वीरगंज, जेठ १ — मूल्य पारदर्शिता सप्ताह अन्तर्गत जिल्ला अनुगमन समितिको संयुक्त अनुगमन टोलीले शुक्रबार वीरगंज महानगरपालिकाका विभिन्न क्षेत्रमा सञ्चालित होटल तथा खानपान व्यवसायहरूको आकस्मिक अनुगमन तथा निरीक्षण गरेको छ।
अनुगमनका क्रममा केही होटल तथा क्यान्टिनहरूले उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम कार्य नगरेको पाइएपछि सम्बन्धित व्यवसायीलाई जरिवाना तथा आवश्यक निर्देशनसहित कारबाही गरिएको जिल्ला अनुगमन समितिले जनाएको छ।
अनुगमन समितिका अनुसार वीरगंज महानगरपालिका वडा नं. ११ मा सञ्चालित तराई क्यान्टिनका सञ्चालक दिपक शाहले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५ विपरीत कार्य गरेको तथा दफा ३८ (ट) बमोजिम कसुर गरेको पुष्टि भएपछि दफा ३९ (१) (घ) अनुसार रु. ५० हजार जरिवाना गरिएको छ।
त्यसैगरी, वडा नं. १३ मा सञ्चालित होटल शेखर थापाकी सञ्चालक ज्योति मगरलाई ऐनको दफा १५ उल्लंघन गरेको तथा दफा ३८ (घ) अन्तर्गत कसुर गरेको पाइएकाले दफा ३९ (१) (क) अनुसार रु। २० हजार जरिवाना गरिएको समितिले जनाएको छ।
यस्तै, वडा नं. १३ मै रहेको चौधरी होटलकी सञ्चालक उर्मिला महतोलाई पनि उपभोक्ता संरक्षण ऐन उल्लंघन गरेको आरोपमा दफा ३९ (१) (क) अनुसार रु. ५ हजार जरिवाना गरिएको छ।
अनुगमनका क्रममा वडा नं. १३ मा सञ्चालित अनु देवीको व्यवसायमा सुधार गर्नुपर्ने पक्ष देखिएकाले आवश्यक सुधारका लागि सामान्य निर्देशन दिइएको समितिले जनाएको छ।
जिल्ला अनुगमन समितिले उपभोक्ताको अधिकार संरक्षण, मूल्य पारदर्शिता कायम तथा गुणस्तरीय सेवा सुनिश्चित गर्न यस्ता अनुगमनलाई निरन्तरता दिइने जनाएको छ।