रौतहट, २४ पुस – रौतहटको गढीमाई नगरपालिकामा बुधबार एकैदिन बौलाहा कुकुरको आक्रमणबाट ४८ भन्दा बढी व्यक्ति घाइते भएका छन्। घाइतेमध्ये बालबालिका, महिलाहरु र बृद्धबृद्धा रहेका छन्।
गौर प्रादेशिक अस्पतालका प्रमुख डा. मुरारी ठाकुरका अनुसार, घाइतेमध्ये ५ जनाको टाउकोमा चोट लागेपछि वीरगन्जमा उपचार भइरहेको छ भने बाँकी ४३ जनालाई एन्टी रेबिज भ्याक्सिन (एआरभी) दिइएको छ। डा. ठाकुरले टाउकोमा चोट लागेर संवेदनशील भएका बिरामीलाई उपचारका लागि बाहिर पठाइएको जानकारी दिए।
घाइतेहरुको विवरण प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाललाई समेत जानकारी गराइएको छ। गौर अस्पतालका अनुसार बौलाहा कुकुरले मुख्य रूपमा गढीमाई नगरपालिकाका १, ४, ६ र ८ नम्बर वडामा घर तथा बाटोमा हिँडिरहेका बालबालिका, वृद्धवृद्धा र महिलालाई टोकेको थियो। अधिकांश घाइतेको गाला, हात र टाउकोमा चोट लागेको छ।
बौलाहा कुकुरको आक्रमण बढेसँगै स्थानीयबासीमा ठूलो त्रास फैलिएको छ। नगरपालिकाका मेयर श्याम यादवले कुकुर नियन्त्रणका लागि प्रहरीलाई आग्रह गरेको बताए। उनले भने, “बालबालिकालाई विद्यालय पठाउन र वृद्धवृद्धालाई घरबाहिर निस्कन त्रासको अवस्था सिर्जना भएको छ। हामी सबैलाई सचेत गराएका छौं।”
उत्सव खबर
काठमाडौं, २४ पुस- राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डीन आर थम्सनले आज राष्ट्रपति भवन, शीतल निवासमा बिदाइ भेट गरेका छन् ।
भेटका अवसरमा नेपाल–अमेरिका द्विपक्षीय सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । छलफलमा दुई देशबीचको दीर्घकालीन मित्रता, सहकार्य र आपसी समझदारीलाई थप सुदृढ बनाउने विषयमा विचार–विमर्श भएको बताइएको छ ।
राष्ट्रपति पौडेलले आफ्नो कार्यकालमा नेपाल–अमेरिका सम्बन्ध सुदृढीकरणमा पुर्याएको योगदानका लागि राजदूत थम्सनप्रति धन्यवाद व्यक्त गर्दै भविष्यमा पनि दुई देशबीचको सम्बन्ध अझ प्रगाढ हुँदै जाने विश्वास व्यक्त गरेका थिए ।
राजदूत थम्सनले नेपालमा रहँदा प्राप्त सहयोग र सद्भावप्रति आभार प्रकट गर्दै नेपाल–अमेरिका सम्बन्ध आगामी दिनमा थप मजबुत हुने विश्वास व्यक्त गरेका थिए ।
काठमाडौं, २४ पुस – नेपाल सरकारद्वारा नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ मन्त्रिपरिषद्बाट स्वीकृत भई राजपत्रमा प्रकाशित भएसँगै नेपाली नागरिक आमाबाट जन्मिएका सन्तानले आमाको नामबाट नागरिकता प्राप्त गर्ने व्यवस्था कार्यान्वयनमा आएको छ।
यसअघि, नेपाल नागरिकता (दोस्रो संशोधन) ऐन, २०८२ ले आमाबाट नागरिकता प्राप्त गर्न सकिने कानुनी व्यवस्था सुनिश्चित गरेको थियो। उक्त ऐन गत असोज ५ गते राष्ट्रपतिबाट प्रमाणीकरण भएको थियो।
अब नागरिकता नियमावलीमा गरिएको चौथो संशोधनले ऐनमा व्यवस्था गरिएका प्रावधानलाई व्यावहारिक रूपमा लागू गर्न आधार तयार गरेको हो।
नागरिकता नियमावलीको संशोधनसँगै ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र जारी गरिएको छ र प्रमुख जिल्ला अधिकारीहरूले आवश्यक छानबिन गरी नागरिकता प्रदान गर्न सक्ने भएका छन्।
नयाँ व्यवस्था के-के छन्
बाबु वा आमा मध्ये एकले जन्मको आधारमा नागरिकता प्राप्त गरेकोमा नागरिकता नपाउँदै मृत्यु वा सम्पर्कविहिन भएकाको सन्तानले आवश्यक कागजात पूरा गरे नागरिकता पाउन सक्ने।
