भरतपुर, १३ माघ – चितवन, भरतपुर महानगरपालिकाका तत्कालीन वरिष्ठ इन्जिनियर भरतकुमार आचार्यविरुद्ध करिब पौने ७ करोड रुपैयाँको भ्रष्टाचार मुद्दा दायर भएको छ। सार्वजनिक पद को दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार आचार्यविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।
अख्तियारले आचार्यविरुद्ध ६ करोड ७८ लाख ९१ हजार १५ रुपैयाँ बिगो कायम गर्दै बिगोबमोजिम जरिवाना, कैद सजाय तथा भ्रष्टाचारबाट आर्जन गरिएको वा बढाइएको सम्पत्ति जफतको मागदाबी लिएको छ भने सम्पत्ति जफत प्रयोजनका लागि उनकी पत्नी लिली सुवेदीलाई पनि प्रतिवादी बनाइएको छ।
वरिष्ठ इन्जिनियर (अधिकृत आठौँ तह) का रूपमा कार्यरत रहँदा पदीय मर्यादाविपरीत गैरकानुनी सम्पत्ति आर्जन गरेको उजुरीपछि गरिएको अनुसन्धानमा आचार्यको २०४८ माघ ६ देखि २०८० असार ६ सम्मको सम्पत्ति विवरण जाँच गर्दा आयभन्दा व्यय बढी देखिएको र स्रोत नखुलेको रकम भ्रष्टाचारमार्फत आर्जन गरिएको ठहर गर्दै अख्तियारले अभियोग दायर गरेको जनाएको छ।