तेहरान, इरान २८ पुष — अमेरिकामा आधारित मानवअधिकार समूह एचआरएएनए (HRANA) का अनुसार इरानमा पछिल्ला दुई हप्तादेखि जारी प्रदर्शनका क्रममा कम्तीमा ४ सय ९० प्रदर्शनकारी र ४८ सुरक्षा कर्मचारी गरी कुल पाँच सयभन्दा बढीको मृत्यु भएको छ। यसै अवधिमा १० हजार ६ सयभन्दा बढी व्यक्तिहरू पक्राउ परेको समूहले जनाएको छ।
डिसेम्बर २८ देखि मूल्यवृद्धिविरुद्ध सुरु भएको प्रदर्शन क्रमशः इस्लामिक गणतन्त्रविरुद्धको व्यापक आन्दोलनमा रूपान्तरण भएको छ। सरकारले इन्टरनेट सेवामा प्रतिबन्ध लगाएपछि सूचनाको प्रवाहमा गम्भीर अवरोध आएको बताइएको छ।
यसबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रदर्शनकारीमाथि बल प्रयोग भए अमेरिकाले हस्तक्षेप गर्न सक्ने चेतावनी बारम्बार दिएका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, “इरान स्वतन्त्रतालाई हेरिरहेको छ‘ अमेरिका मद्दत गर्न तयार छ|”
ट्रम्पको अभिव्यक्तिप्रति प्रतिक्रिया दिँदै इरानले अमेरिकालाई ‘गलत क्रियाकलाप ’ नगर्न चेतावनी दिएको छ। इरानी संसदका सभामुख मोहम्मद बाकर कालिबाफले भने, “हामी स्पष्ट छौँ—इरानमाथि आक्रमण भए कब्जा गरिएका क्षेत्रहरू (इजरायल) साथै सबै अमेरिकी अड्डा र जहाजहरू हाम्रो वैध निशाना हुनेछन्।”
इजरायली स्रोतहरूले अमेरिकी हस्तक्षेपको सम्भावनालाई ध्यानमा राख्दै उच्च सतर्कता अपनाइएको बताएका छन्।
सरकारी टेलिभिजनले मृत सुरक्षाकर्मीहरूलाई ‘सहीद’ घोषणा गर्दै तीन दिनको राष्ट्रिय शोक मनाएको छ। त्यस्तै, प्रदर्शनकारीहरूलाई ‘दंगालु र आतंककारी’ को संज्ञा दिँदै आएको छ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले जारी हिंसाप्रति स्तब्ध भएको बताउँदै सबै पक्षलाई अधिकतम संयम अपनाउन आग्रह गरेका छन्।
यो सन् २०२२ यताकै सबैभन्दा ठूलो प्रदर्शन भएको जनाइएको छ, जसले इरानका सर्वोच्च नेता अली खामेनीको शासनका लागि गम्भीर चुनौती खडा गरेको विश्लेषकहरूको भनाइ छ।
एजेन्सी
उत्सव खबर
काठमाडौं, २७ पुस- नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा ६२ दशमलव ४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन्। आइतबार आयोजित विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पार्टी महामन्त्री गगनकुमार थापाले उक्त जानकारी दिएका हुन्।
थापाका अनुसार पार्टीभित्र देखिएका राजनीतिक तथा संगठनात्मक विषयहरूमा छलफल र निकास खोज्न विशेष महाधिवेशन आवश्यक भएको भन्दै बहुमत प्रतिनिधिहरूले लिखित समर्थन जनाएका हुन्। पार्टी विधानअनुसार कम्तीमा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको माग भएमा विशेष महाधिवेशन आह्वान गर्न सकिने व्यवस्था छ।