नेपाली आमाबाट विदेशमा जन्मिएका, बाबुको पहिचान खुल्न नसकेका र विदेशको नागरिकता नलिएका, नेपालमा स्थायी बसोबास गरेका व्यक्तिले नागरिकता पाउन सक्ने।
नागरिकता जारी गर्दा स्वघोषणालाई महत्वपूर्ण आधार मानिने र त्यसको ढाँचाको व्यवस्था गरिएको।
वैवाहिक अङ्गीकृत बाहेकका अन्य नागरिकताका निर्णय गृह मन्त्रालयको सट्टा प्रमुख जिल्ला अधिकारीलाई अधिकार प्रत्यायोजन गरिएको।
नाबालक परिचयपत्र वितरण र विदेशी महिलाले नेपाली पुरुषसँग विवाह गर्दा वैवाहिक अङ्गीकृत नागरिकता दिने प्रक्रिया पनि नियमावलीले समेटेको छ।
काठमाडौं, २३ पुस। काठमाडौंको शंखरापुर नगरपालिका–स्थित फेदी जंगलमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
जर्सिङपौवाबाट पिकनिक मनाएर साँखुतर्फ फर्किने क्रममा बुधबार महानगर यातायातको बा ४ ख ८७८८ नम्बरको बस दुर्घटनामा परेको हो । दुर्घटनामा बस सडकबाट करिब १०० मिटर तल खसेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीका अनुसार दुर्घटनामा परेर तीन जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य यात्रुहरू पनि घाइते भएका छन् ।
घाइतेहरूलाई उद्धार गरी उपचारका लागि नजिकका अस्पतालमा पठाइएको छ । दुर्घटनाको कारण खुल्न नसके पनि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
उक्त बसमा पिकनिकका लागि गएका ४० जना यात्रुहरू सवार थिए । सडक साँघुरो र ओरालो भएकाले दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।
वीरगञ्जको कर्फ्यू हटाइयो
वीरगंज, २२ पुस- दुई धार्मिक समुदायबीच उत्पन्न तनावपछि वीरगञ्जमा हिजो सोमवार साँझ ६ बजेदेखि लगाइएको कर्फ्यू आदेश हटाइएको छ। मंगलबार बिहान ९ बजेदेखि ४ बजेसम्म सम्पन्न सर्वपक्षीय बैठकबाट पाँच बुँदे सहमति भएपछि कर्फ्यू हटाइएको पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिनुभयो।
स्थानीय प्रशासनले यसअघि आज साँझ ६ बजेसम्म कर्फ्यू अवधि थप गरेको थियो। तर सर्वपक्षीय बैठकमा भएको सहमति र जिल्लाको शान्ति सुरक्षा अवस्था क्रमशः सुदृढ हुँदै गएको निष्कर्षका आधारमा कर्फ्यू हटाउने निर्णय गरिएको हो।
प्रमुख जिल्ला अधिकारी दाहालद्वारा जारी सूचनामा भनिएको छ, “सर्वपक्षीय बैठकमा भएको सहमति, हाल जिल्लाको शान्ति सुरक्षा व्यवस्था सुदृढ हुँदै गएको, नागरिकको स्वतन्त्र आवागमन तथा व्यापार–व्यवसायलगायत गतिविधि निर्वाध रूपमा सञ्चालन गर्न दिनु आवश्यक देखिएकाले मिति २०८२-०९-२२ गते अपरान्ह ३:३० बजेदेखि लागू हुने गरी कर्फ्यू आदेश हटाइएको प्रशासनले जनाएको छ।”
कर्फ्यू हटेसँगै वीरगञ्जमा जनजीवन सामान्य बन्दै गएको छ। बजार, यातायात तथा दैनिक गतिविधिहरू क्रमशः सञ्चालनमा आएका छन्। प्रशासनले सबै पक्षलाई संयमता अपनाउन र शान्ति सुव्यवस्था कायम राख्न सहयोग गर्न आग्रह गरेको छ।

झापा, १९ पुस – झापाको भद्रपुर विमानस्थलमा अवतरणका क्रममा रन–वेबाट चिप्लिएर दुर्घटनामा परेको बुद्ध एयरको विमानबारे अध्ययन गर्न प्राविधिक सहितको उच्चस्तरीय टोली त्यसतर्फ प्रस्थान गर्दैछ।
