आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News गाजामा भीषण इजरायली हवाई आक्रमण, कम्तीमा ६० नागरिकको मृत्यु

गाजामा भीषण इजरायली हवाई आक्रमण, कम्तीमा ६० नागरिकको मृत्यु

108

देइर अल–बालाह (गाजा पट्टी), कात्तिक १२ गते ।   गाजामा इजरायली हवाई आक्रमण हुँदा कम्तीमा ६० जना नागरिकको मृत्यु भएको छ । मारिनेहरूमा धेरै बालबालिका र महिलाहरू रहेका छन् । स्थानीय अस्पतालका अधिकारीहरूले यो घटनालाई यस महिनाको सुरुदेखि लागू भएको नाजुक युद्धविरामका लागि सबैभन्दा ठूलो चुनौती भनेका छन् ।

मध्य गाजाको देइर अल–बालाहस्थित अल–अक्सा अस्पतालमा आक्रमणपछि तीन महिला र छ बालबालिकासहित कम्तीमा १० जनाको शव ल्याइएको छ । दक्षिणी गाजाको खान युनुसस्थित नासेर अस्पतालमा पाँचवटा हवाई आक्रमणपछि २० वटा शव पुर्‍याइएको बताइएको छ, जसमा १३ बालबालिका र दुई महिला रहेका छन् ।
त्यस्तै, अल–अवदा अस्पतालमा ३० जना मृतक ल्याइएका छन्, तीमध्ये १४ जना बालबालिका रहेको पुष्टि भएको छ । अस्पतालहरूमा घाइतेहरूको चाप अत्यधिक भएको र औषधि तथा उपचार सामग्री अभावमा स्वास्थ्यकर्मीहरू कठिनाइमा परेको चिकित्सकहरूले बताएका छन् ।

इजरायली अधिकारीका अनुसार दक्षिणी गाजामा सेनामाथि गोली प्रहार भएको घटनापछि प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले ‘शक्तिशाली आक्रमण’ गर्न निर्देशन दिएका थिए । उक्त आक्रमण सोमबार हमासले एउटा बन्धकको ‘आंशिक अवशेष’ हस्तान्तरण गरेपछि भएको जनाइएको छ । इजरायलले ती अवशेष युद्धको सुरुआती चरणमा अपहरणमा परेका आफ्ना नागरिकका भएको दाबी गरेको छ ।

घटनापछि हमासले अर्को बन्धकको शव हस्तान्तरणमा ढिलाइ गर्ने चेतावनी दिएको छ, जसले द्वन्द्वलाई अझ गहिरो बनाएको छ । यसैबीच, संयुक्त राज्य अमेरिकाले स्थिति नियन्त्रणमा ल्याउन कूटनीतिक पहल थालेको छ । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले हिंसात्मक झडपहरू चाँडै अन्त्य हुने आशा व्यक्त गरेका छन् । तर विश्लेषकहरूका अनुसार गाजामा भइरहेको निरन्तर आक्रमण र तीव्र हताहतीका कारण युद्धविराम पुनः संकटमा परेको छ । स्थानीय अधिकारीहरूले दर्जनौँ परिवार भग्नावशेषभित्र बेपत्ता रहेको जनाउँदै आक्रमण नरोके मानवीय सङ्कट झनै भयावह बन्ने चेतावनी दिएका छन् ।