मधेस प्रदेश, जेठ १ गते – कृष्णप्रसाद यादव नेतृत्वको मधेश प्रदेश सरकारले आज प्रदेश सभाबाट विश्वासको मत लिने भएको छ।
वैशाख २८ गते जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले विश्वासको मत लिने निर्णय गर्दै प्रदेश प्रमुखको कार्यालयमा सिफारिस गरेको थियो। सोही निर्णयअनुसार आज प्रदेश सभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेश हुने तयारी गरिएको हो।
नेपाली कांग्रेस संसदीय दलका नेता यादव पाँच दलको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए। तर, सरकारलाई समर्थन दिएको चन्दनकुमार सिंह नेतृत्वको जनमत पार्टीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले संवैधानिक व्यवस्था अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने अवस्था सिर्जना भएको हो।
नेपालको संविधानअनुसार सरकारलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिएपछि सम्बन्धित मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान छ। सोही व्यवस्था अनुसार मुख्यमन्त्री यादवले जेठ १ गते विश्वासको मत लिन लागेका हुन्।
मधेश प्रदेश सभामा हाल नेपाली कांग्रेसका २२, जनता समाजवादी पार्टीका १७, नेकपा एमालेका १५ तथा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका ८ सांसद रहेका छन्। चार दलबीचको गठबन्धन कायम रहे वर्तमान मुख्यमन्त्री यादवको पक्षमा ६२ सांसदको समर्थन रहने देखिएको छ।