शुक्रबार राति ९ एन–एमएफ कलसाइन भएको बुद्ध एयरको एटीआर–७२ विमान भद्रपुर विमानस्थलमा अवतरण गर्ने क्रममा रन–वेबाट चिप्लिएर दुर्घटनामा परेको थियो। दुर्घटनापछि नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक देवचन्द्र लाल कर्ण, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक टेकनाथ सिटौला, बुद्ध एयरको उच्च व्यवस्थापन, नेपाली सेना, उद्धारकर्मी तथा इन्जिनियर–प्राविधिक सम्मिलित टोली चन्द्रगढी उड्न लागेको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थानको तयारी गरिरहेका महाप्रबन्धक सिटौलाले जानकारी दिँदै भने दुर्घटनाबारे प्राविधिक टोलीले स्थलगत चेकजाँच गर्ने बताए। टोलीले जहाजको अवस्था, रन–वे स्थिति तथा अन्य प्राविधिक पक्षको अध्ययन गरेपछि दुर्घटनाको सम्भावित कारणबारे विस्तृत जानकारी सार्वजनिक गरिने जनाइएको छ।
नागरिक उड्डयन प्राधिकरणका अनुसार दुर्घटनाका बेला विमानमा ५१ जना सवार थिए। सबै यात्रु तथा चालकदलका सदस्य सकुशल रहेका छन्। दुर्घटनापछि तत्काल उद्धार कार्य गरिएको थियो।
दुर्घटनाको कारण पत्ता लागेपछि आवश्यक सुधारात्मक कदम चालिने प्राधिकरणले जनाएको छ।
सुनसरी, १७ पुस — सुनसरीको कोशी गाउँपालिका–१ मा सशस्त्र प्रहरीको गोली लागेर स्थानीय ४५ वर्षीय विजय साहको मृत्यु भएपछि उत्पन्न तनाव अन्त्य गर्न पाँच बुँदे सहमति भएको छ।
बुधबार राति करिब १ बजे भारतबाट सिटी सफारीमार्फत सामान लिएर नेपाल फर्कँदै गरेका साहमाथि सशस्त्र प्रहरीले गोली चलाउँदा उनको घटनास्थलमै मृत्यु भएको थियो। घटनापछि स्थानीयवासी र पीडित पक्ष आन्दोलित बनेका थिए। आन्दोलनका क्रममा स्थानीय र प्रहरीबीच दिउसो ३ बजेसम्म झडपसमेत भएको थियो भने सशस्त्र प्रहरीको सीमा सुरक्षा पोष्टमा आक्रमण भएको बताइएको छ।
बिहीबार जिल्ला प्रशासन कार्यालय सुनसरीमा जिल्ला प्रशासन, सुरक्षा निकायका प्रतिनिधि र पीडित पक्षबीच भएको वार्तामा घटनाको निष्पक्ष छानबिन गर्ने, मृतकका परिवारलाई उचित क्षतिपूर्ति प्रदान गर्ने तथा परिवारका सदस्यलाई रोजगारीको व्यवस्था गर्ने लगायतका विषयमा पाँच बुँदे सहमति जुटेको हो।
सहमति कार्यान्वयनसँगै क्षेत्रको अवस्था सामान्य बनाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी चन्द्र खड्काले जानकारी दिए। उनका अनुसार सुरक्षा व्यवस्था सुदृढ बनाइएको छ भने शान्ति कायम राख्न स्थानीयसँग समन्वय भइरहेको छ।
घटनाको विस्तृत छानबिनका लागि सम्बन्धित निकायबाट समिति गठन गरिने र दोषी देखिए कानुनी कारबाही अघि बढाइने प्रशासनले जनाएको छ।
पेट्रोलियम पदार्थको मूल्य घट्यो
काठमाडौं, १६ पुस- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले बिहीबारदेखि लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य घटाएको हो।
निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँले घटाइएको छ भने डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटाइएको छ। मूल्य समायोजनसँगै उपभोक्तालाई केही राहत पुग्ने अपेक्षा गरिएको छ।
त्यस्तै, हवाई इन्धनतर्फ पनि मूल्य घटाइएको छ। आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ६ रुपैयाँले घटाइएको छ भने अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ काठमाडौंका लागि प्रतिकिलोलिटर अमेरिकी डलर ४२ ले मूल्य घटाइएको निगमले जनाएको छ।
