तेहरान, इरान-२७ पुस
इरानमा सरकार विरोधी प्रदर्शन थप हिंसात्मक बन्दै जाँदा कम्तीमा २१७ जनाको मृत्यु भएको दाबी गरिएको छ। देशको खस्कँदो आर्थिक अवस्था, तीव्र महँगी र बढ्दो बेरोजगारीको विरोधमा सुरु भएका प्रदर्शनहरू अहिले व्यापक दमन र हिंसामा परिणत भएका छन्।

प्रदर्शनको सुरुवात सन् २०२५ डिसेम्बर २८ बाट भएको हो। अन्तर्राष्ट्रिय सञ्चार माध्यम टाइम म्यागजिन ले तेहरानका एक चिकित्सकलाई उद्धृत गर्दै राजधानीका छ वटा अस्पतालमा मात्रै कम्तीमा २१७ प्रदर्शनकारीको मृत्यु दर्ता गरिएको जनाएको छ। तीमध्ये अधिकांशको मृत्यु गोली लागेर भएको बताइएको छ।
यसैबीच, बीबीसी ले शुक्रबार राति उत्तरी सहर रश्तको एउटा अस्पतालमा मात्र ७० जनाको शव ल्याइएको पुष्टि गरेको छ। अन्य सहरहरूबाट पनि ठूलो संख्यामा घाइतेहरू अस्पताल ल्याइँदै गरिएको जनाइएको छ। अस्पतालहरूमा उपचारको चाप अत्यधिक बढेको र स्वास्थ्य सेवा प्रभावित भएको बताइएको छ।

इरानी सुरक्षाबलले प्रदर्शन चर्किएपछि विभिन्न स्थानमा गोलाबारी गरेको आरोप लागेको छ। अधिकारीहरूले प्रदर्शनकारीहरूलाई कडा चेतावनी दिँदै उनीहरूलाई ‘अपराधी’ ठहर गर्न सकिने बताएका छन्, जसको सजाय मृत्युदण्डसमेत हुन सक्छ।
सरकारले स्थिति नियन्त्रणमा लिन देशभर इन्टरनेट र फोन सेवा लगभग बन्द गरेको छ भने सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ। रिभोलुसनरी गार्ड्सका एक अधिकारीले अभिभावकहरूलाई आफ्ना छोराछोरीलाई प्रदर्शनबाट टाढा राख्न चेतावनी दिएका छन्।
अन्तर्राष्ट्रिय समुदायले घटनाप्रति चासो व्यक्त गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रदर्शनकारीहरूको हत्या भए इरानी सरकारले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन्।
विज्ञहरूका अनुसार प्रदर्शन मध्यम वर्गीय क्षेत्रसम्म फैलिएकाले आगामी दिनमा सरकारी दमन अझ कडा हुन सक्ने देखिन्छ। इरान हाल अन्तर्राष्ट्रिय प्रतिबन्ध, कमजोर अर्थतन्त्र, ऊर्जा संकट र क्षेत्रीय तनावका कारण थप अस्थिर बन्दै गएको छ।