सोही व्यवस्थाअनुसार महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको आह्वान गरेका हुन्। नेपाली कांग्रेसमा देशभरबाट कुल ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधि रहेका छन्।
पार्टी नेतृत्व, संगठन सुदृढीकरण तथा समसामयिक राजनीतिक परिस्थितिबारे गहन छलफल गर्ने उद्देश्यले विशेष महाधिवेशन आयोजना गरिएको नेताहरूले बताएका छन्।
काठमाडौं, २७ पुस — नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आयोजना गरिएको विशेष महाधिवेशन आजदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ। विशेष महाधिवेशन आयोजक समितिका अनुसार कार्यक्रम आज दिउँसो १ बजे उद्घाटन गर्ने तय भए पनि केही ढिलाइका साथ उद्घाटनसत्र सुरु भएको हो।
आयोजक समितिका संयोजक पाण्डेयका अनुसार उद्घाटनसत्र सम्पन्न भएपछि भृकुटीमण्डपस्थित सभाहलमा बन्दसत्र सञ्चालन गरिनेछ। कांग्रेसको विशेष महाधिवेशन पक्षधर समूहको आयोजनामा भइरहेको यो महाधिवेशन दुई दिनसम्म चल्नेछ।
महाधिवेशनको पहिलो दिन आज प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया जारी रहेको छ। आयोजकका अनुसार आठ वटा ‘स्टल’मार्फत नाम दर्ता भइरहेको छ। बिहान ८ बजेदेखि दर्ता सुरु गर्ने भनिए पनि व्यवहारमा भने बिहान ९ बजेदेखि मात्र नाम दर्ता प्रक्रिया सुरु भएको थियो।
चितवन, २७ पुस – डेढ वर्षअघि चितवनको सिमलतालस्थित त्रिशुली नदीमा खसेर बेपत्ता भएका दुई पटा बसमध्ये एकको केही अवशेष फेला परेको छ। आज फेला परेको अवशेष काठमाडौंबाट गौरतर्फ आउँदै गरेको गणपति डिलक्स बसको हुन सक्ने आशंका गरिएको छ।
२०८१ साल असार २८ गते वीरगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको एन्जल डिलक्स र काठमाडौंबाट गौरतर्फ आउँदै गरेको गणपति डिलक्स बस एकै दिन सिमलताल क्षेत्रमा दुर्घटनामा परेर त्रिशुली नदीमा खसेका थिए। उक्त दुर्घटनामा बसमा सवार बाराका ६२ जना यात्रु बेपत्ता भएका थिए भने ३ जना यात्रुले पौडिएर ज्यान जोगाएका थिए।
दुर्घटनापछि सुरक्षाकर्मी, स्थानीय तथा विभिन्न निकायको सहयोगमा लामो समयसम्म खोजी कार्य सञ्चालन गरिएको थियो। धेरै दिनको प्रयासपछि २४ जनाको शव मात्र फेला परेको थियो भने बाँकी यात्रुहरूको अवस्था अहिलेसम्म अज्ञात नै रहँदै आएको छ।
आज नदी किनार तथा आसपासको क्षेत्रमा खोजीका क्रममा फेला परेको अवशेष बसको संरचनासँग मिल्दोजुल्दो देखिएकाले गणपति डिलक्स बसकै हुन सक्ने अनुमान गरिएको सम्बन्धित निकायले जनाएको छ। अवशेषको यकिन पहिचानका लागि थप प्राविधिक परीक्षण तथा अध्ययन गरिने बताइएको छ।
धरान, पुस २७
इलाका प्रहरी कार्यालय धरान, सुनसरीले धरान उपमहानगरपालिका–१६ बाट प्रतिबन्धित औषधि ९ हजार ९ सय १० क्याप्सुलसहित दुई जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार पुस २७ गते बिहान गस्तीमा खटिएको प्रहरी टोलीले धरान–१६ स्थित शंकास्पद अवस्थामा रहेको को १८ प ४२५६ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा उक्त परिमाणको प्रतिबन्धित औषधि फेला पारेको हो। पक्राउ पर्नेहरूमा मोटरसाइकल चालक कोशी गाउँपालिका–१ निवासी २३ वर्षीय रोशन झा र १८ वर्षीय जय प्रकाश यादव रहेका छन्।
