बारा, १४ माघ —बारा जिल्लाको परवानीपुर गाउँपालिका–१ रहरियाडीमा अज्ञात व्यक्तिको आक्रमणबाट आमा–छोराको हत्या भएको छ। एकै परिवारकी ४६ वर्षीया सुमित्रा देवी मण्डल र उनका २४ वर्षीय छोरा रामेश्वर मण्डलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) विजयराज पण्डितका अनुसार आज बिहान करिब ३ बजेतिर अज्ञात व्यक्तिले धारिलो हतियार प्रहार गर्दा आमा र छोराको ज्यान गएको हो।
उक्त घटनामा परिवारकै ५० वर्षीय जगरूप मण्डल र २२ वर्षीया छोरी रिना कुमारी गम्भीर घाइते भएका छन्। घाइते दुवै जनाको परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
हत्या कसले र किन गरेको भन्ने विषयमा हालसम्म खुल्न नसकेको र घटनाको थप अनुसन्धान भइरहेको डिएसपी पण्डितले जानकारी दिएका छन्। प्रहरीले घटनास्थलको मुचुल्का उठाई आवश्यक प्रमाण संकलन गर्दै अनुसन्धान अघि बढाएको जनाएको छ।



