तेहरान, इरान २८ पुष — अमेरिकामा आधारित मानवअधिकार समूह एचआरएएनए (HRANA) का अनुसार इरानमा पछिल्ला दुई हप्तादेखि जारी प्रदर्शनका क्रममा कम्तीमा ४ सय ९० प्रदर्शनकारी र ४८ सुरक्षा कर्मचारी गरी कुल पाँच सयभन्दा बढीको मृत्यु भएको छ। यसै अवधिमा १० हजार ६ सयभन्दा बढी व्यक्तिहरू पक्राउ परेको समूहले जनाएको छ।
डिसेम्बर २८ देखि मूल्यवृद्धिविरुद्ध सुरु भएको प्रदर्शन क्रमशः इस्लामिक गणतन्त्रविरुद्धको व्यापक आन्दोलनमा रूपान्तरण भएको छ। सरकारले इन्टरनेट सेवामा प्रतिबन्ध लगाएपछि सूचनाको प्रवाहमा गम्भीर अवरोध आएको बताइएको छ।
यसबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रदर्शनकारीमाथि बल प्रयोग भए अमेरिकाले हस्तक्षेप गर्न सक्ने चेतावनी बारम्बार दिएका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, “इरान स्वतन्त्रतालाई हेरिरहेको छ‘ अमेरिका मद्दत गर्न तयार छ|”
ट्रम्पको अभिव्यक्तिप्रति प्रतिक्रिया दिँदै इरानले अमेरिकालाई ‘गलत क्रियाकलाप ’ नगर्न चेतावनी दिएको छ। इरानी संसदका सभामुख मोहम्मद बाकर कालिबाफले भने, “हामी स्पष्ट छौँ—इरानमाथि आक्रमण भए कब्जा गरिएका क्षेत्रहरू (इजरायल) साथै सबै अमेरिकी अड्डा र जहाजहरू हाम्रो वैध निशाना हुनेछन्।”
इजरायली स्रोतहरूले अमेरिकी हस्तक्षेपको सम्भावनालाई ध्यानमा राख्दै उच्च सतर्कता अपनाइएको बताएका छन्।
सरकारी टेलिभिजनले मृत सुरक्षाकर्मीहरूलाई ‘सहीद’ घोषणा गर्दै तीन दिनको राष्ट्रिय शोक मनाएको छ। त्यस्तै, प्रदर्शनकारीहरूलाई ‘दंगालु र आतंककारी’ को संज्ञा दिँदै आएको छ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले जारी हिंसाप्रति स्तब्ध भएको बताउँदै सबै पक्षलाई अधिकतम संयम अपनाउन आग्रह गरेका छन्।
यो सन् २०२२ यताकै सबैभन्दा ठूलो प्रदर्शन भएको जनाइएको छ, जसले इरानका सर्वोच्च नेता अली खामेनीको शासनका लागि गम्भीर चुनौती खडा गरेको विश्लेषकहरूको भनाइ छ।
एजेन्सी
अन्तर्राष्ट्रिय
तेहरान, इरान-२७ पुस
इरानमा सरकार विरोधी प्रदर्शन थप हिंसात्मक बन्दै जाँदा कम्तीमा २१७ जनाको मृत्यु भएको दाबी गरिएको छ। देशको खस्कँदो आर्थिक अवस्था, तीव्र महँगी र बढ्दो बेरोजगारीको विरोधमा सुरु भएका प्रदर्शनहरू अहिले व्यापक दमन र हिंसामा परिणत भएका छन्।

प्रदर्शनको सुरुवात सन् २०२५ डिसेम्बर २८ बाट भएको हो। अन्तर्राष्ट्रिय सञ्चार माध्यम टाइम म्यागजिन ले तेहरानका एक चिकित्सकलाई उद्धृत गर्दै राजधानीका छ वटा अस्पतालमा मात्रै कम्तीमा २१७ प्रदर्शनकारीको मृत्यु दर्ता गरिएको जनाएको छ। तीमध्ये अधिकांशको मृत्यु गोली लागेर भएको बताइएको छ।
यसैबीच, बीबीसी ले शुक्रबार राति उत्तरी सहर रश्तको एउटा अस्पतालमा मात्र ७० जनाको शव ल्याइएको पुष्टि गरेको छ। अन्य सहरहरूबाट पनि ठूलो संख्यामा घाइतेहरू अस्पताल ल्याइँदै गरिएको जनाइएको छ। अस्पतालहरूमा उपचारको चाप अत्यधिक बढेको र स्वास्थ्य सेवा प्रभावित भएको बताइएको छ।

