२६ भदौ,काठमाडौं : जेन जी आन्दोलनको कारण देश ठप भएको छ | देशको पछिल्लो राजनीतिक परिस्थितिले मुलुकभित्र यातायातदेखि अन्तर्राष्ट्रिय व्यापारसम्म प्रभावित भएको छ । भारत र चीनतर्फका सबै प्रमुख नाकामा जाँचपास बन्द भएपछि आयात–निर्यात ठप्प बनेको भन्सार विभागले जनाएको छ ।
भन्सार विभागका निर्देशक तथा सूचना अधिकारी किशोर बर्तौलाका अनुसार हाल दुई छिमेकी मुलुकसँगको व्यापारिक आवागमन रोकिएको छ । भारततर्फ सीमा सुरक्षा बलले नेपालबाट जाने यात्रुहरुलाई अधिकांश स्थानमा रोकेको छ भने चीनतर्फ रसुवागढी र तातोपानी नाका अझै सहज नभएकाले सामान भित्र्याउने प्रक्रिया अवरुद्ध भएको हो । रसुवागढी नाकामा मितेरी पुल नै निर्माण भइसकेको छैन भने तातोपानीतर्फको सडक समेत सहज छैन ।
यसबीच, मुलुकभित्र पनि सार्वजनिक तथा मालवाहक सवारीसाधन सञ्चालन हुन सकेका छैनन् । राष्ट्रिय यातायात व्यवसायी महासंघले सुरक्षा प्रत्याभूति नहुँदासम्म मालवाहक तथा सार्वजनिक यातायात चलाउन नसक्ने अडान लिएको छ ।
यातायात र व्यापार अवरुद्ध हुँदा बजारमा अत्यावश्यक वस्तुको आपूर्ति संकट देखिएको छ । चाडपर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य सामानदेखि अन्य आवश्यक सामग्रीको अभाव हुने अवस्था स्पष्ट हुँदै गएको व्यवसायीहरुले बताएका छन् ।
भदौ महिना परम्परागत रूपमा अन्तर्राष्ट्रिय व्यापार बढी हुने समय मानिन्छ । दशैं र तिहारका लागि लक्षित सामान प्रायः यसै महिनामा आउने गरे पनि यसपटक सीमा नाका बन्दले बजारमा चाडपर्वको तयारी प्रभावित हुने देखिएको छ ।