पर्सा, १३ वैशाख — पर्साको सखुवा प्रसौनी गाउँपालिका–५ महुवन स्थित गण्डक नहर छेउमा रहेको गुठीको अतिक्रमित करिब ५ बिघा जग्गा खाली गराउने कार्य तीव्र रूपमा अघि बढाइएको छ। मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोको पहलमा आइतबार बिहानैदेखि ७ वटा डोजर प्रयोग गरी अतिक्रमण हटाउने काम सुरु गरिएको हो।
गाउँपालिका अध्यक्ष जसवन्त यादवका अनुसार बिहानदेखि नै सञ्चालन गरिएको अभियानअन्तर्गत हालसम्म उक्त क्षेत्रमा रहेका ३८० वटा घरटहरा हटाइसकिएको छ। उनले विगत दुई वर्षदेखि गाउँपालिकाले सो जग्गा खाली गराउने प्रयास गर्दै आए पनि सफल हुन नसकेको बताए।
केही दिनअघि मन्त्री महतो स्वयं उक्त स्थानमा पुगेर चासो देखाएपछि कार्यान्वयनको योजना बनाएर अभियान अघि बढाइएको उनको भनाइ छ।
“अहिले पनि अतिक्रमण हटाउने काम जारी छ। ३८० घरटहरा हटाइसकिएको छ, यो सबै मधेशका माननीय गृहमन्त्री फकिरा महतोको विशेष पहलमा सम्भव भएको हो,” अध्यक्ष यादवले बताए ।
यस्तै, सोही गाउँपालिकाको मधुवन क्षेत्रमा रहेको गुठीको करिब २९ बिघा अतिक्रमित जग्गा पनि खाली गराउने कार्य समानान्तर रूपमा भइरहेको मन्त्री महतोले जानकारी दिए।
अभियानलाई प्रभावकारी बनाउन नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सयौ को संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। प्रशासनले अतिक्रमण हटाउने कार्य शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सुरक्षा व्यवस्था कडा बनाएको जनाएको छ।