इरानी सुरक्षाबलले प्रदर्शन चर्किएपछि विभिन्न स्थानमा गोलाबारी गरेको आरोप लागेको छ। अधिकारीहरूले प्रदर्शनकारीहरूलाई कडा चेतावनी दिँदै उनीहरूलाई ‘अपराधी’ ठहर गर्न सकिने बताएका छन्, जसको सजाय मृत्युदण्डसमेत हुन सक्छ।
सरकारले स्थिति नियन्त्रणमा लिन देशभर इन्टरनेट र फोन सेवा लगभग बन्द गरेको छ भने सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ। रिभोलुसनरी गार्ड्सका एक अधिकारीले अभिभावकहरूलाई आफ्ना छोराछोरीलाई प्रदर्शनबाट टाढा राख्न चेतावनी दिएका छन्।
अन्तर्राष्ट्रिय समुदायले घटनाप्रति चासो व्यक्त गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रदर्शनकारीहरूको हत्या भए इरानी सरकारले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन्।
विज्ञहरूका अनुसार प्रदर्शन मध्यम वर्गीय क्षेत्रसम्म फैलिएकाले आगामी दिनमा सरकारी दमन अझ कडा हुन सक्ने देखिन्छ। इरान हाल अन्तर्राष्ट्रिय प्रतिबन्ध, कमजोर अर्थतन्त्र, ऊर्जा संकट र क्षेत्रीय तनावका कारण थप अस्थिर बन्दै गएको छ।
भारत, १८ मङ्सिर – रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भारतको औपचारिक भ्रमणका लागि आज नयाँ दिल्ली आइपुगेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदी स्वयं विमानस्थल पुगेर पुटिनलाई स्वागत गरेका हुन्। यस अवसरमा दुवै नेताले एकअर्कालाई अँगालो हाल्दै आत्मीयता प्रकट गरेका थिए। स्वागतपछि मोदी र पुटिन एउटै कारमा विमानस्थलबाट बाहिरिएको दृश्यले भ्रमणको महत्व झनै बलियो बनाएको छ।
रुस–युक्रेन युद्ध सुरु भएपछि पुटिनको यो पहिलो भारत भ्रमण हो, जसले अन्तर्राष्ट्रिय कूटनीतिक वृत्तमा विशेष ध्यान खिचिरहेको छ। भारतीय प्रधानमन्त्री मोदीले आज राति पुटिनको सम्मानमा एक विशेष निजी रात्रिभोजको आयोजना गरिएको छ।भ्रमणको क्रममा दुबै नेताबीच द्विपक्षीय सम्बन्धलाई थप सुदृढ गर्ने विविध सम्झौता तथा छलफल हुने अपेक्षा गरिएको छ।
काठमाडौँ, १२ मङ्सिर- हङकङको एक आवासीय भवनमा बुधबार मध्यरातपछि लागेको भीषण आगलागीमा परी मृत्यु हुनेको संख्या ९४ पुगेको छ। सुरक्षाकर्मीका अनुसार मृतकमध्ये अधिकांश सुतिरहेकै बेला धुवाँमा निसास्सिएर ज्यान गुमाएका हुन्। केही व्यक्तिहरूको अवस्थाबारे अझै जानकारी प्राप्त नभएको बताइएको छ।अधिकारीहरूले प्रारम्भिक अनुमान अनुसार विद्युत् सर्टका कारण आगो लागेको हुनसक्ने संकेत गरेका छन्। यद्यपि आगलागीको वास्तविक कारण पुष्टि गर्न विस्तृत अनुसन्धान सुरु गरिएको छ।
घटनास्थलमा रहेको ती बहुमन्जिला भवनहरूमा विदेशी कामदारदेखि स्थानीय बासिन्दासम्मका परिवार बसोबास गर्दै आएका थिए। मध्यरातमा सुरु भएको आगो तीव्र गतिमा फैलिएको कारण उद्धारकर्मीहरूले राहत तथा उद्धार कार्यमा ठूलो चुनौती सामना गर्नुपरेको बताइएको छ। अहिले पनि उद्धारकार्य जारी छ। आगलागीमा घाइते भएका व्यक्तिहरूलाई विभिन्न अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ। तीमध्ये धेरैको अवस्था गम्भीर रहेको चिकित्सकहरूले जनाएका छन्। साथै, आगलागीका कारण घरबार गुमाएका सयौं मानिसका लागि अस्थायी बसोबासको व्यवस्था प्रशासनले गरेको छ।हङकङ प्रशासनले मृतकका परिवारलाई आवश्यक सहयोग तथा क्षतिपूर्ति उपलब्ध गराइने प्रतिबद्धता जनाएको छ।
