वीरगंज पर्सा, ४ बैशाख २०८३- राजु साह
वीरगन्जस्थित उच्च अदालत जनकपुरको अस्थायी इजलासले प्रभु कन्सट्रक्सन प्रा.लि.ले दायर गरेको निषेधाज्ञा मुद्दामा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।
न्यायाधीश पूर्णेश्वरप्रसाद उपाध्यायको एकल इजलासले कम्पनीले वीरगन्ज महानगरपालिकासँग गरेको सम्झौताअनुसार सञ्चालन गरिरहेको सवारी कर संकलन कार्यमा अवरोध नगर्न विपक्षी पक्षलाई निर्देशन दिएको हो।
अदालतले विपक्षीलाई १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ भने अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने विषयमा छलफलका लागि २०८३ वैशाख ११ गते पेशी तोकेको छ। सो अवधिसम्म सन्तुलन कायम राख्न आदेश जारी गरिएको जनाइएको छ।
वीरगंज महानगरसँगको सम्झौताअनुसार चालू आर्थिक वर्षका लागि कर संकलन गर्दै आएको कम्पनीमाथि गैरकानुनी असुलीको आरोप लागेपछि पर्सा १ का सांसद हरि पन्तले संकलन रोक्न निर्देशन दिएका थिए। आज अदालतको आदेशपछि हालका लागि सवारी कर संकलनमा अवरोध नगर्न भनिएको छ।

