सुनसरी, १७ पुस — सुनसरीको कोशी गाउँपालिका–१ मा सशस्त्र प्रहरीको गोली लागेर स्थानीय ४५ वर्षीय विजय साहको मृत्यु भएपछि उत्पन्न तनाव अन्त्य गर्न पाँच बुँदे सहमति भएको छ।
बुधबार राति करिब १ बजे भारतबाट सिटी सफारीमार्फत सामान लिएर नेपाल फर्कँदै गरेका साहमाथि सशस्त्र प्रहरीले गोली चलाउँदा उनको घटनास्थलमै मृत्यु भएको थियो। घटनापछि स्थानीयवासी र पीडित पक्ष आन्दोलित बनेका थिए। आन्दोलनका क्रममा स्थानीय र प्रहरीबीच दिउसो ३ बजेसम्म झडपसमेत भएको थियो भने सशस्त्र प्रहरीको सीमा सुरक्षा पोष्टमा आक्रमण भएको बताइएको छ।
बिहीबार जिल्ला प्रशासन कार्यालय सुनसरीमा जिल्ला प्रशासन, सुरक्षा निकायका प्रतिनिधि र पीडित पक्षबीच भएको वार्तामा घटनाको निष्पक्ष छानबिन गर्ने, मृतकका परिवारलाई उचित क्षतिपूर्ति प्रदान गर्ने तथा परिवारका सदस्यलाई रोजगारीको व्यवस्था गर्ने लगायतका विषयमा पाँच बुँदे सहमति जुटेको हो।
सहमति कार्यान्वयनसँगै क्षेत्रको अवस्था सामान्य बनाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी चन्द्र खड्काले जानकारी दिए। उनका अनुसार सुरक्षा व्यवस्था सुदृढ बनाइएको छ भने शान्ति कायम राख्न स्थानीयसँग समन्वय भइरहेको छ।
घटनाको विस्तृत छानबिनका लागि सम्बन्धित निकायबाट समिति गठन गरिने र दोषी देखिए कानुनी कारबाही अघि बढाइने प्रशासनले जनाएको छ।
Breaking News
पेट्रोलियम पदार्थको मूल्य घट्यो
काठमाडौं, १६ पुस- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले बिहीबारदेखि लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य घटाएको हो।
निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँले घटाइएको छ भने डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटाइएको छ। मूल्य समायोजनसँगै उपभोक्तालाई केही राहत पुग्ने अपेक्षा गरिएको छ।
त्यस्तै, हवाई इन्धनतर्फ पनि मूल्य घटाइएको छ। आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ६ रुपैयाँले घटाइएको छ भने अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ काठमाडौंका लागि प्रतिकिलोलिटर अमेरिकी डलर ४२ ले मूल्य घटाइएको निगमले जनाएको छ।
यसैबीच, अन्तर्राष्ट्रिय बजारमा एल.पी. ग्याँसको मूल्य बढेर आएको भए पनि उपभोक्ताको हितलाई ध्यानमा राख्दै एल.पी. ग्याँसको बिक्री मूल्य भने यथावत् राखिएको निगमले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।
निगमले अन्तर्राष्ट्रिय बजारको मूल्य उतारचढाव अनुसार पेट्रोलियम पदार्थको मूल्य समय–समयमा समायोजन गर्दै आएको छ।

थाइल्याण्डबाट ल्याइएको गाँजा सहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना पक्राउ
काठमाडौं, १५ पुस। थाइल्याण्डबाट नेपाल ल्याइएको ठूलो परिमाणको लागु औषध गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा नियाज नाम गरेका ३१ वर्षीय भारतीय नागरिक रहेका छन्। उनलाई विमानस्थल सुरक्षा प्रहरी कार्यालय र भन्सार कार्यालयको संयुक्त टोलीले सोमबार राति पक्राउ गरेको हो।