यसैबीच, अन्तर्राष्ट्रिय बजारमा एल.पी. ग्याँसको मूल्य बढेर आएको भए पनि उपभोक्ताको हितलाई ध्यानमा राख्दै एल.पी. ग्याँसको बिक्री मूल्य भने यथावत् राखिएको निगमले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।
निगमले अन्तर्राष्ट्रिय बजारको मूल्य उतारचढाव अनुसार पेट्रोलियम पदार्थको मूल्य समय–समयमा समायोजन गर्दै आएको छ।

थाइल्याण्डबाट ल्याइएको गाँजा सहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना पक्राउ
काठमाडौं, १५ पुस। थाइल्याण्डबाट नेपाल ल्याइएको ठूलो परिमाणको लागु औषध गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा नियाज नाम गरेका ३१ वर्षीय भारतीय नागरिक रहेका छन्। उनलाई विमानस्थल सुरक्षा प्रहरी कार्यालय र भन्सार कार्यालयको संयुक्त टोलीले सोमबार राति पक्राउ गरेको हो।
प्रहरीका अनुसार नेपाल एयरलाइन्सको उडानमार्फत बैंककबाट काठमाडौं आएका नियाजको लगेज जाँचका क्रममा १२ किलो ७ सय ५० ग्राम गाँजा फेला परेको थियो। शंकास्पद गतिविधि देखिएपछि गरिएको विस्तृत जाँचमा उक्त लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ।
पक्राउ परेका नियाजलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ
पर्सा, १५ पुस- पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका–५ मा अवस्थित धार्मिक तथा ऐतिहासिक महत्व बोकेको श्री पारसनाथ महादेव मन्दिर (महुवन मठ) को लामो समयदेखि अतिक्रमित जग्गा खाली गराउन सरकारी निकायहरू सक्रिय भएका छन् ।
गुठी संस्थान र सखुवा प्रसौनी गाउँपालिकाले संयुक्त रूपमा अतिक्रमणकारीहरूलाई ७ दिनभित्र अनधिकृत संरचना हटाउन अन्तिम अल्टिमेटम दिएका छन् । गुठी संस्थान शाखा कार्यालय वीरगञ्जकी प्रमुख उर्मिला आचार्यले पत्र जारी गर्दै महुवन मठको नाममा दर्ता रहेको कित्ता नम्बर २७६ को ५ बिघा १७ कट्ठा १४ धुर जग्गा मा निर्माण गरिएका घर–टहरा तोकिएको समयसीमाभित्र हटाउन निर्देशन दिएको छ । सोही पत्रका आधारमा सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवले पनि सार्वजनिक सूचना जारी गर्दै अतिक्रमण तत्काल हटाई धार्मिक सम्पत्तिको संरक्षणमा सहयोग गर्न आग्रह गरेका छन् । उनले अटेर गरेमा कानुनअनुसार बल प्रयोग गरी संरचना हटाइने र त्यसको सम्पूर्ण खर्च अतिक्रमणकारीबाटै असुल गरिने चेतावनी दिएका छन् ।
महुवन मठको जग्गा लामो समयदेखि विवादित रहँदै आएको थियो । राजनीतिक हस्तक्षेप र दबाबका कारण समस्या समाधान हुन नसकेको स्थानीयहरूको गुनासो थियो । स्थानीय बासिन्दा उप्रान्त यादवका अनुसार राजनीतिक दाउपेच र पूर्वाग्रहकै कारण जग्गा खाली हुन सकेको थिएन । “अहिले दुवै निकायका प्रमुखहरूले हस्ताक्षर गरेर पत्र जारी गरेपछि मठको सम्पत्ति जोगिने आशा जागेको छ,” उनले भने । स्थानीयवासीहरूले यसपटक राजनीतिक प्रभावबिना निष्पक्ष कारबाही हुने विश्वास व्यक्त गरेका छन् । ७ दिनभित्र स्वतः संरचना नहटाएमा सुरक्षा निकायको सहयोगमा डोजर प्रयोग गरी अतिक्रमण हटाउने तयारी गाउँपालिकाले गरेको जनाइएको छ ।
घटनाले धार्मिक तथा ऐतिहासिक सम्पदाको संरक्षणमा नयाँ आशा जगाएको छ भने वर्षौंदेखि अल्झिएको जग्गा विवाद अब छिट्टै टुंगिने संकेत देखिएको छ ।