चेकजाँचका क्रममा उनीहरूको साथबाट ठूलो परिमाणमा प्रतिबन्धित क्याप्सुल फेला परेपछि दुवै जनालाई नियन्त्रणमा लिई मोटरसाइकलसहित बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रतिबन्धित औषधिसहित पक्राउ परेका दुवै जनाको सम्बन्धमा इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भइरहेको छ।
तेहरान, इरान-२७ पुस
इरानमा सरकार विरोधी प्रदर्शन थप हिंसात्मक बन्दै जाँदा कम्तीमा २१७ जनाको मृत्यु भएको दाबी गरिएको छ। देशको खस्कँदो आर्थिक अवस्था, तीव्र महँगी र बढ्दो बेरोजगारीको विरोधमा सुरु भएका प्रदर्शनहरू अहिले व्यापक दमन र हिंसामा परिणत भएका छन्।

प्रदर्शनको सुरुवात सन् २०२५ डिसेम्बर २८ बाट भएको हो। अन्तर्राष्ट्रिय सञ्चार माध्यम टाइम म्यागजिन ले तेहरानका एक चिकित्सकलाई उद्धृत गर्दै राजधानीका छ वटा अस्पतालमा मात्रै कम्तीमा २१७ प्रदर्शनकारीको मृत्यु दर्ता गरिएको जनाएको छ। तीमध्ये अधिकांशको मृत्यु गोली लागेर भएको बताइएको छ।
यसैबीच, बीबीसी ले शुक्रबार राति उत्तरी सहर रश्तको एउटा अस्पतालमा मात्र ७० जनाको शव ल्याइएको पुष्टि गरेको छ। अन्य सहरहरूबाट पनि ठूलो संख्यामा घाइतेहरू अस्पताल ल्याइँदै गरिएको जनाइएको छ। अस्पतालहरूमा उपचारको चाप अत्यधिक बढेको र स्वास्थ्य सेवा प्रभावित भएको बताइएको छ।

इरानी सुरक्षाबलले प्रदर्शन चर्किएपछि विभिन्न स्थानमा गोलाबारी गरेको आरोप लागेको छ। अधिकारीहरूले प्रदर्शनकारीहरूलाई कडा चेतावनी दिँदै उनीहरूलाई ‘अपराधी’ ठहर गर्न सकिने बताएका छन्, जसको सजाय मृत्युदण्डसमेत हुन सक्छ।
सरकारले स्थिति नियन्त्रणमा लिन देशभर इन्टरनेट र फोन सेवा लगभग बन्द गरेको छ भने सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ। रिभोलुसनरी गार्ड्सका एक अधिकारीले अभिभावकहरूलाई आफ्ना छोराछोरीलाई प्रदर्शनबाट टाढा राख्न चेतावनी दिएका छन्।
अन्तर्राष्ट्रिय समुदायले घटनाप्रति चासो व्यक्त गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रदर्शनकारीहरूको हत्या भए इरानी सरकारले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन्।
विज्ञहरूका अनुसार प्रदर्शन मध्यम वर्गीय क्षेत्रसम्म फैलिएकाले आगामी दिनमा सरकारी दमन अझ कडा हुन सक्ने देखिन्छ। इरान हाल अन्तर्राष्ट्रिय प्रतिबन्ध, कमजोर अर्थतन्त्र, ऊर्जा संकट र क्षेत्रीय तनावका कारण थप अस्थिर बन्दै गएको छ।
