काठमाडौँ, १२ मङ्सिर- हङकङको एक आवासीय भवनमा बुधबार मध्यरातपछि लागेको भीषण आगलागीमा परी मृत्यु हुनेको संख्या ९४ पुगेको छ। सुरक्षाकर्मीका अनुसार मृतकमध्ये अधिकांश सुतिरहेकै बेला धुवाँमा निसास्सिएर ज्यान गुमाएका हुन्। केही व्यक्तिहरूको अवस्थाबारे अझै जानकारी प्राप्त नभएको बताइएको छ।अधिकारीहरूले प्रारम्भिक अनुमान अनुसार विद्युत् सर्टका कारण आगो लागेको हुनसक्ने संकेत गरेका छन्। यद्यपि आगलागीको वास्तविक कारण पुष्टि गर्न विस्तृत अनुसन्धान सुरु गरिएको छ।
घटनास्थलमा रहेको ती बहुमन्जिला भवनहरूमा विदेशी कामदारदेखि स्थानीय बासिन्दासम्मका परिवार बसोबास गर्दै आएका थिए। मध्यरातमा सुरु भएको आगो तीव्र गतिमा फैलिएको कारण उद्धारकर्मीहरूले राहत तथा उद्धार कार्यमा ठूलो चुनौती सामना गर्नुपरेको बताइएको छ। अहिले पनि उद्धारकार्य जारी छ। आगलागीमा घाइते भएका व्यक्तिहरूलाई विभिन्न अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ। तीमध्ये धेरैको अवस्था गम्भीर रहेको चिकित्सकहरूले जनाएका छन्। साथै, आगलागीका कारण घरबार गुमाएका सयौं मानिसका लागि अस्थायी बसोबासको व्यवस्था प्रशासनले गरेको छ।हङकङ प्रशासनले मृतकका परिवारलाई आवश्यक सहयोग तथा क्षतिपूर्ति उपलब्ध गराइने प्रतिबद्धता जनाएको छ।