महोत्तरी, असार १५ उत्सव खबर— महोत्तरी जिल्लामा पाँच वर्षअघि घटेको एक हृदयविदारक आपराधिक घटनाका मुख्य अभियुक्त र उनीकी श्रीमतीलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीले ५ वर्षपछि पक्राउ गरेको छ। २०७७ साल मंसिर ७ गते दिउँसो करिब ४:३० बजे बर्दिबास नगरपालिका–१५ निवासी ६ वर्षीया बालिका गुलावसा खातुनलाई चकलेट किन्न घर नजिकैको पसल जाँदै गर्दा बाटोमै अपहरण गरी बलात्कारपछि हत्या गरिएको थियो। उक्त घटनाले त्यसबेला देशभर व्यापक चर्चा पाएको थियो। घटनामा संलग्न रहि भारतमा लुकिछिपि बस्दै आएका अभियुक्तहरू — गौशाला नगरपालिका–५ घर भई हाल बर्दिबास नगरपालिका–१४, शुभम बस्ती टोलमा बस्दै आएका ६० वर्षीय राजकिशोर साह र उनकी पत्नी ५१ वर्षीया सुशीला देवी साहलाई प्रहरीले जलेश्वर नगरपालिका–१२, नैन्हीबाट पक्राउ गरेको हो। प्रहरीका अनुसार, राजकिशोर साहले बालिकालाई अपहरण गरी बलात्कार गरेका थिए भने उनकी पत्नी सुशीलाले शव लुकाउन तथा प्रमाण नष्ट गर्न सहयोग गरेकी थिइन्। घटना लगत्तै दम्पती फरार भई भारतमा आश्रय लिइरहेका थिए।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुखले पत्रकार सम्मेलनमा जानकारी दिँदै भने, “बालिकामाथिको यो क्रुर अपराधमा संलग्न रहेका दुवै जनालाई हाम्रो विशेष निगरानी र सूचनाको आधारमा पक्राउ गरिएको हो। पाँच वर्षपछि न्याय प्रक्रियामा ल्याउनु प्रहरीको महत्वपूर्ण सफलता हो।” पक्राउ परेका अभियुक्तहरूलाई मुलुकी अपराध संहिता, २०७४ अनुसार अपहरण, शरीर बन्धक, जबरजस्ती करणी र हत्या जस्ता गम्भीर अभियोगहरूमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।