काठमाडौं, ११ माघ — गृह मन्त्रालयले निर्वाचन प्रचारप्रसारका क्रममा राष्ट्रिय झण्डाको दुरुपयोग भएको पाइएमा कानुनअनुसार कारबाही गरिने स्पष्ट पारेको छ। मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै निर्वाचन आचारसंहिता, २०८२ को उल्लंघन गर्ने दल वा उम्मेदवारमाथि आवश्यक कारबाही गरिने जनाएको हो।
विज्ञप्तिअनुसार निर्वाचन आचारसंहिता, २०८२ को परिच्छेद ४ अन्तर्गत दफा १३ को खण्ड (न) मा दल वा उम्मेदवारले जुलुस, आमसभा, कोणसभा, घरदैलो भेटघाट वा कुनै पनि प्रकारको र्याली गर्दा बढीमा १० वटा राष्ट्रिय झण्डा मात्र प्रयोग गर्न पाउने व्यवस्था गरिएको छ। सो सीमाभन्दा बाहेक निर्वाचन प्रचारप्रसारका क्रममा राष्ट्रिय झण्डा प्रयोग गर्न वा गराउन नपाइने स्पष्ट व्यवस्था रहेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले राष्ट्रिय झण्डा देशको सम्मान र सार्वभौमिकताको प्रतीक भएकाले यसको प्रयोग कानुन र आचारसंहिताअनुसार मर्यादित ढंगले गर्न सबै राजनीतिक दल, उम्मेदवार तथा सम्बन्धित पक्षलाई आग्रह गरेको छ। आचारसंहिता उल्लंघन भएको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइने चेतावनी पनि गृह मन्त्रालयले दिएको छ।
