सिराहा, माघ २० — प्रादेशिक अस्पताल सिरहाका तत्कालीन कार्यालय प्रमुखसहित आठ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३८ लाख ७७ हजार ७२४ रुपैयाँ बराबरको भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार अस्पतालका तत्कालीन कार्यालय प्रमुख डा. नागेन्द्रप्रसाद यादव र डा. सरोज यादव, तत्कालीन प्रशासन प्रमुख अशोककुमार सिंह, तत्कालीन लेखा प्रमुख अशोककुमार यादव तथा तत्कालीन लेखा प्रमुख रत्नप्रसाद मण्डलकी पत्नी मुस्कानकुमारी मण्डलविरुद्ध उक्त रकम बराबरको भ्रष्टाचार मुद्दा दायर गरिएको हो।
आयोगको अनुसन्धानअनुसार आर्थिक वर्ष २०८०/८१ मा प्रादेशिक अस्पताल सिरहाको बिलिङ काउन्टरबाट सङ्कलन भएको सेवा शुल्क दाखिला नगरी–नगराई सरकारी रकम हानि–नोक्सानी तथा दुरुपयोग गरेको आरोप उनीहरूमाथि लागेको छ।
यसैगरी, अस्पतालको बिल काउन्टरमा कार्यरत अहेव श्यामकुमार मण्डलविरुद्ध २५ लाख ४७ हजार ४१६ रुपैयाँ, पूजाकुमारी यादवविरुद्ध दुई लाख ८८ हजार २२९ रुपैयाँ भ्रष्टाचार मुद्दा दायर भएको छ।
बिल काउन्टरमै कार्यरत सरस्वतीकुमारी यादवविरुद्ध पाँच लाख दुई हजार ८१३ रुपैयाँ, रोशनकुमार यादवविरुद्ध एक लाख ६४ हजार ६५९ रुपैयाँ र अजयकुमार मण्डलविरुद्ध तीन लाख ७९ हजार २१ रुपैयाँ बराबरको भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगले जनाएको छ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा उनीहरूमाथि कैद तथा बिगो बमोजिम जरिवानाको मागदाबी लिई मङ्गलबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ।