राजु साह
उत्सव खबर
असार २४, वीरगंज
वीरगन्ज महानगरपालिकाका अधिकांश वडामा चापाकल सुकेपछि गम्भीर पानी संकट उत्पन्न भएको छ। यस्तो कठिन परिस्थितिमा पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिकाले मानवीय सहयोगस्वरूप दमकल प्रयोग गरी पानी वितरण सुरु गरेको छ। गाउँपालिकाका अध्यक्ष जसवन्त यादवका अनुसार, गाउँपालिकामा रहेका डीप बोरिङबाट पानी निकालेर दमकलको ट्यांकीमा भरी वीरगन्ज महानगरका विभिन्न वडामा पुर्याउने कार्य मंगलबारदेखि औपचारिक रूपमा सुरु गरिएको हो। पहिलो दिन वडा नम्बर १७, अलौं क्षेत्रमा करिब ६ हजार लिटर पानी वितरण गरिएको जानकारी उनले दिए। “मानवताको आधारमा हामीले यो कदम चालेका हौं,” अध्यक्ष यादवले भने, “जबसम्म वीरगन्जमा पानीको समस्या समाधान हुँदैन, तबसम्म हामी यो सहयोगलाई निरन्तरता दिनेछौं।”
सखुवा प्रसौनी गाउँपालिकाले यसरी पहल लिएको बेला वीरगन्ज महानगरपालिकाले पनि आफ्नै तर्फबाट ट्यांकरमार्फत विभिन्न वडाहरूमा पानी वितरण गर्न सुरु गरेको छ। महानगरले आफ्नो स्रोत र साधनको अधिकतम प्रयोग गरी जनताको तिर्खा मेटाउने प्रयास थालेको हो। विगत केही सातायता वीरगन्जमा भूमिगत पानीको सतह घट्दै गएपछि चापाकलहरू सुक्न थालेका छन्। यसले दैनिक जीवनमा कठिनाइ सिर्जना गरेको छ। सर्वसाधारण पानीका लागि लामो समय लाइनमा बस्न बाध्य छन् भने कतिपय स्थानमा किनमेल गरेर पानी ल्याउनु परेको छ। स्थानीय तह र छिमेकी गाउँपालिकाबीचको यो सहकार्यले वीरगन्जका बासिन्दालाई केही राहत मिल्ने अपेक्षा गरिएको छ।