आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News उदयपुर सिमेन्टका तत्कालीन महाप्रबन्धक पौडेलसहित ८ जनाविरुद्ध ४६ करोडभन्दा बढीको भ्रष्टाचार मुद्दा

उदयपुर सिमेन्टका तत्कालीन महाप्रबन्धक पौडेलसहित ८ जनाविरुद्ध ४६ करोडभन्दा बढीको भ्रष्टाचार मुद्दा

85

काठमाडौं, १८ माघ-  उदयपुर सिमेन्ट उद्योग लिमिटेडका तत्कालीन महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलसहित ८ जनाविरुद्ध ४६ करोड रुपैयाँभन्दा बढीको ‘क्लिङ्कर’ हिनामिनासम्बन्धी भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा नेपाल पुनर्बीमा कम्पनीका अध्यक्षसमेत रहेका पौडेलसहित ८ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।

अख्तियारका अनुसार उदयपुर सिमेन्ट उद्योगमा क्लिङ्कर उत्पादन, भण्डारण र बिक्री प्रक्रियामा ठूलो परिमाणमा अनियमितता भएको पाइएपछि अनुसन्धान गरी मुद्दा दायर गरिएको हो ।

मुद्दा दायर गरिएका व्यक्तिहरूमा तत्कालीन महाप्रबन्धक सुरेन्द्रकुमार पौडेल, निमित्त महाप्रबन्धक नवलकिशोर साह, नायब महाप्रबन्धक महेशप्रसाद काफ्ले, उत्पादन महाशाखा प्रमुख सञ्जयकुमार लाल, भण्डार महाशाखा प्रमुख महेशप्रसाद साह, क्लिङ्कर उत्पादन विभाग प्रमुख रवीचन्द्र पौडेल, सिमेन्ट उत्पादन विभाग प्रमुख हरिप्रसाद अधिकारी र बिक्री विभाग प्रमुख रामबहादुर जिसी रहेका छन् ।

अख्तियारले तत्कालीन महाप्रबन्धक पौडेलविरुद्ध १२ करोड ४७ लाख २२ हजार २ सय ४२ रुपैयाँ बिगो मागदाबी गरेको छ । यस्तै, निमित्त महाप्रबन्धक साह, उत्पादन महाशाखा प्रमुख लाल, भण्डार महाशाखा प्रमुख साह, क्लिङ्कर उत्पादन विभाग प्रमुख पौडेल, सिमेन्ट उत्पादन विभाग प्रमुख अधिकारी र बिक्री विभाग प्रमुख जिसीविरुद्ध जनही ४६ करोड ५२ लाख ७४ हजार ४ सय २६ रुपैयाँ बिगो मागदाबी गरिएको छ ।

नायब महाप्रबन्धक महेशप्रसाद काफ्लेविरुद्ध भने १२ करोड ६३ लाख ६९ हजार १ सय ६८ रुपैयाँ बिगो मागदाबी गरिएको अख्तियारले जनाएको छ ।