भारत, ३ कार्तिक – भारतको बिहारमा नितिश कुमार मुख्यमन्त्री बन्ने पक्का भएको छ। बुधबार दिउँसो बसेको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) को बैठकले ७५ वर्षीय नितिश कुमारलाई सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन गर्दै उनलाई सरकार गठनको नेतृत्व दिने निर्णय गरेको हो।
बैठकपछि नितिश कुमार राजभवन पुगेर राज्यपालसमक्ष सरकार गठनका लागि औपचारिक दाबी पेश गरेका छन्। यससँगै उनी १०औँ पटक बिहारको मुख्यमन्त्री बन्ने तयारीमा छन्।
शपथग्रहण समारोह बिहीबार बिहान ११:३० बजे पटनाको ऐतिहासिक गान्धी मैदानमा आयोजना हुने जनाइएको छ। सो समारोहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, केन्द्रीय गृहमन्त्री अमित शाहसहित विभिन्न राज्यका मुख्यमन्त्री र केन्द्रीय मन्त्रीहरूको उपस्थिति रहनेछ। हालै सम्पन्न २४३ सदस्यीय बिहार विधानसभा चुनावमा एनडीए गठबन्धनले २०२ सिट जित्दै स्पष्ट बहुमत हासिल गरेको छ।
बंगलादेश, १ मङ्सिर — अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले सन् २०२४ को विद्यार्थी आन्दोलनका क्रममा भएका हत्या र दमनको आरोपमा पूर्व प्रधानमन्त्री शेख हसिना र पूर्व गृहमन्त्री असदुज्जमान खान कमाललाई मानवता विरुद्धको अपराधमा दोषी ठहर गर्दै मृत्युदण्ड सुनाएको छ।
भारतमा शरणमा रहेकी हसिनाको अनुपस्थितिमै फैसला सुनाइएपछि बंगलादेशभर हिंसा फैलिएको छ। जनआन्दोलनपछि सत्ताच्युत भएकी हसिना विगत १५ महिनादेखि भारतमा शरण लिइरहेकी छिन् र उनको अनुपस्थितिमा नै यो फैसला सुनाइएको हो। राजधानी ढाकामा १५,००० सुरक्षाकर्मी परिचालन गरिएका छन् र हिंसात्मक प्रदर्शन रोक्न ‘देख्नेबित्तिकै गोली चलाउने’ आदेश जारी गरिएको छ।
अदालतले उनीहरूलाई हत्या, दमन, घातक हतियार प्रयोग, विद्यार्थी हत्या, निहत्था प्रदर्शनकारीको हत्या तथा गोली हानी शव जलाउने जस्ता पाँच मुख्य आरोपमा दोषी ठहर गरेको छ। साथै, हसिनाको सम्पूर्ण सम्पत्ति जफत गर्ने आदेश पनि दिएको छ। यसअघि ढाकामा दुईवटा बसमा आगजनी भएका छन् र देशभर कडा सुरक्षा सतर्कता लागू गरिएको छ।
काठमाडौँ, १ मङ्सिर : साउदी अरबको मक्का–मदिना मार्गमा सोमबार बिहान भारतीय तीर्थयात्रीहरू बोकेको बस भीषण दुर्घटनामा पर्दा कम्तीमा ४२ जनाको ज्यान गएको पुष्टि भएको छ। मक्काबाट मदिना जाँदै गरेको बस मुहरास नजिकै रही एक डिजेल ट्यांकरसँग ठोक्किएपछि तुरुन्तै आगलागी भएको र त्यसकै कारण मानवीय क्षति ठूलो भएको अधिकारीहरूले बताएका छन्।
भारतीय समयअनुसार राति करिब १ः३० बजे भएको दुर्घटनाको बेला धेरैजसो यात्रुहरू सुतिरहेका थिए, जसका कारण उनीहरूलाई भाग्ने मौका मिलेन। मृत्यु हुनेहरू सबै भारतीय नागरिक रहेको बताइिएको छ, जसमा २० महिला र ११ बालबालिका समेत समावेश छन्। तीर्थयात्रीहरू मुख्यतः हैदरावादबाट उमराहका लागि साउदी अरब पुगेका थिए।
