घटनाविरुद्ध वीरगञ्जमा शनिबार हिन्दु युवाहरूले विरोध प्रदर्शन गरेका छन्।
वीरगंजमा प्रदर्शनकारीहरूले दोषीमाथि कडा कारबाहीको माग गर्दै नगर परिक्रमा गरेका थिए। घण्टाघर पुगेर उनीहरूले विरोध स्वरूप बङ्गलादेशको झन्डा अङ्कित तस्बिर जलाएका थिए। घटनाबारे बोल्दै हिन्दु युवाहरु बङ्गलादेशमा अल्पसङ्ख्यक हिन्दु असुरक्षित रहेको आरोप लगाउदै हिंसा सहन नसकिने चेतावनी पनि दिएका छन।
उक्त घटना बङ्गलादेशको म्यामनसिंह जिल्लाको भालुका उपजिल्लामा गत बिहीबार राति २५ वर्षीय दिपु चन्द्र दास नामक हिन्दु युवकलाई पैगम्बर मोहम्मदको अपमान गरेको भ्रमपूर्ण आरोपमा भीडले कुटपिट गरी हत्या गरेको थियो । भीडले उनको शवलाई रुखमा बाँधेर आगो लगाएको थियो । दास एक कपडा कारखानामा काम गर्ने मजदुर थिए ।
अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसले घटनाको निन्दा गर्दै दोषीलाई कारबाही गरिने बताएका छन्। आरएबीले घटनामा संलग्न ७ जनालाई पक्राउ गरेको जनाएको छ।
चितवन, ५ पुस — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देश निर्माणका लागि आफू जुनसुकै त्याग गर्न तयार रहेको बताएका छन्। सहकारी ठगीसम्बन्धी मुद्दामा धरौटीमा रिहा भएपछि चितवनमा आयोजित पार्टी सभालाई सम्बोधन गर्दै उनले व्यक्तिगत पद, शक्ति वा स्वार्थभन्दा देश ठूलो भएको स्पष्ट पारे।
पार्टी एकता र सहकार्यका विषयमा बोल्दै उनले अन्तिम समयमा मिल्नुपर्ने सबै शक्ति मिलेरै अघि बढ्ने विश्वास व्यक्त गरे। आफू एक चुनावका लागि होइन, एउटा पुस्ताको भविष्य बदल्न राजनीतिमा आएको उनको भनाइ थियो।
उनले सरकारलाई समयमै निर्वाचन गराउन आग्रह गर्दै जेन–जीका सपना पूरा गर्न रास्वपा सरकारसँगै उभिने बताए। साथै, जेन–जीलाई निराश नहुन आग्रह गर्दै आफू सधैं साथमा रहेको सन्देश दिएका छन।
बुटवल, ३ पुस। उच्च अदालत तुलसीपुरको बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सम्भावित बिगो रकम स्वीकार गरी थुनामुक्त गर्न आदेश दिएको छ। न्यायाधीशद्वय बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले २०८२ साउन २६ गते जिल्ला अदालत रुपन्देहीले जमानत लिन अस्वीकार गरेको आदेश बदर गर्दै बैंक जमानत र धरौटी स्वीकार गर्न निर्देशन दिएको हो।
उच्च अदालतले लामिछानेले पेस गरेको दुई करोड ७४ लाख रुपैयाँ बराबरको बैंक ग्यारेन्टी सुरक्षित गर्न तथा यसअघि २०८१ माघमा बुझाएको एक करोड रुपैयाँ धरौटी पनि स्वीकार गर्न जिल्ला अदालतलाई आदेश दिएको छ। आदेशमा भनिएको छ, “रवि लामिछानेले बिगोको हकमा दामासाहीले हुने रकम जमानत दिई बचतकर्ताको बिगो प्राप्त गर्ने सुनिश्चितता गरेको देखियो। बचतकर्ता तथा लगानीकर्ताको रकम सुनिश्चितता नै पहिलो प्राथमिकता देखिँदा निजले दिएको बैंक जमानत स्वीकार गरी मुद्दाको कारबाही अगाडि बढाउनू।”
उच्च अदालतले सुप्रिम सहकारीबाट रवि लामिछाने कार्यरत गोर्खा मिडियामा प्रवाह भएको रकममध्ये दामासाही हिसाबले पर्ने बिगो बैंक ग्यारेन्टीमार्फत सुनिश्चित गर्न खोजिएकाले त्यसलाई स्वीकार गर्नुपर्ने स्पष्ट गरेको छ। साथै, लामिछाने व्यक्तिगत वा संस्थागत रूपमा विदेश यात्रा गर्नुपर्ने भए अदालतलाई पूर्व जानकारी दिनुपर्ने सर्त तोकिएको छ। मूल मुद्दाको अन्तिम फैसलामा ठहर भएबमोजिम थप बिगो रकम तिर्नुपर्ने अवस्था आएमा त्यसमा मञ्जुर भएको कागज गराई थुनामुक्त गर्न पनि आदेशमा उल्लेख छ।
त्यसैगरी, उच्च अदालतले छविलाल जोशीको हकमा सक्कल प्रमाणसहित निवेदन परेमा उनलाई थुनामा राख्ने विषयमा पुनर्विचार गर्नसमेत जिल्ला अदालतलाई निर्देशन दिएको छ। यसअघि २०८१ माघ १३ गते जिल्ला अदालत रुपन्देहीले सुप्रिम सहकारी ठगी प्रकरणमा मुछिएका रवि लामिछानेसँग एक करोड रुपैयाँ धरौटी माग गरेको थियो, जुन रकम बुझाएर उनी थुनामुक्त भएका थिए।

वीरगंज, ३ पुस – राजस्व छलेर भित्र्याइएको आशंकामा प्रहरीले वीरगन्जबाट करिब ४ करोड ७७ लाख ४० हजार रुपैयाँ बराबरको १८०० बोरा सुपारी बरामद गरेको छ। वीरगन्ज महानगरपालिका–२ बाइपास सडकस्थित निशान्त रनावतको उद्योगको गोदाम तथा गोदाम अगाडि रोकिराखिएका ना ७ ख ७४२० र ना ४ ख ६८३२ नम्बरका दुई कन्टेनर गाडीबाट बिहीबार सुपारी बरामद गरिएको हो।
तेस्रो मुलुकबाट वीरगन्ज भन्सार नाका हुँदै भित्र्याइएको सुपारी महोत्तरी पठाउनुपर्ने कागजात भए पनि कन्टेनर खोलेर गोदाममा भण्डारण गरिएको अवस्थामा शंकास्पद देखिएपछि प्रहरीले छापा मारेको पर्साका प्रहरी उपरीक्षक सुदिपराज पाठकले जानकारी दिए। बरामद सुपारीमध्ये ९०० बोरा कन्टेनरबाट र ९०० बोरा गोदामभित्रबाट फेला परेको हो।
पक्राउ परेका कन्टेनर चालक बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२० का ४१ वर्षीय रामभरोस महरा र वडा नम्बर १९ का ५१ वर्षीय रामप्रसाद यादवलाई नियन्त्रणमा लिइएको छ। बरामद सुपारी र कन्टेनर गाडी आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालयमा बुझाइएको पर्सा प्रहरीले जनाएको छ।