वीरगंज, १२ माघ – वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासमा भारतको ७७ औं गणतन्त्र दिवस सोमबार हर्षोल्लासका साथ मनाइएको छ। वीरगन्ज महानगरपालिका–११, श्रीपुरमा रहेको महावाणिज्य दूतावासको परिसरमा आयोजित विशेष समारोहमा विभिन्न सांस्कृतिक तथा औपचारिक कार्यक्रमहरू सम्पन्न भएका थिए।
कार्यक्रमको सुरुवात महावाणिज्यदूत डी. एस. मीना ले भारतको राष्ट्रिय झण्डा फहराएर गर्नुभएको थियो। त्यसपछि उहाँले भारतका राष्ट्रपतिद्वारा जारी गरिएको गणतन्त्र दिवसको सन्देश वाचन गरी उपस्थित अतिथिहरूलाई सुनाउनुभयो। सन्देशमा भारतको संविधान, लोकतान्त्रिक मूल्य, सामाजिक समावेशिता तथा विकास यात्राबारे उल्लेख गरिएको थियो।
गणतन्त्र दिवसको अवसरमा आयोजित समारोहलाई थप आकर्षक बनाउन वीरगन्जका विभिन्न विद्यालयका विद्यार्थीहरूले देशभक्ति गीत, नृत्य तथा सांस्कृतिक कार्यक्रमहरू प्रस्तूत गरेका थिए। विद्यार्थीहरूको प्रस्तुतीले भारत–नेपालबीचको सांस्कृतिक निकटता र आपसी मित्रतालाई झल्काएको सहभागीहरूको भनाइ थियो।
समारोहमा वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, प्रमुख जिल्ला अधिकारी भोला दाहाल, प्रहरी उपरीक्षक सुदीपराज पाठक, सशस्त्र प्रहरी उपरीक्षक पुरनचन्द्र भट्ट, वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम, नेपाल–भारत मैत्री संघका प्रतिनिधिहरू, आम नागरिक, विभिन्न विद्यालयका प्रधानाध्यापक, पत्रकार, शिक्षक तथा विद्यार्थीहरू लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा वक्ताहरूले भारतको गणतन्त्र दिवसले लोकतन्त्र, स्वतन्त्रता र संविधानको महत्वलाई स्मरण गराउने बताउँदै नेपाल–भारतबीचको ऐतिहासिक सम्बन्ध, सांस्कृतिक आदानप्रदान र सहयोगलाई अझ सुदृढ बनाउन यस्ता कार्यक्रमहरूले महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरेका थिए।
समारोह शान्तिपूर्ण र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो। अन्त्यमा सहभागी अतिथिहरूलाई धन्यवाद ज्ञापन गर्दै भारत–नेपाल मित्रता आगामी दिनमा अझ मजबुत हुँदै जाने विश्वास व्यक्त गरिएको थियो।