काठमाडौं, २५ पुस — नेपाल राष्ट्र बैंकले ५ लाख रुपैयाँभन्दा बढीको चेक साटेर नगद झिक्न नपाइने व्यवस्था लागू गरेको छ। केन्द्रीय बैंकले ५ लाख रुपैयाँभन्दा माथिको चेक जारी गर्दा अनिवार्य रूपमा एकाउन्ट पेयी हुनुपर्ने व्यवस्था गर्दै नगद कारोबारलाई थप कडाइ गरेको हो। यसअघि १० लाख रुपैयाँसम्मको नगद कारोबार गर्न पाइने व्यवस्था रहेकामा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) न्यूनीकरण गर्ने उद्देश्यले सरकारले नगद कारोबारको सीमा घटाएर ५ लाख रुपैयाँ कायम गरेको थियो। सो निर्णय नेपाल राजपत्रमा प्रकाशित भइसकेपछि राष्ट्र बैंकले चेकमार्फत प्रतिपटक झिक्न सकिने नगद रकम पनि ५ लाखमै सीमित गरेको हो।
नयाँ व्यवस्थाअनुसार ५ लाख रुपैयाँभन्दा बढीको रकम सम्बन्धित व्यक्तिको खातामै जम्मा हुनुपर्नेछ। कुनै पनि व्यक्ति वा संस्थाले प्रत्येक पटक नगद कारोबार गर्दा ५ लाख रुपैयाँभन्दा कममा सीमित गर्नुपर्ने र सोभन्दा बढीको कारोबार गर्नुपरेमा एकाउन्ट पेयी चेकमार्फत गर्नुपर्ने व्यवस्था गरिएको छ।
राष्ट्र बैंकका प्रवक्ता गुरु पौडेलले भने, “यो व्यवस्थाले कुनै परिवारले सामाजिक कार्यका लागि नगद संकलन गरेको अवस्थामा वा व्यापारिक प्रयोजनका लागि नगद उठाउँदा असर नगर्दैन।” केन्द्रीय बैंकको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले ५ लाख रुपैयाँ वा सोभन्दा बढीको रकम भुक्तानी गर्दा अनिवार्य रूपमा एकाउन्ट पेयी चेक वा सम्बन्धित व्यक्तिको खातामा मात्र भुक्तानी गर्नुपर्नेछ। फर्म, कम्पनी, संस्था वा कार्यालयका नाममा खिचिएका चेकको भुक्तानीसमेत एकाउन्ट पेयी नै हुनुपर्ने व्यवस्था गरिएको छ।
यद्यपि, कुनै निक्षेपकर्ता वा बचतकर्ताले विशेष कारण देखाउँदै नगद भुक्तानीका लागि निवेदन दिएमा, कारण मनासिब देखिएमा तोकिएको सीमाभन्दा बढी नगद भुक्तानी गर्न सकिने व्यवस्था पनि राखिएको छ। यस्तो भुक्तानीको मासिक विवरण भने अद्यावधिक गर्नुपर्नेछ।
त्यसैगरी, लघुवित्त वित्तीय संस्थालाई पनि सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को उद्देश्यअनुसार ५ लाख रुपैयाँ वा सोभन्दा बढीको रकम भुक्तानी गर्दा अनिवार्य रूपमा एकाउन्ट पेयी चेकमार्फत गर्नुपर्ने व्यवस्था लागू गरिएको राष्ट्र बैंकले जनाएको छ।
वीरगञ्ज, २५ पुस — वीरगञ्ज महानगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयहरूमा सरस्वती पूजाका नाममा विद्यार्थी तथा अभिभावकबाट चन्दा वा कुनै पनि प्रकारको शुल्क संकलन गर्न नपाइने स्पष्ट निर्देशन दिएको छ।
महानगरपालिकाको नगर कार्यपालिकाको कार्यालयबाट जारी सूचनाअनुसार, सरस्वती पूजाको अवसरमा विद्यालयहरूमा गरिने सम्पूर्ण क्रियाकलाप मर्यादित, व्यवस्थित र शैक्षिक उद्देश्यअनुरूप सञ्चालन गर्न आग्रह गरिएको छ। पछिल्लो समय केही विद्यालयहरूले पूजाको नाममा चन्दा वा शुल्क संकलन गर्ने गरेको गुनासो आएपछि यस्तो निर्देशन जारी गरिएको हो।
