वीरगन्ज, १० पुस- बढ्दो चिसो र शितलहरका कारण गरिब तथा अशक्त नागरिकको दैनिकी कष्टकर बन्दै गएको अवस्थालाई मध्यनजर गर्दै वीरगन्ज उद्योग वाणिज्य संघको पहलमा स्थानीय प्रशासनलाई ३ सय ७५ थान कम्बल हस्तान्तरण गरिएको छ ।
विभिन्न संघ–संस्था तथा उद्योगको सहकार्यमा संकलन गरिएको कम्बल बिहीबार वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले जिल्ला प्रशासन कार्यालय, पर्सामा पुगेर प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई हस्तान्तरण गरेका हुन् । ती कम्बलहरू जिल्ला प्रशासनमार्फत आवश्यक परेका विपन्न तथा असक्त नागरिकलाई वितरण गरिने जनाइएको छ ।
अध्यक्ष गौतमका अनुसार विभिन्न संघ संस्थाको सहयोगमा ३ सय ७५ थान कम्बल संकलन गरिएको हो । निजी क्षेत्रको सामाजिक उत्तरदायित्वअन्तर्गत चिसोबाट प्रभावित समुदायलाई राहत पुर्याउने उद्देश्यले यो पहल गरिएको उनले बताए ।
स्थानीय खबर
वीरगञ्ज, ५ पुस- बङ्गलादेशको म्यामनसिंह जिल्लामा हिन्दु युवकको कुटपिट गरी हत्या गरी रुखमा झुण्ड्याई जलाइएको घटनाविरुद्ध वीरगञ्जमा शनिबार हिन्दु युवाहरूले विरोध प्रदर्शन गरेका छन्।
वीरगंजमा प्रदर्शनकारीहरूले दोषीमाथि कडा कारबाहीको माग गर्दै नगर परिक्रमा गरेका थिए। घण्टाघर पुगेर उनीहरूले विरोध स्वरूप बङ्गलादेशको झन्डा अङ्कित तस्बिर जलाएका थिए। घटनाबारे बोल्दै हिन्दु युवाहरु बङ्गलादेशमा अल्पसङ्ख्यक हिन्दु असुरक्षित रहेको आरोप लगाउदै हिंसा सहन नसकिने चेतावनी पनि दिएका छन।
उक्त घटना बङ्गलादेशको म्यामनसिंह जिल्लाको भालुका उपजिल्लामा गत बिहीबार राति २५ वर्षीय दिपु चन्द्र दास नामक हिन्दु युवकलाई पैगम्बर मोहम्मदको अपमान गरेको भ्रमपूर्ण आरोपमा भीडले कुटपिट गरी हत्या गरेको थियो । भीडले उनको शवलाई रुखमा बाँधेर आगो लगाएको थियो । दास एक कपडा कारखानामा काम गर्ने मजदुर थिए ।
अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसले घटनाको निन्दा गर्दै दोषीलाई कारबाही गरिने बताएका छन्। आरएबीले घटनामा संलग्न ७ जनालाई पक्राउ गरेको जनाएको छ।
वीरगंज, ३ पुस – राजस्व छलेर भित्र्याइएको आशंकामा प्रहरीले वीरगन्जबाट करिब ४ करोड ७७ लाख ४० हजार रुपैयाँ बराबरको १८०० बोरा सुपारी बरामद गरेको छ। वीरगन्ज महानगरपालिका–२ बाइपास सडकस्थित निशान्त रनावतको उद्योगको गोदाम तथा गोदाम अगाडि रोकिराखिएका ना ७ ख ७४२० र ना ४ ख ६८३२ नम्बरका दुई कन्टेनर गाडीबाट बिहीबार सुपारी बरामद गरिएको हो।
तेस्रो मुलुकबाट वीरगन्ज भन्सार नाका हुँदै भित्र्याइएको सुपारी महोत्तरी पठाउनुपर्ने कागजात भए पनि कन्टेनर खोलेर गोदाममा भण्डारण गरिएको अवस्थामा शंकास्पद देखिएपछि प्रहरीले छापा मारेको पर्साका प्रहरी उपरीक्षक सुदिपराज पाठकले जानकारी दिए। बरामद सुपारीमध्ये ९०० बोरा कन्टेनरबाट र ९०० बोरा गोदामभित्रबाट फेला परेको हो।
