आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News एक महिनामा देशभर ४१७ बिचौलिया पक्राउ, १२१ विरुद्ध मुद्दा दर्ता

एक महिनामा देशभर ४१७ बिचौलिया पक्राउ, १२१ विरुद्ध मुद्दा दर्ता

63

काठमाडौं, १७ बैशाख — नेपाल प्रहरीले पछिल्लो एक महिनाको अवधिमा देशभरबाट ४ सय १७ जना बिचौलियालाई पक्राउ गरेको जनाएको छ। प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको बिहीबारको बुलेटिनअनुसार विभिन्न प्रदेश तथा जिल्लाबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार पक्राउ पर्नेहरूमध्ये काठमाडौं उपत्यकाबाट सबैभन्दा बढी १ सय २३ जना रहेका छन्। त्यसैगरी कोशी प्रदेशबाट ४५ जना, मधेश प्रदेशबाट ५० जना, बागमती प्रदेशका उपत्यकाबाहेकका जिल्लाबाट ७६ जना, गण्डकी प्रदेशबाट २७ जना, लुम्बिनी प्रदेशबाट ४४ जना, कर्णाली प्रदेशबाट २४ जना र सुदूरपश्चिम प्रदेशबाट २८ जना पक्राउ परेका छन्।

पक्राउ परेकामध्ये १ सय २१ जनाविरुद्ध मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ। बाँकी २ सय ९६ जनालाई आवश्यक अनुसन्धानपछि छाडिएको बताइएको छ।
प्रहरीले अवैध गतिविधिमा संलग्न बिचौलियामाथि कारबाहीलाई निरन्तरता दिने र यस्ता कार्य नियन्त्रणका लागि निगरानी थप कडा बनाइने जनाएको छ।