सूचनामा शिक्षा ऐन तथा नियमावलीले तोकेको बाहेक अन्य कुनै पनि शीर्षकमा विद्यार्थी वा अभिभावकबाट रकम असुल नगर्न स्पष्ट रूपमा भनिएको छ। यदि यसअघि कुनै विद्यालयले चन्दा वा शुल्क उठाइसकेको भए सो रकम सम्बन्धित विद्यार्थी वा अभिभावकलाई अनिवार्य रूपमा फिर्ता गर्नसमेत महानगरपालिकाले निर्देशन दिएको छ।
महानगरपालिकाले उक्त निर्देशनको अवज्ञा भएमा कानुनी कारबाही हुने संकेत गर्दै सबै विद्यालयलाई निर्देशनको पूर्ण पालना गर्न अनुरोध गरेको छ।
उक्त सूचना वीरगञ्ज महानगरपालिकाका शैक्षिक प्रशासन शाखाका प्रमुखद्वारा हस्ताक्षर गरी जारी गरिएको हो।

सुनको मूल्य बढ्यो, चाँदी घट्यो
काठमाडौं, २५ पुस — नेपाली बजारमा आज सुनको मूल्यमा वृद्धि भएको छ भने चाँदीको मूल्य घटेको छ। शुक्रबार सुन प्रतितोला २ हजार १ सय रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ६७ हजार ८ सय रुपैयाँ कायम भएको छ। यसअघि बिहीबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ६५ हजार ७ सय रुपैयाँ थियो।
यसैगरी, चाँदीको मूल्य भने घटेको छ। आज चाँदी प्रतितोला ५५ रुपैयाँले घटेको महासंघले जनाएको छ। बिहीबार प्रतितोला ४ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको चाँदी आज घटेर प्रतितोला ४ हजार ७ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारको उतारचढाव तथा स्थानीय माग आपूर्तिको अवस्थाका कारण सुनचाँदीको मूल्यमा परिवर्तन हुँदै आएको व्यवसायीहरू बताउँछन्।
रौतहट, २४ पुस – रौतहटको गढीमाई नगरपालिकामा बुधबार एकैदिन बौलाहा कुकुरको आक्रमणबाट ४८ भन्दा बढी व्यक्ति घाइते भएका छन्। घाइतेमध्ये बालबालिका, महिलाहरु र बृद्धबृद्धा रहेका छन्।
गौर प्रादेशिक अस्पतालका प्रमुख डा. मुरारी ठाकुरका अनुसार, घाइतेमध्ये ५ जनाको टाउकोमा चोट लागेपछि वीरगन्जमा उपचार भइरहेको छ भने बाँकी ४३ जनालाई एन्टी रेबिज भ्याक्सिन (एआरभी) दिइएको छ। डा. ठाकुरले टाउकोमा चोट लागेर संवेदनशील भएका बिरामीलाई उपचारका लागि बाहिर पठाइएको जानकारी दिए।
घाइतेहरुको विवरण प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाललाई समेत जानकारी गराइएको छ। गौर अस्पतालका अनुसार बौलाहा कुकुरले मुख्य रूपमा गढीमाई नगरपालिकाका १, ४, ६ र ८ नम्बर वडामा घर तथा बाटोमा हिँडिरहेका बालबालिका, वृद्धवृद्धा र महिलालाई टोकेको थियो। अधिकांश घाइतेको गाला, हात र टाउकोमा चोट लागेको छ।
बौलाहा कुकुरको आक्रमण बढेसँगै स्थानीयबासीमा ठूलो त्रास फैलिएको छ। नगरपालिकाका मेयर श्याम यादवले कुकुर नियन्त्रणका लागि प्रहरीलाई आग्रह गरेको बताए। उनले भने, “बालबालिकालाई विद्यालय पठाउन र वृद्धवृद्धालाई घरबाहिर निस्कन त्रासको अवस्था सिर्जना भएको छ। हामी सबैलाई सचेत गराएका छौं।”