प्रहरीका अनुसार नेपाल एयरलाइन्सको उडानमार्फत बैंककबाट काठमाडौं आएका नियाजको लगेज जाँचका क्रममा १२ किलो ७ सय ५० ग्राम गाँजा फेला परेको थियो। शंकास्पद गतिविधि देखिएपछि गरिएको विस्तृत जाँचमा उक्त लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ।
पक्राउ परेका नियाजलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ
पर्सा, १५ पुस- पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका–५ मा अवस्थित धार्मिक तथा ऐतिहासिक महत्व बोकेको श्री पारसनाथ महादेव मन्दिर (महुवन मठ) को लामो समयदेखि अतिक्रमित जग्गा खाली गराउन सरकारी निकायहरू सक्रिय भएका छन् ।
गुठी संस्थान र सखुवा प्रसौनी गाउँपालिकाले संयुक्त रूपमा अतिक्रमणकारीहरूलाई ७ दिनभित्र अनधिकृत संरचना हटाउन अन्तिम अल्टिमेटम दिएका छन् । गुठी संस्थान शाखा कार्यालय वीरगञ्जकी प्रमुख उर्मिला आचार्यले पत्र जारी गर्दै महुवन मठको नाममा दर्ता रहेको कित्ता नम्बर २७६ को ५ बिघा १७ कट्ठा १४ धुर जग्गा मा निर्माण गरिएका घर–टहरा तोकिएको समयसीमाभित्र हटाउन निर्देशन दिएको छ । सोही पत्रका आधारमा सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवले पनि सार्वजनिक सूचना जारी गर्दै अतिक्रमण तत्काल हटाई धार्मिक सम्पत्तिको संरक्षणमा सहयोग गर्न आग्रह गरेका छन् । उनले अटेर गरेमा कानुनअनुसार बल प्रयोग गरी संरचना हटाइने र त्यसको सम्पूर्ण खर्च अतिक्रमणकारीबाटै असुल गरिने चेतावनी दिएका छन् ।
महुवन मठको जग्गा लामो समयदेखि विवादित रहँदै आएको थियो । राजनीतिक हस्तक्षेप र दबाबका कारण समस्या समाधान हुन नसकेको स्थानीयहरूको गुनासो थियो । स्थानीय बासिन्दा उप्रान्त यादवका अनुसार राजनीतिक दाउपेच र पूर्वाग्रहकै कारण जग्गा खाली हुन सकेको थिएन । “अहिले दुवै निकायका प्रमुखहरूले हस्ताक्षर गरेर पत्र जारी गरेपछि मठको सम्पत्ति जोगिने आशा जागेको छ,” उनले भने । स्थानीयवासीहरूले यसपटक राजनीतिक प्रभावबिना निष्पक्ष कारबाही हुने विश्वास व्यक्त गरेका छन् । ७ दिनभित्र स्वतः संरचना नहटाएमा सुरक्षा निकायको सहयोगमा डोजर प्रयोग गरी अतिक्रमण हटाउने तयारी गाउँपालिकाले गरेको जनाइएको छ ।
घटनाले धार्मिक तथा ऐतिहासिक सम्पदाको संरक्षणमा नयाँ आशा जगाएको छ भने वर्षौंदेखि अल्झिएको जग्गा विवाद अब छिट्टै टुंगिने संकेत देखिएको छ ।

वीरगंज, १४ पुस – जनता समाजवादी पार्टी (जसपा) का पूर्वमन्त्री प्रदीप यादवले मधेस आन्दोलनबाट प्राप्त उपलब्धिहरूको रक्षा र सुदृढीकरणका लागि उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालसँग पार्टी एकता गरिएको बताएका छन्।
