आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News सरकारी कार्यक्रम होटेल-रिसोर्टमा नगर्न निर्देशन

सरकारी कार्यक्रम होटेल-रिसोर्टमा नगर्न निर्देशन

49

काठमाडौँ, १४ वैशाख — भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय मातहतका सबै कार्यालयका कार्यक्रम अबदेखि होटेल तथा रिसोर्टमा गर्न नपाइने भएका छन्। मन्त्रालयले खर्च कटौती तथा मितव्ययीता कायम गर्ने उद्देश्यसहित यस्तो व्यवस्था लागू गरेको हो।

मन्त्रालयको योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाले सोमबार परिपत्र जारी गर्दै सबै महाशाखा, आयोग, प्राधिकरण, विभाग तथा कार्यालयहरूलाई कार्यक्रम सञ्चालनसम्बन्धी नयाँ निर्देशिका दिएको जनाएको छ। परिपत्रअनुसार अब बैठक, गोष्ठी, तालिम, सेमिनार लगायतका कार्यक्रमहरू कार्यालय परिसरभित्र रहेका सभा हल, बैठक कक्ष तथा सरकारी संरचनाभित्रका तालिम कक्षमै सञ्चालन गर्नुपर्नेछ।

महाशाखाले सरकारी खर्चलाई उपलब्धिमूलक बनाउने र अनावश्यक व्यय घटाउने उद्देश्यले यस्तो निर्णय गरिएको स्पष्ट पारेको छ। साथै, सबै निकायलाई उक्त निर्देशन कडाइका साथ पालना गर्न समेत आग्रह गरिएको छ।