राजु साह
उत्सव खबर वीरगन्ज, १९ असार — वीरगन्ज महानगरपालिकाले सुरु गरेको मुख्य सडक विस्तारको कामप्रति आपत्ति जनाउँदै प्रभावित घरधनीहरुले शुक्रबार बिहान बजार बन्द गर्ने घोषणा गरेका छन्। वीरगन्ज बचाउ संघर्ष समिति र वीरगन्ज युवा तथा व्यापारी सडक पीडित संघर्ष समितिको संयुक्त बैठकले बिहीबार राणीसती धर्मशालामा निर्णय गर्दै भोलि असार २० गते शुक्रबार बिहानदेखि ११ बजेसम्म बजार बन्दको आह्वान गरेको हो। साथै, विरोधस्वरूप मेनरोड क्षेत्रका प्रत्येक घरमा कालो झण्डा राखिने निर्णय गरिएको छ। समितिका अध्यक्ष जवाहर गुप्ताले भने, “महानगरपालिकाले तोकेको सीमाभन्दा बाहिर गएर तोडफोड गरेको छ, यसले घरधनीहरू अन्यायमा परेका छन्।” उनका अनुसार, प्रभावित पक्षले मंगलबार जिल्ला प्रशासन कार्यालय पर्सामा प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई ज्ञापनपत्र बुझाउँदै तत्काल संरचना भत्काउने कार्य रोक्न माग गरेका थिए। यता वीरगन्ज महानगरपालिकाले भने सर्वोच्च अदालतको आदेश अनुसार भन्सार क्षेत्रदेखि मितेरी पुलसम्मको सडक विस्तारको काम अघि बढाइएको जनाएको छ। सोमबारदेखि डोजर प्रयोग गरी गण्डकदेखि मितेरी पुलसम्मको मुख्य सडक क्षेत्रभित्र पर्ने संरचना हटाउने काम सुरु गरिएको हो। महानगरका अनुसार यो काम सर्वोच्च अदालतको फैसला कार्यान्वयन अन्तर्गत भइरहेको भए पनि स्थानीय बासिन्दाले कार्यप्रणालीप्रति असन्तुष्टि जनाएका छन्। उनीहरूको भनाइ छ— “महानगरले हाम्रो कानुनी अधिकार नटेरी जबर्जस्ती डोजर लगाइरहेको छ, यो गैरकानुनी हो।” सडक विस्तारले दीर्घकालीन फाइदा पुर्याउने भए पनि प्रभावित नागरिकको हक र सम्मान सुनिश्चित गर्नु राज्यको जिम्मेवारी हो।