वीरगञ्ज, २५ पुस — वीरगञ्ज महानगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयहरूमा सरस्वती पूजाका नाममा विद्यार्थी तथा अभिभावकबाट चन्दा वा कुनै पनि प्रकारको शुल्क संकलन गर्न नपाइने स्पष्ट निर्देशन दिएको छ।
महानगरपालिकाको नगर कार्यपालिकाको कार्यालयबाट जारी सूचनाअनुसार, सरस्वती पूजाको अवसरमा विद्यालयहरूमा गरिने सम्पूर्ण क्रियाकलाप मर्यादित, व्यवस्थित र शैक्षिक उद्देश्यअनुरूप सञ्चालन गर्न आग्रह गरिएको छ। पछिल्लो समय केही विद्यालयहरूले पूजाको नाममा चन्दा वा शुल्क संकलन गर्ने गरेको गुनासो आएपछि यस्तो निर्देशन जारी गरिएको हो।
सूचनामा शिक्षा ऐन तथा नियमावलीले तोकेको बाहेक अन्य कुनै पनि शीर्षकमा विद्यार्थी वा अभिभावकबाट रकम असुल नगर्न स्पष्ट रूपमा भनिएको छ। यदि यसअघि कुनै विद्यालयले चन्दा वा शुल्क उठाइसकेको भए सो रकम सम्बन्धित विद्यार्थी वा अभिभावकलाई अनिवार्य रूपमा फिर्ता गर्नसमेत महानगरपालिकाले निर्देशन दिएको छ।
महानगरपालिकाले उक्त निर्देशनको अवज्ञा भएमा कानुनी कारबाही हुने संकेत गर्दै सबै विद्यालयलाई निर्देशनको पूर्ण पालना गर्न अनुरोध गरेको छ।
उक्त सूचना वीरगञ्ज महानगरपालिकाका शैक्षिक प्रशासन शाखाका प्रमुखद्वारा हस्ताक्षर गरी जारी गरिएको हो।
