वीरगंज, २१ माघ- आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष तथा भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले एकीकृत सुरक्षा योजना–२०८२ अनुसार आज बुधबारदेखि चारवटै सुरक्षा निकाय परिचालन भएका छन्। नेपाली सेनाको संयोजनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभाग एकीकृत रूपमा परिचालित भएका हुन्।
सरकारले यसअघि नै प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना–२०८२ स्वीकृत गरी कार्यान्वयनमा ल्याइसकेको छ। निर्वाचन आउन अब करिब एक महिना मात्र बाँकी रहँदा सुरक्षा व्यवस्थालाई थप चुस्त, दुरुस्त र प्रभावकारी बनाउने योजनाअनुसार आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गरी सुरक्षा निकाय परिचालन गरिएको हो।
यसैबीच, निर्वाचन सुरक्षा परिचालनकै क्रममा नेपाली सेनाले सार्वजनिक स्थानमा फोटो तथा भिडियो खिच्न रोक लगाएको छ। बुधबार वीरगञ्जको घण्टाघर क्षेत्र हुँदै सडक छेउबाट गइरहेको नेपाली सेनाको एक समूहले पत्रकारलाई सेनाले फोटो खिच्न रोकेपछि आफूहरूको फोटो तथा भिडियो नखिच्न निर्देशन दिएको एक पत्रकारले सो कुरा बताएका हुन्।
पत्रकारले एक सेनालाई फोटो किन खिच्न नपाइने भन्ने प्रश्न गर्दा सेनाले कुनै स्पष्ट जवाफ नदिएको जनाइएको छ। फोटो खिच्ने क्रममा सेनाले ठाडो शैलीमा हप्काउँदै फोटो नखिच्न र खिचिएको सामग्री मेटाउनसमेत भनेको हो। एक पत्रकारले आफू पत्रकार भएको परिचय दिँदा पनि फोटो–भिडियो खिच्न नपाइने भनिएको बताइएको छ।
सरकारले जनताको सुरक्षाको साथ साथै निर्वाचन लक्षित गर्दै सडकमा परिचालन गरेको नेपाली सेनाले सार्वजनिक स्थानमै पत्रकारलाई फोटो खिच्न नदिनु र खिचिएको सामग्री मेटाउन निर्देशन दिनु आफैमा शंकास्पद र गम्भीर विषय रहेको छ। सार्वजनिक सरोकारको विषयमा सूचना संकलन गर्ने पत्रकारको आफ्नो कर्म र अधिकारमाथि यसरी रोक लगाइनु ठिक नभएको प्रत्यक्षदर्शीले बताए ।