सोमबार जनता समाजवादी पार्टीकी सहअध्यक्ष रेणु यादव र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले दुवै पार्टीबीच एकताको सहमतिपत्रमा हस्ताक्षर गरेसँगै पूर्वमन्त्री यादवले उक्त प्रतिक्रिया दिएका हुन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पूर्वमन्त्री यादवले मधेस आन्दोलनको महत्वपूर्ण उपलब्धिका रूपमा रहेको संघीयता र गणतन्त्रको संरक्षण तथा सम्बर्धन, साथै मधेस र मधेसी जनताको अधिकार सुनिश्चित गर्न वर्तमान बदलिँदो राजनीतिक परिवेशमा जनता समाजवादी पार्टी नेपाल र जनता समाजवादी पार्टीबीचको एकता अपरिहार्य रहेको उल्लेख गरेका छन्।
मधेसी जनताको चाहना र जनअपेक्षालाई शिरोधार्य गर्दै दुवै पार्टीबीच एकता गरिएको उनको भनाइ छ। यस एकताले मधेस आन्दोलनका उपलब्धिहरूलाई संस्थागत गर्दै राजनीतिक संघर्षलाई अझ सशक्त बनाउने विश्वास व्यक्त गरिएको छ।

वीरगन्ज, १३ पुस- तराईमा चिसो बढेसंगै कठ्याङ्ग्रिदो जाडो र बाक्लो कुहिरोले जनजीवन प्रभावित भइरहेका बेला पर्साका विपन्न बस्तीमा प्रशासनले कम्बल वितरण गर्दै मानवीय पहल गरेको छ। पुस महिनाको जाडोमा ओढ्ने–ओछ्याउनेको अभावले वृद्धवृद्धा, बालबालिका तथा अशक्तहरू बढी प्रभावित भइरहेका बेला जिल्ला सुरक्षा समिति पर्साको आयोजनामा कम्बल वितरण गरिएको हो।
आइतबार बिहान बहुदरमाई नगरपालिका–४ स्थित डकैलाबहुअरी प्रहरी चौकीको प्राङ्गणमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भोला दाहालको नेतृत्वमा अतिविपन्न, दलित तथा सहाराविहीन परिवारलाई कम्बल वितरण गरिएको हो। कार्यक्रममा बहुदरमाई नगरपालिका वडा नं. ३ र ६ यस्तै जगरनाथपुर गाउँपालिका वडा नं. ६ का नागरिकहरू पनि कम्बल वितरण हुदा लाभान्वित भएका छन्।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिपराज पाठक, सशस्त्र प्रहरी बलका स.प्र.ना.उ. शम्भु कटुवाल, इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक प्रदीप पौडेल लगायतका सुरक्षाकर्मी तथा प्रशासनिक अधिकारीहरूको उपस्थिति रहेको थियो। अधिकारीहरूले स्वयं नागरिकका हातमा कम्बल थमाउँदै राज्यको उपस्थिति र उत्तरदायित्वको अनुभूति गराएका थिए।
करिब २२० जनाको सहभागिता रहेको कार्यक्रममा कम्बल प्राप्त गरेपछि स्थानीय वृद्धवृद्धाहरूले राहत महसुस गरेका थिए। एक वृद्ध लाभग्राहीले भने, “यो जाडोमा कसैले हेर्ला भन्ने लागेको थिएन, तर सरकार आफैँ घरदैलोमा आएर सहयोग गर्यो। अब रात केही न्यानो हुने भयो।”
प्रशासनले शीतलहरबाट नागरिकलाई सुरक्षित राख्न यस्ता मानवीय कार्यक्रमलाई निरन्तरता दिइने जनाएको छ। चिसो अझै केही समय रहने भए पनि यस अभियानले विपन्न बस्तीमा राज्य आफ्नो दुःखमा साथमा रहेको सन्देश प्रवाह गरेको स्थानीयवासीको भनाइ छ।
उदयपुर, १२ पुस — उदयपुरको चौदण्डीगढी नगरपालिकास्थित मदन भण्डारी सडकखण्डबाट प्रहरीले ठूलो परिमाणको गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार को १ ज ३४५६ नम्बरको जिपबाट करिब ७५० किलो गाँजा बरामद गरिएको हो। उक्त जिप चेकजाँचका क्रममा शंका लागेपछि रोकि जाँच गर्दा गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता केदारमान दोङले जानकारी दिए।
