राजु साह
उत्सव खबर वीरगंज
असार २२, वीरगंज — बिरगंज महानगरपालिका वडा नं. २ अन्तर्गत रहेको श्रीताराचन्द किसनलाल विद्यालयमा आज एक विशेष कार्यक्रमको आयोजना गरी गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई स्कुल ब्याग वितरण गरिएको छ। कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष महमद रेयाज मिया स्वयं उपस्थित भई विद्यार्थीहरूलाई स्कुल ब्याग हस्तान्तरण गर्नुभएको हो। वडा अध्यक्ष रेयाज मियाले विद्यालयमा अध्ययनरत आर्थिक रूपमा कमजोर तर प्रतिभाशाली विद्यार्थीहरूलाई प्रोत्साहनस्वरूप स्कुल ब्याग, कापी, कलम, र खेलकुदका सामग्रीहरू समेत वितरण गर्नुभएको छ। उहाँले भन्नुभयो, म स्वयं यही विद्यालयको पूर्व विद्यार्थी भएकाले यो संस्थाप्रति मेरो विशेष लगाव छ। अहिलेसम्म जति सकिन्छ सहयोग गर्दै आएको छु र आगामी दिनहरूमा पनि निरन्तर साथ रहनेछु। कार्यक्रममा विद्यालयका प्रधानाध्यापकले वडा अध्यक्षलाई गम्छा ओढाएर स्वागत गरे। कार्यक्रममा वडा सदस्य बसिर मिया हजाम, अपिर महमद अंसारी, विद्यालयका शिक्षक(शिक्षिकाहरू, सामुदायिक प्रहरी, स्थानीय अभिभावक तथा समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। विद्यालय व्यवस्थापन समितिले यस प्रकारको सहयोगले विद्यार्थीहरूमा सकारात्मक प्रभाव पार्ने र पढाइप्रति अझ उत्साह बढाउने विश्वास व्यक्त गरेको छ।
विचार
राजु साह
उत्सव खबर वीरगन्ज, १९ असार — वीरगन्ज महानगरपालिकाले सुरु गरेको मुख्य सडक विस्तारको कामप्रति आपत्ति जनाउँदै प्रभावित घरधनीहरुले शुक्रबार बिहान बजार बन्द गर्ने घोषणा गरेका छन्। वीरगन्ज बचाउ संघर्ष समिति र वीरगन्ज युवा तथा व्यापारी सडक पीडित संघर्ष समितिको संयुक्त बैठकले बिहीबार राणीसती धर्मशालामा निर्णय गर्दै भोलि असार २० गते शुक्रबार बिहानदेखि ११ बजेसम्म बजार बन्दको आह्वान गरेको हो। साथै, विरोधस्वरूप मेनरोड क्षेत्रका प्रत्येक घरमा कालो झण्डा राखिने निर्णय गरिएको छ। समितिका अध्यक्ष जवाहर गुप्ताले भने, “महानगरपालिकाले तोकेको सीमाभन्दा बाहिर गएर तोडफोड गरेको छ, यसले घरधनीहरू अन्यायमा परेका छन्।” उनका अनुसार, प्रभावित पक्षले मंगलबार जिल्ला प्रशासन कार्यालय पर्सामा प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई ज्ञापनपत्र बुझाउँदै तत्काल संरचना भत्काउने कार्य रोक्न माग गरेका थिए। यता वीरगन्ज महानगरपालिकाले भने सर्वोच्च अदालतको आदेश अनुसार भन्सार क्षेत्रदेखि मितेरी पुलसम्मको सडक विस्तारको काम अघि बढाइएको जनाएको छ। सोमबारदेखि डोजर प्रयोग गरी गण्डकदेखि मितेरी पुलसम्मको मुख्य सडक क्षेत्रभित्र पर्ने संरचना हटाउने काम सुरु गरिएको हो। महानगरका अनुसार यो काम सर्वोच्च अदालतको फैसला कार्यान्वयन अन्तर्गत भइरहेको भए पनि स्थानीय बासिन्दाले कार्यप्रणालीप्रति असन्तुष्टि जनाएका छन्। उनीहरूको भनाइ छ— “महानगरले हाम्रो कानुनी अधिकार नटेरी जबर्जस्ती डोजर लगाइरहेको छ, यो गैरकानुनी हो।” सडक विस्तारले दीर्घकालीन फाइदा पुर्याउने भए पनि प्रभावित नागरिकको हक र सम्मान सुनिश्चित गर्नु राज्यको जिम्मेवारी हो।
६ वर्षीया बालिकामाथि अपहरण, बलात्कार र हत्या गर्ने अभियुक्त दम्पती ५ वर्षपछि पक्राउ
