भारत, २६ कार्तिक — भारतका विभिन्न राज्यहरूमा पछिल्ला चार दिनभित्र चार जना चिकित्सक आतंक गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ परेका छन्। तिनीहरुबाट राइफल र पिस्तोल बरामद गरिएको छ भने केहीको प्रयोगशालाबाट विष बनाउने रासायनिक पदार्थ भेटिएको भारतीय प्रहरीले जनाएको छ।
सुरक्षास्रोतका अनुसार यी सबै चिकित्सकहरू विदेशी आतंकवादी संगठनहरूको निर्देशनमा सक्रिय थिए। जम्मु–कश्मीर, हरियाणा, उत्तर प्रदेश र गुजरातमा एकपछि अर्को गरी गरिएको विशेष कारबाहीमा चिकित्सकसहित उनका सहयोगीहरू पक्राउ परेका हुन्। उनीहरूबाट करिब २९ सय किलो अमोनियम नाइट्रेट, राइफल, पिस्तोल, र बम बनाउने उपकरणहरू बरामद भएका छन्। भारतीय अधिकारीहरूले यसलाई ‘सेतो कॉलर आतंक’ — अर्थात् शिक्षित पेशेवर वर्गभित्र फैलिँदै गएको नयाँ प्रकारको आतंक गतिविधि — का रूपमा व्याख्या गरेका छन्।
जम्मु–कश्मीरका डा. अदिल अहमद रदर सहारनपुर (उत्तर प्रदेश) बाट पक्राउ परेका हुन्। उनको व्यक्तिगत लककरबाट AK–47 राइफल बरामद भएको प्रहरीले जनाएको छ। उनी जैश–ए–मोहम्मद र अन्सार गजवत–उल–हिन्द जस्ता आतंकी समूहसँग सम्बन्धित रहेको आशंका गरिएको छ।
त्यस्तै, हरियाणाका डा. मुजम्मिल शाकिलको कोठाबाट २९ सय किलो अमोनियम नाइट्रेट र हतियार भेटिएपछि उनलाई पक्राउ गरिएको हो। उनी अल फलाह विश्वविद्यालयमा कार्यरत थिए र अन्य चिकित्सकहरूसँग प्रत्यक्ष सम्पर्कमा रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
सोही घटनासँग सम्बन्धित महिला चिकित्सक डा. शाहिन शाहिदलाई पनि फरीदाबादबाट पक्राउ गरिएको छ। अनुसन्धानअनुसार उनले मुजम्मिलसँग सहकार्य गर्दै हतियार ढुवानीमा संलग्नता जनाएकी थिइन्।
गुजरातमा पक्राउ परेका डा. अहमद मोहियुद्दिन सैयदले ‘राइसिन’ नामक घातक विष तयार गरेको आरोप लागेको छ। उनले दिल्ली र अहमदाबादका भीडभाडयुक्त स्थानहरूमा आक्रमण योजना बनाइरहेको दाबी गरिएको छ।
यी चारै जना पक्राउपछि भारतीय सुरक्षा निकायहरू उच्च सतर्कतामा रहेका छन्। अनुसन्धानमा संलग्न एक अधिकारीका अनुसार, “अब यो केवल सीमापार आतंकको कुरा होइन, शिक्षित वर्गभित्र लुकेको नयाँ खतरा हो।”भनेका छन् |