कैलाली, १२ बैशाख — कैलाली प्रहरीले सञ्चालन गरेको स्वीप अपरेशनमा तीन दिनको अवधिमा १६९ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय तथा मातहतका युनिटहरूले बुधबारदेखि शुक्रबारसम्म विभिन्न कसुरमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएका हुन्।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता योगेन्द्र तिमिल्सिना का अनुसार अपरेशनका क्रममा लागुऔषध सेवन गर्ने ३९ जना र लागुऔषधसहित २३ जना पक्राउ परेका छन्।
प्रहरीले पक्राउ परेकाहरूको साथबाट १७ ग्राम ३५० मिलिग्राम ब्राउन सुगर, १ ग्राम ३०० मिलिग्राम चरेश, १७७ ट्याब्लेट नाइट्राजेपाम, २०० थान ट्रामाडोल र १७ ग्राम गाँजा बरामद गरेको जनाएको छ।
त्यस्तै, अदालतबाट सजाय तोकिएर फरार रहेका १० जना प्रतिवादी र चोरीमा संलग्न ४ जनालाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ। लागुऔषधसहित पक्राउ परेकामाथि मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाइएको छ।
प्रहरीका अनुसार पक्राउ परेकामध्ये ९३ जनालाई सम्झाईबुझाइ गरी छाडिएको छ।