आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News सशस्त्र प्रहरीको गोली लागेर मृत्यु भएका साहको घटनामा पाँच बुँदे सहमति

सशस्त्र प्रहरीको गोली लागेर मृत्यु भएका साहको घटनामा पाँच बुँदे सहमति

137

सुनसरी, १७ पुस — सुनसरीको कोशी गाउँपालिका–१ मा सशस्त्र प्रहरीको गोली लागेर स्थानीय ४५ वर्षीय विजय साहको मृत्यु भएपछि उत्पन्न तनाव अन्त्य गर्न पाँच बुँदे सहमति भएको छ।
बुधबार राति करिब १ बजे भारतबाट सिटी सफारीमार्फत सामान लिएर नेपाल फर्कँदै गरेका साहमाथि सशस्त्र प्रहरीले गोली चलाउँदा उनको घटनास्थलमै मृत्यु भएको थियो। घटनापछि स्थानीयवासी र पीडित पक्ष आन्दोलित बनेका थिए। आन्दोलनका क्रममा स्थानीय र प्रहरीबीच दिउसो ३ बजेसम्म झडपसमेत भएको थियो भने सशस्त्र प्रहरीको सीमा सुरक्षा पोष्टमा आक्रमण भएको बताइएको छ।
बिहीबार जिल्ला प्रशासन कार्यालय सुनसरीमा जिल्ला प्रशासन, सुरक्षा निकायका प्रतिनिधि र पीडित पक्षबीच भएको वार्तामा घटनाको निष्पक्ष छानबिन गर्ने, मृतकका परिवारलाई उचित क्षतिपूर्ति प्रदान गर्ने तथा परिवारका सदस्यलाई रोजगारीको व्यवस्था गर्ने लगायतका विषयमा पाँच बुँदे सहमति जुटेको हो।
सहमति कार्यान्वयनसँगै क्षेत्रको अवस्था सामान्य बनाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी चन्द्र खड्काले जानकारी दिए। उनका अनुसार सुरक्षा व्यवस्था सुदृढ बनाइएको छ भने शान्ति कायम राख्न स्थानीयसँग समन्वय भइरहेको छ।
घटनाको विस्तृत छानबिनका लागि सम्बन्धित निकायबाट समिति गठन गरिने र दोषी देखिए कानुनी कारबाही अघि बढाइने प्रशासनले जनाएको छ।