तेलंगाना सरकारले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै रियादस्थित भारतीय दूतावाससँग निरन्तर समन्वय गरिरहेको छ। मुख्यमन्त्री रेवन्त रेड्डीले पीडितहरूको पहिचान, आवश्यक कानुनी प्रक्रिया र परिवारलाई सहयोगका लागि सम्बन्धित निकायलाई तत्काल कदम चाल्न निर्देशन दिएका छन्।स्थानीय सुरक्षाकर्मी र भारतीय अधिकारीहरूले घटनास्थलमा अनुसन्धान जारी राखेका छन्। बस पूर्ण रूपमा जलेका कारण पहिचान कार्य चुनौतीपूर्ण बनेको बताइएको छ।
भारत, २६ कार्तिक — भारतका विभिन्न राज्यहरूमा पछिल्ला चार दिनभित्र चार जना चिकित्सक आतंक गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ परेका छन्। तिनीहरुबाट राइफल र पिस्तोल बरामद गरिएको छ भने केहीको प्रयोगशालाबाट विष बनाउने रासायनिक पदार्थ भेटिएको भारतीय प्रहरीले जनाएको छ।
सुरक्षास्रोतका अनुसार यी सबै चिकित्सकहरू विदेशी आतंकवादी संगठनहरूको निर्देशनमा सक्रिय थिए। जम्मु–कश्मीर, हरियाणा, उत्तर प्रदेश र गुजरातमा एकपछि अर्को गरी गरिएको विशेष कारबाहीमा चिकित्सकसहित उनका सहयोगीहरू पक्राउ परेका हुन्। उनीहरूबाट करिब २९ सय किलो अमोनियम नाइट्रेट, राइफल, पिस्तोल, र बम बनाउने उपकरणहरू बरामद भएका छन्। भारतीय अधिकारीहरूले यसलाई ‘सेतो कॉलर आतंक’ — अर्थात् शिक्षित पेशेवर वर्गभित्र फैलिँदै गएको नयाँ प्रकारको आतंक गतिविधि — का रूपमा व्याख्या गरेका छन्।
जम्मु–कश्मीरका डा. अदिल अहमद रदर सहारनपुर (उत्तर प्रदेश) बाट पक्राउ परेका हुन्। उनको व्यक्तिगत लककरबाट AK–47 राइफल बरामद भएको प्रहरीले जनाएको छ। उनी जैश–ए–मोहम्मद र अन्सार गजवत–उल–हिन्द जस्ता आतंकी समूहसँग सम्बन्धित रहेको आशंका गरिएको छ।
त्यस्तै, हरियाणाका डा. मुजम्मिल शाकिलको कोठाबाट २९ सय किलो अमोनियम नाइट्रेट र हतियार भेटिएपछि उनलाई पक्राउ गरिएको हो। उनी अल फलाह विश्वविद्यालयमा कार्यरत थिए र अन्य चिकित्सकहरूसँग प्रत्यक्ष सम्पर्कमा रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
सोही घटनासँग सम्बन्धित महिला चिकित्सक डा. शाहिन शाहिदलाई पनि फरीदाबादबाट पक्राउ गरिएको छ। अनुसन्धानअनुसार उनले मुजम्मिलसँग सहकार्य गर्दै हतियार ढुवानीमा संलग्नता जनाएकी थिइन्।
गुजरातमा पक्राउ परेका डा. अहमद मोहियुद्दिन सैयदले ‘राइसिन’ नामक घातक विष तयार गरेको आरोप लागेको छ। उनले दिल्ली र अहमदाबादका भीडभाडयुक्त स्थानहरूमा आक्रमण योजना बनाइरहेको दाबी गरिएको छ।
यी चारै जना पक्राउपछि भारतीय सुरक्षा निकायहरू उच्च सतर्कतामा रहेका छन्। अनुसन्धानमा संलग्न एक अधिकारीका अनुसार, “अब यो केवल सीमापार आतंकको कुरा होइन, शिक्षित वर्गभित्र लुकेको नयाँ खतरा हो।”भनेका छन् |
देइर अल–बालाह (गाजा पट्टी), कात्तिक १२ गते । गाजामा इजरायली हवाई आक्रमण हुँदा कम्तीमा ६० जना नागरिकको मृत्यु भएको छ । मारिनेहरूमा धेरै बालबालिका र महिलाहरू रहेका छन् । स्थानीय अस्पतालका अधिकारीहरूले यो घटनालाई यस महिनाको सुरुदेखि लागू भएको नाजुक युद्धविरामका लागि सबैभन्दा ठूलो चुनौती भनेका छन् ।