पक्राउ परेका कन्टेनर चालक बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२० का ४१ वर्षीय रामभरोस महरा र वडा नम्बर १९ का ५१ वर्षीय रामप्रसाद यादवलाई नियन्त्रणमा लिइएको छ। बरामद सुपारी र कन्टेनर गाडी आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालयमा बुझाइएको पर्सा प्रहरीले जनाएको छ।
वीरगञ्ज, पर्सा पुस १ — पर्सा प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जना पिकअप चालकलाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा रामेछाप जिल्लाको खाडादेवी गाउँपालिका–१ निवासी २८ वर्षीय सुबराज श्रेष्ठ रहेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साले पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै वीरगञ्ज महानगरपालिका–१७ कोनिया क्षेत्रमा १७६ केजी लागूऔषध गाँजा बरामद गरिएको जनाएको छ।
प्रहरीका अनुसार विशेष सूचनाको आधारमा प्रहरी चौकी सिर्सियाबाट खटिएको प्रहरी टोलीले सोमबार साँझ करिब ८ बजे कोनियास्थित सामुदायिक अस्पताल अलौबाट कोनिया जाने ग्राभेल सडकखण्डमा बा.२१ च ७८५५ नम्बरको पिकअप गाडी रोकी चेकजाँच गरेको थियो। चेकजाँचका क्रममा गाडीको पछाडिपट्टि प्लास्टिकका बोरामा परालले छोपी लुकाई–छिपाई राखिएको अवस्थामा १२ पोकामा रहेको १७६ केजी लागूऔषध गाँजा जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ। बरामद गरिएको लागूऔषध, पिकअप गाडी तथा पक्राउ परेका व्यक्तिलाई आवश्यक कानुनी कारबाहीका लागि नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
वीरगंज, २८ मङ्सिर – वीरगन्ज महानगरपालिकाले शहरको मुख्य केन्द्रबिन्दु घण्टाघर छेउमा रहेको विपी उद्यानको जग्गामा अनाधिकृत रूपमा सञ्चालन हुँदै आएको अस्थायी थोक तरकारी तथा फलफुल बजार र फुसका घरटहराहरू आइतबार बिहान डोजर लगाएर हटाएको छ। आइतबार बिहानै देखि नगर प्रहरीको टोलीसहित पुगेको महानगरपालिकाको डोजरले विपी उद्यान क्षेत्र अतिक्रमण गरी सञ्चालनमा रहेका तरकारी बजारका संरचना र केही दलित समुदायले बनाएका फुसका टहराहरू भत्काएर जग्गा खाली गराएको हो। डोजर चलाउने क्रममा त्यहाँ रहेका केही तरकारी व्यापारी र टहरामा बसोबास गर्दै आएका दलित समुदायले महानगरको डोजर र नगर प्रहरीमाथि ढुंगामुढा गर्नुका साथै आगो बालेर सडक अवरुद्ध गरेका थिए। स्थिति तनावग्रस्त बनेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलमा पुगेर अवस्था नियन्त्रणमा लिएको थियो।