गाँजासहित जिप चालक बेलटार नगरपालिका–६ का रवीन राई तथा रामबहादुर राईलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ परेकामाथि लागुऔषध सम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको छ।
प्रहरीले बरामद गरिएको गाँजा, जिप तथा पक्राउ परेका व्यक्तिलाई आवश्यक कानुनी प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखिएको जनाएको छ।
रौतहट, १२ पुस — रौतहट जिल्लाको कटहरिया नगरपालिका–९ मा रहेको ज्योति डिस्टिलरी उद्योग प्रा ली मा शनिबार बिहान ठूलो बोइलर विस्फोट हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने पाँच जना कामदार घाइते भएका छन्।
प्रारम्भिक जानकारीअनुसार बिहानको समयमा भएको विस्फोट अत्यन्त शक्तिशाली थियो। विस्फोटका कारण डिस्टिलरी परिसरमा व्यापक क्षति पुगेको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको र उनीहरूलाई थप उपचारका लागि वीरगञ्जतर्फ रेफर गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटले घटनास्थलमा थप प्रहरी टोली परिचालन गरी अनुसन्धान अगाडि बढाइएको छ। विस्फोटको ठोस कारण खुल्न बाँकी रहेकाले प्राविधिक परीक्षण र विस्तृत छानबिन भइरहेको प्रहरीले जनाएको छ।
यसैबीच, स्थानीयवासीहरूले डिस्टिलरी सञ्चालकको लापरबाहीका कारण दुर्घटना भएको आरोप लगाएका छन्। उनीहरूले उद्योगमा सुरक्षा मापदण्डको कडाइका साथ पालना हुनुपर्ने मागसमेत गरेका छन्। घटनाको विस्तृत कारणबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
काठमाडौं, १० पुस- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग भेट गर्दै आफू राजनीतिमा सक्रिय भइसकेको जानकारी गराएका छन्।
बिहीबार कुपन्डोलस्थित एक निजी निवासमा भएको भेटमा बालेनले राजनीतिक मार्गदर्शन र सहयोगको आग्रह गरेका हुन्। भेटपछि भट्टराईले नयाँ तथा वैकल्पिक राजनीतिक शक्ति एकजुट हुनुपर्ने विषयमा छलफल भएको बताए।
स्रोतका अनुसार बालेनले नयाँ राजनीतिक शक्ति निर्माण र आगामी निर्वाचनको तयारीबारे जानकारी दिँदै राष्ट्रिय स्वतन्त्र पार्टीसँग सहकार्य गर्ने वा न गर्ने विषयमा भट्टराईसँग सुझाव मागेका थिए।
वीरगन्ज, १० पुस- बढ्दो चिसो र शितलहरका कारण गरिब तथा अशक्त नागरिकको दैनिकी कष्टकर बन्दै गएको अवस्थालाई मध्यनजर गर्दै वीरगन्ज उद्योग वाणिज्य संघको पहलमा स्थानीय प्रशासनलाई ३ सय ७५ थान कम्बल हस्तान्तरण गरिएको छ ।
विभिन्न संघ–संस्था तथा उद्योगको सहकार्यमा संकलन गरिएको कम्बल बिहीबार वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले जिल्ला प्रशासन कार्यालय, पर्सामा पुगेर प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई हस्तान्तरण गरेका हुन् । ती कम्बलहरू जिल्ला प्रशासनमार्फत आवश्यक परेका विपन्न तथा असक्त नागरिकलाई वितरण गरिने जनाइएको छ ।
अध्यक्ष गौतमका अनुसार विभिन्न संघ संस्थाको सहयोगमा ३ सय ७५ थान कम्बल संकलन गरिएको हो । निजी क्षेत्रको सामाजिक उत्तरदायित्वअन्तर्गत चिसोबाट प्रभावित समुदायलाई राहत पुर्याउने उद्देश्यले यो पहल गरिएको उनले बताए ।