आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News बिपी उद्यान अतिक्रमण गरेर अस्थायी रूपमा सञ्चालन हुँदै आएका पसल हटाइयो

बिपी उद्यान अतिक्रमण गरेर अस्थायी रूपमा सञ्चालन हुँदै आएका पसल हटाइयो

106

वीरगंज, २८ मङ्सिर – वीरगन्ज महानगरपालिकाले शहरको मुख्य केन्द्रबिन्दु घण्टाघर छेउमा रहेको विपी उद्यानको जग्गामा अनाधिकृत रूपमा सञ्चालन हुँदै आएको अस्थायी थोक तरकारी तथा फलफुल बजार र फुसका घरटहराहरू आइतबार बिहान डोजर लगाएर हटाएको छ। आइतबार बिहानै देखि नगर प्रहरीको टोलीसहित पुगेको महानगरपालिकाको डोजरले विपी उद्यान क्षेत्र अतिक्रमण गरी सञ्चालनमा रहेका तरकारी बजारका संरचना र केही दलित समुदायले बनाएका फुसका टहराहरू भत्काएर जग्गा खाली गराएको हो।  डोजर चलाउने क्रममा त्यहाँ रहेका केही तरकारी व्यापारी र टहरामा बसोबास गर्दै आएका दलित समुदायले महानगरको डोजर र नगर प्रहरीमाथि ढुंगामुढा गर्नुका साथै आगो बालेर सडक अवरुद्ध गरेका थिए। स्थिति तनावग्रस्त बनेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलमा पुगेर अवस्था नियन्त्रणमा लिएको थियो।

शहरकोबीच भागमा रहेको विपी उद्यान परिसरमा हरित तथा मनोरञ्जनात्मक पार्क निर्माण गर्ने महानगरपालिकाको योजना अनुसार उद्यान क्षेत्र खाली गराइएको महानगर प्रमुख राजेशमान सिंहले बताए। उनले भने “विपी उद्यानको जग्गामा हरियाली र सुन्दर पार्क निर्माणको काम अब छिट्टै सुरु गरिनेछ।” यसअघि पनि २०८१ साल पुष २१ गते महानगरपालिकाले हरित पार्क निर्माणको उद्देश्यसहित उद्यानमा अनाधिकृत रूपमा रहेका थोक तरकारी बजारका संरचनामा डोजर चलाएको थियो। तर त्यसपछि पुनः केही थोक तरकारी व्यवसायी र दलित समुदायका व्यक्तिहरूले अस्थायी संरचना बनाएर व्यापार तथा बसोबास गर्दै आएका थिए।

गत शुक्रबार मात्रै महानगरपालिकाको नगर प्रहरी टोलीले विपी उद्यान पुगेर माइकिङ गर्दै जग्गा खाली गर्न आग्रह गरेको थियो। तर अनाधिकृत रूपमा रहेका व्यवसायी र टहरा बनाएर बसेकाहरूले आफैं नहटाएपछि आइतबार बिहान डोजर प्रयोग गरेर उद्यान क्षेत्र खाली गराइएको छ | वर्षौंदेखि अनाधिकृत रूपमा सञ्चालन हुँदै आएका थोक तरकारी तथा फलफुल व्यवसायीहरूका लागि महानगरपालिकाले वीरगन्जको छपकैयाँस्थित रेल्वे रोड छेउमा व्यवस्थित र सुविधासम्पन्न पक्की थोक बजार निर्माण गरिसकेको छ। सो स्थानमा स्थानान्तरण हुन महानगरले पटक–पटक आग्रह गरे पनि व्यवसायीहरू अटेर गर्दै आएको बताइएको छ।

झण्डै १० बिघा क्षेत्रफलमा फैलिएको विपी उद्यानमा अनाधिकृत रूपमा सञ्चालन भएका दर्जनौँ थोक तरकारी पसल, होटल तथा टहराबाट निस्कने फोहोरको उचित व्यवस्थापन नहुँदा महिनौँसम्म कुहिने र दुर्गन्ध फैलिने गरेको थियो। दुर्गन्धका कारण उद्यान छेउ भएर हिँड्ने यात्रुहरू नाक थुनेर हिँड्न बाध्य थिए। शहरकै केन्द्रमा रहेको विपी उद्यानमा अव्यवस्थित, दुर्गन्धित थोक तरकारी बजार, जथाभावी बनाइएका झुप्रा तथा टहराहरूले वीरगन्ज महानगरको सौन्दर्यलाई नै कुरुप बनाएको स्थानीयको गुनासो थियो।

महानगरपालिकाले आइतबार खाली गराएको उद्यान क्षेत्रमा करिब ७० करोड रुपैयाँ खर्चेर सुन्दर, हरियाली र आधुनिक पार्क निर्माण गर्ने योजना अघि बढाएको जनाएको छ। पार्कभित्र मनोरञ्जनात्मक गतिविधिका स्थान, खेलकुद पूर्वाधार तथा ज्येष्ठ नागरिकका लागि समर्पित क्षेत्र निर्माण गरिने छ।यसअघि पनि २०७३ फागुन ८ गते विपी उद्यानमा भएको अतिक्रमण महानगरपालिकाले डोजर लगाएर हटाएको थियो। तर त्यसपछि पुनः व्यापारीहरूले उद्यानको जग्गा कब्जा गरी टहरा बनाएर पसल सञ्चालन गरेका थिए |