शहरकोबीच भागमा रहेको विपी उद्यान परिसरमा हरित तथा मनोरञ्जनात्मक पार्क निर्माण गर्ने महानगरपालिकाको योजना अनुसार उद्यान क्षेत्र खाली गराइएको महानगर प्रमुख राजेशमान सिंहले बताए। उनले भने “विपी उद्यानको जग्गामा हरियाली र सुन्दर पार्क निर्माणको काम अब छिट्टै सुरु गरिनेछ।” यसअघि पनि २०८१ साल पुष २१ गते महानगरपालिकाले हरित पार्क निर्माणको उद्देश्यसहित उद्यानमा अनाधिकृत रूपमा रहेका थोक तरकारी बजारका संरचनामा डोजर चलाएको थियो। तर त्यसपछि पुनः केही थोक तरकारी व्यवसायी र दलित समुदायका व्यक्तिहरूले अस्थायी संरचना बनाएर व्यापार तथा बसोबास गर्दै आएका थिए।
गत शुक्रबार मात्रै महानगरपालिकाको नगर प्रहरी टोलीले विपी उद्यान पुगेर माइकिङ गर्दै जग्गा खाली गर्न आग्रह गरेको थियो। तर अनाधिकृत रूपमा रहेका व्यवसायी र टहरा बनाएर बसेकाहरूले आफैं नहटाएपछि आइतबार बिहान डोजर प्रयोग गरेर उद्यान क्षेत्र खाली गराइएको छ | वर्षौंदेखि अनाधिकृत रूपमा सञ्चालन हुँदै आएका थोक तरकारी तथा फलफुल व्यवसायीहरूका लागि महानगरपालिकाले वीरगन्जको छपकैयाँस्थित रेल्वे रोड छेउमा व्यवस्थित र सुविधासम्पन्न पक्की थोक बजार निर्माण गरिसकेको छ। सो स्थानमा स्थानान्तरण हुन महानगरले पटक–पटक आग्रह गरे पनि व्यवसायीहरू अटेर गर्दै आएको बताइएको छ।
झण्डै १० बिघा क्षेत्रफलमा फैलिएको विपी उद्यानमा अनाधिकृत रूपमा सञ्चालन भएका दर्जनौँ थोक तरकारी पसल, होटल तथा टहराबाट निस्कने फोहोरको उचित व्यवस्थापन नहुँदा महिनौँसम्म कुहिने र दुर्गन्ध फैलिने गरेको थियो। दुर्गन्धका कारण उद्यान छेउ भएर हिँड्ने यात्रुहरू नाक थुनेर हिँड्न बाध्य थिए। शहरकै केन्द्रमा रहेको विपी उद्यानमा अव्यवस्थित, दुर्गन्धित थोक तरकारी बजार, जथाभावी बनाइएका झुप्रा तथा टहराहरूले वीरगन्ज महानगरको सौन्दर्यलाई नै कुरुप बनाएको स्थानीयको गुनासो थियो।
महानगरपालिकाले आइतबार खाली गराएको उद्यान क्षेत्रमा करिब ७० करोड रुपैयाँ खर्चेर सुन्दर, हरियाली र आधुनिक पार्क निर्माण गर्ने योजना अघि बढाएको जनाएको छ। पार्कभित्र मनोरञ्जनात्मक गतिविधिका स्थान, खेलकुद पूर्वाधार तथा ज्येष्ठ नागरिकका लागि समर्पित क्षेत्र निर्माण गरिने छ।यसअघि पनि २०७३ फागुन ८ गते विपी उद्यानमा भएको अतिक्रमण महानगरपालिकाले डोजर लगाएर हटाएको थियो। तर त्यसपछि पुनः व्यापारीहरूले उद्यानको जग्गा कब्जा गरी टहरा बनाएर पसल सञ्चालन गरेका थिए |
सुनसरी, मंसिर २२ गते ।
सुनसरीको रामधुनी नगरपालिका-२ का सिटी रिक्सा चालक ४५ बर्षीय दिनेश कुमार चौधरीलाई असोज २५ गते बेलुकी सवा पाच बजेको समयमा रामधुनी नगरपालिका-२ कर्मनिया टोल स्थित भित्री सडकमा अपरिचित व्यक्तिहरुले गोली प्रहार गरी हत्या गरेको घटनाको अनुसन्धानको क्रममा संलग्न रहेका ७ जनाको समुहलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेहरुमा रामधुनी नगरपालिका १ का ४३ बर्षीय राजेश भन्ने राजकिशोर साह, ४० बर्षीय नन्द किशोर साह, भोक्राहा नरसिंह गाउँपालिका ५ का ३४ बर्षीय मोहमद इब्रान मिया, देवानगन्ज गाउँपालिका ४ का ३७ बर्षीय गियास मन्सुरी, देवानगन्ज ५ का २५ बर्षीय मिथलेश यादव, सप्तरी राजविराज नगरपालिका १६ का २८ बर्षीय अंकित साह र राजबिराज ९ का २८ बर्षीय प्रिन्स कुमार दास रहेका छन ।
