काठमाडौं, ४ बैशाख — पूर्व रास्ट्रपति विद्यादेवी भण्डारी ले अनुभवहीन नयाँ राजनीतिक पात्रहरूको उदयले राष्ट्रिय एकता र सार्वभौमिकतामा गम्भीर प्रश्न उठाएको बताएकी छन्।
‘भूमिगत महिला’ पुस्तकबारे आयोजित कार्यक्रममा बोल्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टी र बालेन शाह तर्फ संकेत गर्दै देशको वर्तमान राजनीतिक अवस्थाप्रति चिन्ता व्यक्त गरिन्।
उनका अनुसार नयाँ पात्र आउनु स्वाभाविक भए पनि अनुभवविहीन नेतृत्वले राष्ट्रको स्वाभिमान, जनजीविका र मौलिक अधिकारहरू जोखिममा पार्न सक्नेछ। लोकतन्त्रको भविष्यप्रति समेत प्रश्न उठेको उनको भनाइ थियो।
भण्डारीले यस्तो अवस्थामा राज्यका सबै अंग र नागरिक सक्रिय हुनुपर्नेमा जोड दिँदै विगतका जनआन्दोलनहरूमा महिलाहरूको अग्रणी भूमिका रहेको स्मरण गरिन्।
उनले राजनीतिक दलहरूले महिला सहभागितालाई संख्यात्मक मात्र नभई अर्थपूर्ण बनाउनुपर्ने बताउँदै बदलिएको राजनीतिक परिवेशमा नेतृत्वले गम्भीर समीक्षा गर्नुपर्ने आवश्यकता औँल्याइन्।