काठमाडौं, १७ वैशाख — गृह मन्त्रालयले देशभर रहेका अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको पहिचान तथा व्यवस्थापन प्रक्रिया अघि बढाउन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र जारी गरेको छ।
मन्त्रालयका शाखा अधिकृत कृष्ण देवकोटाका अनुसार बुधबार सबै जिल्ला प्रशासन कार्यालयहरूलाई पत्राचार गर्दै आ–आफ्नो जिल्लामा रहेका अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको पहिचान गर्न निर्देशन दिइएको हो।
परिपत्रमा सम्बन्धित निकायसँग समन्वय गरी अतिक्रमित जग्गाको यथार्थ विवरण संकलन गर्न र ती जग्गामा रहेको अतिक्रमण हटाउने कार्ययोजना तयार पारेर गृह मन्त्रालयमा पठाउन आग्रह गरिएको छ।
त्यसैगरी, मन्त्रालयबाट स्वीकृति प्राप्त भएपछि अतिक्रमण हटाउने क्रममा आवश्यक सुरक्षा प्रबन्ध मिलाउन र अन्य आवश्यक सहजीकरण गर्न पनि निर्देशन दिइएको छ।
मन्त्रालयले २०८३ वैशाख १६ गते सचिवस्तरीय निर्णयअनुसार जारी गरेको परिपत्रमा सम्बन्धित निकायबीच समन्वय गर्दै प्रभावकारी रूपमा अतिक्रमण हटाउने प्रक्रिया अघि बढाउन जोड दिइएको छ।