गोली प्रहार गरी हत्या गरेको घटनाको अनुसन्धानको क्रममा मृतक दिनेश कुमार चौधरीले तन्त्रमन्त्र गरी लामो समय देखि परिवारका सदस्यहरुलाई बिरामी बनाई दुःख हैरानी दिएको कारण राजकिशोर साह र नन्द किशोर साह समेतले योजना वनाई मोहमद इब्रान मिया लगायतका व्यक्तिहरुसंग रकम लेनदेन गरी दिनेश कुमार चौधरीलाई गोली प्रहार गरी हत्या गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ । घटनामा संलग्न रहेका उनिहरुको मंसिर १७ गते सम्मानित सुनसरी जिल्ला अदालतबाट कर्तव्य ज्यान कसुरमा म्याद थप गरी आवश्यक कानूनी कारवाही तथा थप अनुसन्धान भईरहेको छ ।
वीरगन्ज, २२ मङ्सिर — वीरगन्ज–१३ राधेमाईबाट भारतीय प्रहरीले नेपाल प्रहरीलाई कुनै जानकारी नदिई एक नेपाली नागरिकलाई नियन्त्रणमा लिएर भारत लागेको छ। आइतबार राति भारतीय नम्बरप्लेटको गाडीमा आएका सादा पोशाकधारी भारतीय सुरक्षा कर्मीहरूले पर्सा जिल्ला सखुवा प्रसौनी गाउँपालिका–५, खजुरियाका मेघराज साहलाई नियन्त्रणमा लिएर सीमा पार गराएको परिवारजनले दाबी गरेका छन्।
साह केही समयदेखि वीरगन्ज–१३ राधेमाईमा बस्दै आएका थिए। परिवारका अनुसार तीन जना भारतीय प्रहरी पहिले साहको गाउँ खजुरियामै पुगेका थिए। त्यहाँ उनको खोजी गर्दा नपाएपछि उनीहरू राति नै वीरगन्ज–१३ राधेमाई पुगेका र त्यहींबाट साहलाई समातेर भारततर्फ लगेका थिए।
स्रोतका अनुसार केही दिनअघि भारतमा ५० किलोभन्दा बढी चरेससहित एक व्यक्ति पक्राउ परेका थिए। सो व्यक्तिले दिएको बयानका आधारमा मेघराज साहको नाम जोडिएको हुनसक्ने र त्यसकै आधारमा भारतीय प्रहरी रातारात नेपाल भित्रिई साहलाई लगेको बताइएको छ।
यता जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले भने यसबारे कुनै जानकारी प्राप्त नभएको बताएका छन्। उनले भने, “भारतीय प्रहरीले मान्छे पक्रेर लगेको भए हामीलाई खबर हुन्थ्यो। सायद यो खबर झुट्टो पनि हुनसक्छ।”तर यस बारे सत्य तथ्य पता बुझ्ने प्रयास गरिरहेका छौ|
बारा, कलैया १७ मङ्सिर — बारा जिल्लाको कलैयास्थित यातायात व्यवस्था कार्यालयमा बुधबार साँझ प्रमुख अबिन्द्र दास र खरिदार सत्यनारायण साहबीच कुटाकुट भएको छ। साँझ करिब साढे पाँच बजेतिर कार्यालयमै झगडा चर्किँदै कुटाकुटमा पुगेको प्रहरीले जनाएको छ।
घटनामा खरिदार साहको अनुहारमा चोट लागेर सुन्निएको छ भने कार्यालय प्रमुख दासको अनुहारमा समेत चिरा परेको छ। कुटाकुट भएपछि जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोलीले दुबै जनालाई नियन्त्रणमा लिएको हो।
बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नागेन्द्र कुवरले यातायात व्यवस्था कार्यालय कलैयाको प्रमुख दास र खरिदार साहले कुटाकुट गरेको घटनाको विषय अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय बारा लगिएको बताएका छन्।
बारामा किरण बेभरेज उद्योगका म्यानेजरको हत्या : पूर्व चालकले रिसइवीका कारण गरेको खुलासा
बारा, १४ मङ्सिर – बाराको प्रसौनी–६ भलुहीस्थित किरण बेभरेज नेपाल प्रालिका म्यानेजर रामकिशोर सिंहको हत्या उद्योगका पूर्व चालकले गरेको खुलेको छ। सर्लाही धनकौल–२ का ५० वर्षीय सिंहको घाँटी रेटिएको अवस्थामा मृत अवस्था मंसिर १२ गते बिहान उद्योग नजिकै फेला परेको प्रहरीले जनाएको छ। हत्यामा संलग्न पर्सा वीरगन्ज–२२ मनियारीका २१ वर्षीय पूर्व चालक राजनकुमार राम र उनका ३२ वर्षीय साथी प्रमोद साह तुराहालाई पक्राउ गरिएको छ। राजनकुमार भारततर्फ भाग्दै गर्दा भिस्वा नाकाबाट र प्रमोद आफ्नै गाउँबाट पक्राउ परे।
उद्योगले तोकेको ११० रुपैयाँको पानीलाई ११५–१२० रुपैयाँमा बेचेर अनियमितता गरेको पत्ता लागेपछि म्यानेजर सिंहले मंसिर १० गते राजनकुमारलाई निकालिएको थियो। यही रिसइवीमा उनले मंसिर ११ गते साथीसमेत लिएर उद्योग पुगेर घाँटी रेटी सिंहको हत्या गरेको प्रहरी अनुसन्धानले जनाएको छ। घटनास्थलबाट रगत लागेको छुरा र इँटा बरामद भएका छन्।बारा प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान जारी छ।
बाराका प्रमुख जिल्ला अधिकारीद्वारा आन्दोलनरत ‘जेनजी’ युवालाई वार्ताका लागि आह्वान
सिमरा बारा, ४ कार्तिक – बाराका प्रमुख जिल्ला अधिकारी (सीडीओ) धर्मेन्द्रकुमार मिश्रले आन्दोलनरत ‘जेनजी’ युवालाई वार्ताका लागि आह्वान गरेका छन्। जेनजी अभियानका अगुवा सम्राट उपाध्यायलाई टेलिफोनमार्फत सम्पर्क गर्दै सीडीओ मिश्रले उत्पन्न विषयको समाधान संवादबाट खोज्नुपर्ने आवश्यकता औंल्याए। उपाध्यायका अनुसार सीडीओले जिल्ला प्रशासन कार्यालयमा आएर वार्ता गर्न आग्रह गरेका थिए। तर प्रहरीको लाठीचार्जका कारण धेरै जेनजी युवा घाइते भएको भन्दै प्रशासन कार्यालयसम्म जानु जोखिमपूर्ण हुने उनीहरूको तर्क छ।
“सीडीओ साबले फोन गरेर संवादमै समाधान खोज्नु पर्छ भन्नुभएको छ। तर हामी प्रशासन कार्यालय जाँदा भीड पनि त्यहाँ जाने र थप तनाव हुने सम्भावना छ। त्यसैले उहाँहरू नै यहाँ आइदिनुहोस् भनेर हामीले अनुरोध गरेका छौं,” उपाध्यायले बताए। जेनजी समूहका प्रदर्शनकारीहरूले वार्ता इलाका प्रहरी कार्यालय सिमरामै हुनुपर्ने माग दोहोर्याइरहेका छन्। उनीहरूका अनुसार आन्दोलनकै मूल केन्द्र सिमरा भएकाले वार्ता पनि त्यहीँ निष्पक्ष ढङ्गले हुन सम्भव छ।
अहिले बारामा जेनजी युवाहरूको प्रदर्शन तीव्र बनेको छ भने प्रशासन पक्ष वार्ताबाट समाधान निकाल्न इच्छुक देखिएको छ। तर वार्तास्थानको विषयमा दुवै पक्षबीच सहमति नजुटेसम्म समाधान प्रक्रियामा ढिलाइ हुने देखिएको छ।