मध्य गाजाको देइर अल–बालाहस्थित अल–अक्सा अस्पतालमा आक्रमणपछि तीन महिला र छ बालबालिकासहित कम्तीमा १० जनाको शव ल्याइएको छ । दक्षिणी गाजाको खान युनुसस्थित नासेर अस्पतालमा पाँचवटा हवाई आक्रमणपछि २० वटा शव पुर्याइएको बताइएको छ, जसमा १३ बालबालिका र दुई महिला रहेका छन् ।
त्यस्तै, अल–अवदा अस्पतालमा ३० जना मृतक ल्याइएका छन्, तीमध्ये १४ जना बालबालिका रहेको पुष्टि भएको छ । अस्पतालहरूमा घाइतेहरूको चाप अत्यधिक भएको र औषधि तथा उपचार सामग्री अभावमा स्वास्थ्यकर्मीहरू कठिनाइमा परेको चिकित्सकहरूले बताएका छन् ।
इजरायली अधिकारीका अनुसार दक्षिणी गाजामा सेनामाथि गोली प्रहार भएको घटनापछि प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले ‘शक्तिशाली आक्रमण’ गर्न निर्देशन दिएका थिए । उक्त आक्रमण सोमबार हमासले एउटा बन्धकको ‘आंशिक अवशेष’ हस्तान्तरण गरेपछि भएको जनाइएको छ । इजरायलले ती अवशेष युद्धको सुरुआती चरणमा अपहरणमा परेका आफ्ना नागरिकका भएको दाबी गरेको छ ।
घटनापछि हमासले अर्को बन्धकको शव हस्तान्तरणमा ढिलाइ गर्ने चेतावनी दिएको छ, जसले द्वन्द्वलाई अझ गहिरो बनाएको छ । यसैबीच, संयुक्त राज्य अमेरिकाले स्थिति नियन्त्रणमा ल्याउन कूटनीतिक पहल थालेको छ । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले हिंसात्मक झडपहरू चाँडै अन्त्य हुने आशा व्यक्त गरेका छन् । तर विश्लेषकहरूका अनुसार गाजामा भइरहेको निरन्तर आक्रमण र तीव्र हताहतीका कारण युद्धविराम पुनः संकटमा परेको छ । स्थानीय अधिकारीहरूले दर्जनौँ परिवार भग्नावशेषभित्र बेपत्ता रहेको जनाउँदै आक्रमण नरोके मानवीय सङ्कट झनै भयावह बन्ने चेतावनी दिएका छन् ।
नयाँ दिल्ली ४ कार्तिक।
बलिउडका चर्चित वरिष्ठ अभिनेता गोवर्धन असरानीको ८४ वर्षको उमेरमा निधन भएको छ। मुम्बईको जुहूस्थित आरोग्य निधि अस्पतालमा उपचाररत अवस्थामा सोमबार दिउँसो ३ देखि ३ः३० बजेको बीचमा उनको निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
असरानीका निजी सचिव बाबुभाईले पनि उनको निधनको पुष्टि गरेका छन्। स्वास्थ्य समस्याका कारण उनलाई पछिल्ला चार दिनदेखि अस्पतालमा भर्ना गरिएको थियो।
उनको अन्तिम संस्कार मुम्बईको सान्ताक्रुजस्थित शास्त्री नगर श्मशानघाटमा गरिएको हो। अन्तिम संस्कारमा उनका परिवारका सदस्य, आफन्त र बलिउडका नजिकका कलाकारहरूको उपस्थिति रहेको बताइएको छ।
गोवर्धन असरानीको जन्म सन् १९४१ मा जयपुरमा भएको थियो। करिब पाँच दशक लामो अभिनय यात्रामा उनले सयौं हिन्दी फिल्ममा काम गरेका थिए।
असरानीले ‘शोले’, ‘चलती का नाम गाडी’, ‘आँखें’, ‘चुपके चुपके’, ‘हम’, ‘लगान’ लगायतका दर्जनौं चर्चित फिल्ममा हास्य तथा चरित्र भूमिकामा उत्कृष्ट अभिनय गरेका थिए। उनका संवाद र हास्य अभिनयले उनलाई बलिउडको सर्वाधिक प्रिय हास्य कलाकारमध्ये एकको रूपमा स्थापित गराएको थियो।