महोत्तरी, असार १५ उत्सव खबर— महोत्तरी जिल्लामा पाँच वर्षअघि घटेको एक हृदयविदारक आपराधिक घटनाका मुख्य अभियुक्त र उनीकी श्रीमतीलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीले ५ वर्षपछि पक्राउ गरेको छ। २०७७ साल मंसिर ७ गते दिउँसो करिब ४:३० बजे बर्दिबास नगरपालिका–१५ निवासी ६ वर्षीया बालिका गुलावसा खातुनलाई चकलेट किन्न घर नजिकैको पसल जाँदै गर्दा बाटोमै अपहरण गरी बलात्कारपछि हत्या गरिएको थियो। उक्त घटनाले त्यसबेला देशभर व्यापक चर्चा पाएको थियो। घटनामा संलग्न रहि भारतमा लुकिछिपि बस्दै आएका अभियुक्तहरू — गौशाला नगरपालिका–५ घर भई हाल बर्दिबास नगरपालिका–१४, शुभम बस्ती टोलमा बस्दै आएका ६० वर्षीय राजकिशोर साह र उनकी पत्नी ५१ वर्षीया सुशीला देवी साहलाई प्रहरीले जलेश्वर नगरपालिका–१२, नैन्हीबाट पक्राउ गरेको हो। प्रहरीका अनुसार, राजकिशोर साहले बालिकालाई अपहरण गरी बलात्कार गरेका थिए भने उनकी पत्नी सुशीलाले शव लुकाउन तथा प्रमाण नष्ट गर्न सहयोग गरेकी थिइन्। घटना लगत्तै दम्पती फरार भई भारतमा आश्रय लिइरहेका थिए।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुखले पत्रकार सम्मेलनमा जानकारी दिँदै भने, “बालिकामाथिको यो क्रुर अपराधमा संलग्न रहेका दुवै जनालाई हाम्रो विशेष निगरानी र सूचनाको आधारमा पक्राउ गरिएको हो। पाँच वर्षपछि न्याय प्रक्रियामा ल्याउनु प्रहरीको महत्वपूर्ण सफलता हो।” पक्राउ परेका अभियुक्तहरूलाई मुलुकी अपराध संहिता, २०७४ अनुसार अपहरण, शरीर बन्धक, जबरजस्ती करणी र हत्या जस्ता गम्भीर अभियोगहरूमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
एसईई मा चार जीपीए ल्याउने छात्राहरुलाई बुटवल-१२ को नयाँगाउँ माविद्वारा ५१ हजार रुपैयाँसहित सम्मान
बुटवल, असार १५ उत्सव खबर— बुटवल उपमहानगरपालिका–१२ स्थित नयाँगाउँ माध्यमिक विद्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उल्लेखनीय सफलता हासिल गर्ने छात्राहरुलाई जनही ५१ हजार रुपैयाँ पुरस्कार प्रदान गर्दै भव्य सम्मान कार्यक्रम आयोजना गरेको छ। विद्यालयमा अध्ययरत सम्झना घिमिरे, समिपा अधिकारी र रविना अधिकारी ले एसईई परीक्षामा जिपिए ४.०० (पूर्ण ग्रेड) ल्याएपछि आइतबार विद्यालयले उनीहरुको सम्मानमा नगर परिक्रमा गराएको हो। कार्यक्रममा विद्यालय प्रशासन, शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीय समाजसेवीहरूको उपस्थिति रहेको थियो। छात्राहरुलाई अविरमाला लगाई स्कुलबाट सुरु भएको परिक्रमा नगरको विभिन्न मुख्य सडक हुँदै पुनः विद्यालयमै समापन गरिएको थियो।
विद्यालयका प्रधानाध्यापक पुरुषोत्तम भट्टराईले भने, “हाम्रो विद्यालयमा शिक्षाको गुणस्तर निरन्तर उकासिँदै गएको छ। यी छात्राहरुको मेहनत र परिवारको साथले आज विद्यालयको गौरव बढाएको छ। यिनको सफलतालाई प्रोत्साहनस्वरूप ५१–५१ हजार रुपैयाँ प्रदान गरेका हौं।” नगर परिक्रमा गर्ने क्रममा स्थानीयवासीले फूलमालासहित स्वागत गरेका थिए। सम्मानित छात्राहरुले आफूहरुको मेहनतको कदर भएको भन्दै विद्यालय र शिक्षकप्रति आभार व्यक्त गरे। यसैक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्षले भने, “नयाँगाउँ माविमा अब गुणस्तरीय शिक्षामार्फत उत्कृष्ट विद्यार्थी उत्पादन गर्न अझ सशक्त योजना ल्याइनेछ।” स्थानीय तह तथा शिक्षा क्षेत्रमा यो सम्मान कार्यक्रम प्रेरणादायी कदमका रूपमा हेरिएको छ।