आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News अनामनगरका पूर्व विकास आयुक्त तिवारीविरुद्ध १० करोडभन्दा बढी भ्रष्टाचार मुद्दा

अनामनगरका पूर्व विकास आयुक्त तिवारीविरुद्ध १० करोडभन्दा बढी भ्रष्टाचार मुद्दा

65

काठमाडौँ, ३ बैशाख २०८३— काठमाडौँ उपत्यका विकास प्राधिकरण, अनामनगरका तत्कालीन विकास आयुक्त भाइ काजी तिवारीविरुद्ध १० करोड ५४ लाख ९५ हजार ८७१ रुपैयाँ बराबरको भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार तिवारीले सार्वजनिक पद सम्हालेको मिति २०४४ भदौ १९ गतेदेखि २०७८ वैशाख ९ गतेसम्मको अवधिलाई आधार मानेर छानबिन गरिएको थियो।
छानबिनका क्रममा तिवारी तथा उनका एकाघर परिवारको वैधानिक आय १४ करोड ५१ लाख ९१ हजार ३५६ रुपैयाँ रहेको देखिएको छ। उक्त आयमा पारिश्रमिक बचत, वैदेशिक आय, भ्रमण भत्ता, विभिन्न भत्ता, कर्मचारी सञ्चय कोष, सञ्चित बिदा, घरजग्गा बिक्रीलगायतका स्रोत समावेश छन्।

तर सोही अवधिमा उनीहरूको खर्च २५ करोड ६ लाख ८७ हजार २२७ रुपैयाँ पुगेको पाइएको आयोगले जनाएको छ। अध्ययन खर्च, ऋण–सापटी तथा लगानी, कम्पनीमा लगानी, घर खरिद तथा निर्माण, जग्गा खरिद, कर भुक्तानी, हिराका गरगहना तथा शेयर खरिदजस्ता शीर्षकमा उक्त खर्च भएको उल्लेख गरिएको छ।

आयोगका अनुसार तिवारीले सार्वजनिक पदमा रहँदा अख्तियारको दुरुपयोग गर्दै गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको ठहर गरिएको छ। सोही आधारमा भ्रष्टाचार निवारण ऐन, २०१७ अनुसार बिगो कायम गर्दै थप सजायको मागदाबी गरिएको छ।

यस प्रकरणमा तिवारीकी श्रीमती मिना देवी तिवारी र छोरी मीरा तिवारीलाई पनि प्रतिवादी बनाइएको छ। उनीहरूविरुद्ध बिहीबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ।