आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News बाराको पथलैया–चुरियामाई खण्डमा अतिक्रमण हटाउने अल्टिमेटमपछि व्यवसायीले स्वयं संरचना हटाए

बाराको पथलैया–चुरियामाई खण्डमा अतिक्रमण हटाउने अल्टिमेटमपछि व्यवसायीले स्वयं संरचना हटाए

81

बारा, १२ वैशाख — महेन्द्र राजमार्ग अन्तर्गत बाराको पथलैया देखि चुरियामाई खण्डसम्म सडक पेटीको दायाँ–बायाँ २५–२५ मिटरभित्र पर्ने अवैध संरचनाहरू हटाउन सडक डिभिजन कार्यालय हेटौंडाले दिएको तीन दिने अल्टिमेटमपछि स्थानीय व्यवसायीहरू स्वयं संरचना हटाउन सक्रिय भएका छन्।

सडक डिभिजन कार्यालयले सडक अतिक्रमण हटाउने सूचना जारी गर्दै तोकिएको समयसीमाभित्र संरचना नहटाए बल प्रयोग गरेर हटाइने चेतावनी दिएको थियो। सोही चेतावनीपछि अमलेखगन्जस्थित ३ नम्बर पुल नजिकैका पसल व्यवसायीहरूले आफ्नो पसल तथा टहरा आफैं भत्काउन सुरु गरेका हुन्।

स्थानीय व्यवसायीहरूका अनुसार प्रशासनको निर्देशनपछि सम्भावित क्षति न्यून गर्न स्वेच्छाले संरचना हटाउन बाध्य भएका हुन्। “बलपूर्वक हटाइएमा थप नोक्सानी हुने डरले हामी आफैंले हटाएका हौं,” एक व्यवसायीले बताए।

सडक डिभिजन कार्यालयले भने सडक विस्तार, सवारी सुरक्षामा सुधार तथा दीर्घकालीन पूर्वाधार व्यवस्थापनका लागि अतिक्रमण हटाउन आवश्यक भएको जनाएको छ। साथै, तोकिएको मापदण्डभित्र पर्ने सबै अवैध संरचना हटाइने र कसैलाई पनि छुट नदिइने स्पष्ट पारेको छ।